राष्ट्रपति र सेनापतिवीच राति १० बजे सँवादपछि प्रधानन्यायाधीशको निवासमा फर्किए केही सुरक्षाकर्मी

राष्ट्रपति र सेनापतिवीच राति १० बजे सँवादपछि प्रधानन्यायाधीशको निवासमा फर्किए केही सुरक्षाकर्मी

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई हिजो बिहानैदेखि उहाँको सरकारी निवासमा अघोषित नजरबन्दमा राखिएको राष्ट्रिय मानवअधिकार आयोगले समेत पुष्टि गरेको छ । हिजो दिउँसो प्रधानमन्त्री निवाससँगैको प्रधानन्यायाधीश निवास पुगेको आयोग टोलीले निकालेको निश्कर्ष र प्रकाशित विज्ञप्तिमा व्यक्तिको हिँडडुल गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने उल्लेख गरिनुले पनि राणालाई नजरबन्दमा राखिएको पुष्टि भएको बताइन्छ ।

प्रतिनिधिसभाका सांसदले गत फागुन १ गते महाभियोगको प्रस्ताव दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । संविधानतः तोकिएको समयावधिभित्र प्रक्रिया शुरु नगरी महिनौंसम्म झुलाइएपछि राणा प्रस्ताव पारित हुन नसकेको निश्कर्ष निकालेर हिजो सर्वोच्च अदालत जान खोज्दा निवासमै सरकारले रोकेको थियो ।

हिजो बिहान र दिउँसो ठूलो संख्यामा प्रहरी परिचालन गरिएको, राणाको सवारीमा अघि र पछि लाग्ने प्रहरी टोली खोसिएको थियो । राति साढे १० बजेपछि भने प्रधानन्यायाधीश निवासमा प्रहरीको एक जना पीएसओ र केही सैनिक फर्काइएको छ । ‘उहाँको अवस्था न बहालरत,न अवकाशप्राप्त भएकाले त्यसो गरिएको हो,’ प्रहरी स्रोतले बतायो ।

प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच राति १० बजे कुराकानी भएपछि राणाको सरकारी निवासमा तैनाथ पूरै सेना हटाउन रोकिएको बताइन्छ । त्यहाँ लेफ्टिनेण्टको कमाण्डमा टोली परिचालित थियो । तर अहिले संख्या घटाएर थोरै राखिएको सैन्य स्रोतको दाबी छ ।

राणाको सरकारी निवासको चारै कुनामा रहेका सुरक्षा पोष्टमा आज बिहानदेखि सैनिकको उपस्थिति देखिँदैन । मुलुकको प्रधानन्यायाधीश एउटा मात्र हुनुपर्नेमा एउटा कार्यवाहक र अर्को निलम्बित भएपछि बाँडेर सुरक्षा दिइएको सेना र प्रहरी उच्च स्रोतको भनाइ छ । ‘कार्यकारीलाई धेरै र निलम्बितलाई थोरै सुरक्षा दिइएको हो । कार्यवाहक नै कार्यकारी भएकाले त्यसो गरिएको हो,’ गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै प्रहरीका एक जना उच्च अधिकारीले बताए ।

यता,हिजो बिहान बालुवाटार र गृह मन्त्रालयमा भएका तारन्तारका छलफलमा चोलेन्द्रको गतिविधि थाहा पाउन पनि पीएसओ राख्नु उचित हुने निश्कर्ष निकालिएको बताइन्छ । तर राणा अवकाश भए पनि पीएसओ पाउने सरकारी नियममा उल्लेख छ ।

तर हिजो बिहानदेखि आज बिहानसम्म प्रधानन्यायाधीश राणा बस्दै आएको सरकारी निवासभित्र र बाहिर राज्यले गरेको व्यवहारलाई गृहकै केही सहसचिवले राज्य आतंकको संज्ञा दिएका छन् । राज्यले आफ्नो संयन्त्र प्रयोग गरेर सर्वत्र आतंक फैलाएकाले हिजोको घटनालाई आफूहरुले राज्य आतंक मानेको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू