कति प्रिय हुन्छ आफ्नो जन्मथलो

कति प्रिय हुन्छ आफ्नो जन्मथलो

साइबेरियादेखि कोसी टप्पुमा आएर आफ्ना बचरा हुर्काएर पुनः साइबेरिया फर्कने चराको आफ्नो जन्मस्थानप्रति कति मोह हुँदो रहेछ भन्ने कुराले मेरो मनलाई नराम्रोसँग छोइदिन्छ । म कल्पना गर्छु कि कति टाढादेखि तिनीहरू आए । कति दिनसम्म नचिनेको ठाउँमा बास बस्नुप¥यो होला । सायद दिनभरि आकाशमा पखेटा चलाइरहँदा उनीहरूको शरीर कति दुख्यो होला । एकदिनको यात्रा मात्र होइन उनीहरूको । सायद महिनौं दिन लाग्यो होला उनीहरूलाई । बाँच्नका लागि आहाराको पनि व्यवस्था गर्नु थियो उनीहरूलाई । कति धेरै जोखिम मोल्नु थियो उनीहरूले । त्यसैले आफूहरू सुरक्षित हुन हुलका हुल भएर लामो यात्रा गर्ने यी चराको बथानले हामी मानवीय संवेदनशील भएका मान्छेलाई धेरै पाठ दिएका छन् । उनीहरूले दिएका पाठलाई हामीले मनन गर्न सकेको खण्डमा निश्चय नै हामी मान्छेको रूपमा चिनिनेछौं ।

माथिको प्रकरणले धेरैको मन छोएको हुन सक्छ । कर्म गर्न जहाँतहीँ भांैतारिएर फिरंगी भए पनि आखिरमा जाने भनेको त आफ्नै जन्मथलो रहेछ भन्ने कुरा बुझ्नुपर्ने रहेछ । कोशी टप्पुमै उनीहरूको आहार बिहार गरेर बस्न सक्ने भए पनि उनीहरूलाई आफू जन्मिएको, हुर्किएको, खेलेको ठाउँले कसरी आकर्षण गर्दोरहेछ भन्ने कुरा पनि सहजै अनुमान गर्न सकिन्छ । साँझ परेपछि जसरी पशुपक्षी आफ्नो वासस्थानतिर फर्किएका हुन्छन् त्यसैगरी यी चरा पनि सात समुद्र पारिको आफ्नो वासस्थान सम्झेर घर फर्किएका घटना हाम्राका लागि निकै राम्रो पाठ हुन सक्छ ।

यी चराले धेरै टाढा आएर बचरा जन्माएर हुर्काउँदा रहेछन् र जब उनीहरू आकाशमा उड्न सक्षम हुन्छन् अनि उनीहरूलाई आफ्नै जन्मथलोतिर फर्काइँदो रहेछ । जस्तो दुःख कष्ट भए पनि आफ्नै जन्मथलो प्राणभन्दा पनि प्रिय हुँदो रहेछ । त्यसैले ढाड भाँचिएकी कुकुर्नी घिस्रिघिस्रि आफ्नो बासस्थानतिर गएकी हुन्छे । साँझ परेपछि बस्तुभाउ आफ्ना गोठ सम्झेर धाएका हुन्छन् । चराचुरुंगी चिरबिर चिरबिर गरेर आफ्ना बचेरा बोलाउँदै आ–आफ्ना गुँडतिर गइरहेका हुन्छन् । किरा फट्यांग्रा पनि आफू बस्ने सुरक्षित ठाउँतिर लागेकै हुन्छन् । सम्झिँदै जाँदा कति संवेदनशील र ज्ञानबर्धक विषय रहेछ यो जन्मथलो ।

विभिन्न कारणले हामीमध्ये कति जना बिदेसिएका पनि हांैला । जे भए पनि कुनै न कुनै बेला आफू जन्मिएको घर सम्झिएकै हुन्छौँ । दसैं–तिहारजस्ता ठूला चाडबाडमा मौका मिलेसम्म जन्मथलो टेक्न मन लागेकै हुन्छ । आफ्नै देशभित्र र विदेशबाट जन्मथलो सम्झेर थोत्रो ट्यांका र थोत्रा लत्ताकपडा बोकेर रमाउँदै रमाउँदै घर फर्किएकै हुन्छौं हामी सबै ।

जन्मथलोको यति माया हुँदोरहेछ कि कुनै न कुनै बेला ऊ आफ्नो घर फर्किएकै हुन्छ । युवा जोस छउन्जेल फर्किने त्यति बिचार नगरे पनि बुढेसकालमा जब उसलाई सम्झना आइदिन्छ अनि उसलाई के गरुँ, कहाँ जाऊँ भन्ने विचारले उसको मथिंगल रिंगाइरहेको हुन्छ । सधँै मथिंगल रिंगाएर कति बस्न सक्छ उसले । अनि बुढेसकालमा भए पनि आफ्नो सास बिसाउन आफ्नै जन्मथलोतिर पाइतला फर्काउँछ उसले ।

धेरै वर्ष भारतमा बिताएर घर फर्किएका एक वृद्धाको भनाइ अझैसम्म पनि मलाई याद आइरहेको छ । अपरिचित मान्छेलाई देख्दा उनीबारे मलाई जिज्ञासा लाग्यो र सोधपुछ गरेँ । उनी केटाकेटी अवस्थामै भारत पसेका रहेछन् । आसामतिर गोठालो भएर दिनचर्या बिताएका रहेछन् । जब उनको उमेर पाको हुँदै गयो र सायद शरीर पनि कमजोर हुँदै गयो । अनि उनले आफ्नो घर सम्झन थाले । आफ्ना बाबुआमा, दाजुभाइ, दिदी बहिनी, इष्टमित्र, साथीभाइ र आफ्नो जन्मथलोको सम्झनाले उनको मन चटक्क खाएछ । मनमा कुरा खेलाउँदा खेलाउँदै गर्दा रातभरि निद्रा नलागेर छटपटी भएछ । यसरी चिन्ता लिएर बस्नुभन्दा बरु आफ्नै घर फर्कन बेस लागेछ र घर फर्किएछन् । यहाँ जोड्न खोजेको विषय भनेको यति मात्र हो कि मानिसका लागि आफ्नो जन्मथलो र आफन्तभन्दा ठूलो केही रहेनछ भन्ने मात्र हो ।

***

यो पंक्तिकारलाई माथि उल्लेख गरिएको विषयले निरन्तर रूपमा चस्स चस्स मुटु छुने काम गरेको हुनाले नै यो विषय उठान गरेको हो । विषय साधारणजस्तो लाग्ने भए पनि कसरी मानिसलाई आफ्नो जन्मथलोको माया हुँदोरहेछ भन्न मात्र खोजिएको हो । यस्ता अनगिन्ती प्रतिनिधिमूलक घटना हामीले देखिआएकै छौँ ।

यस्तै घटनासँग जीवन गाँसिएको छ कृष्णबहादुरको । बाल्यकालदेखि नै ऊ विदेशतिर बरालिएको हुन्छ । आफ्नो देशमा दुःख पाएको कृष्णबहादुरले बिरानो मुलुकमा गएर कसरी सुख पाउँथ्यो र ! एक ठाउँमा दुःख पाएको मानिसले अर्को ठाउँमा पनि जीवनयापन गर्न उसलाई त्यति सहज हुँदैन । नयाँ ठाउँ, अपरिचित मान्छे, सबै कुरा नयाँ हुनाले उसलाई जीवन धान्न कठिन नै थियो । आफ्नो जन्मथलोजस्तो कहाँ हुन्थ्यो र उसलाई । जिउनका लागि जे पनि गर्नुपथ्र्यो उसले । सहरमा बसेर उसले चौकीदारी गरेन कि कसैको जुठाभाँडा माझेन कि, मालिकका छोरीछोरीको सरसफाइ गरेन कि विद्यालय पु¥याउने/ल्याउने काम गरेन कि मालिकको रासनपानीको धोक्रो बोकेन कि, सबै काम गरेको हुन्थ्यो उसले । ऊ एक किसिमको घरेलु बँधुवा नोकर नै थियो । यसरी धेरै दिन, महिना र वर्ष बिताएको थियो कृष्णबहादुरले बिरानो मुलुकमा ।

नयाँ ठाउँको बसाइ र जीवनयापन मानिसलाई मात्र होइन, कुनै पनि जीवजन्तुलाई सहज हुँदैन । एउटा जंगल बसेको बाघ अर्को जंगलमा जान चाहेको हुँदैन । एक ठाउँको जनावर अर्काे नयाँ थातथलो बनाउन चाहेको हुँदैन । त्यसमा पनि मानिस भनेको एउटा विवेकशील प्राणी भएको हुँदा ऊ त अरूभन्दा माथिल्लो स्तरको विचार र बुद्धि पोख्न सक्ने भइहाल्यो । कृष्णबहादुर धन सम्पत्तिमा गरिब होला तर विवेक र बुद्धिमा गरिब छैन । दुई÷चार अक्षर पढेको र केही बुझेको हुँदा ऊ विवेक लगाउन सक्छ । अरूले जे–जस्तो व्यवहार गरे पनि उसलाई त्यसको चिन्ता पनि छैन । बरु मानिसमा किन विवेक हराउँदै गएको होला भन्नेतिर उसको चिन्तन मनन भइरहेको हुन्छ । मानिसमा पलाउँदै गएको लोभ, लालचा र स्वार्थीपनले आफैँलाई टोक्छ भन्ने किन मान्छेले बुझ्न नसकेको होला भन्ने खुल्दुली उसको मनमा उब्जिरहेको हुन्छ ।

कृष्णबहादुरले जिन्दगीको धेरै समय उसको जन्मथलो भन्दा पर बिताएको छ । तैपनि, उसको मन भने आफ्नै जन्मथलोतिर सधँै दगुरिरहेको छ । उसकै आफ्नै बाध्यताले गर्दा ऊ आफ्नो जन्मथलोतिर आउन सकेको हुँदैन । आओस् पो कसरी । उसको जीवन धान्ने सानोतिनो काम बाहिरै छ । बालबच्चालाई शिक्षा दिनुपरेकै छ । उसले गर्नुपर्ने अन्य व्यावहारिक काम पनि छँदै छन् । त्यसैले यी विभिन्न कुराबाट कृष्णबहादुर आफ्नो जन्मथलो सम्झँदा सम्झँदै पनि ऊ जान सकेको हुँदैन र आफूलाई अभागी सम्झन पुगेको हुन्छ । गाउँघरको सम्झनाले उसलाई सधँै नरमाइलो लागिरहेको हुन्छ । धेरै समय बिरानो मुलुकमा दयनीय अवस्थामा जीवन निर्वाह गर्न कसलाई मन परेको हुन्छ र ! मन नपरे पनि सबैको आ–आफ्नै बाध्यता हुन्छन् । त्यस्तै बाध्यता छ कृष्णबहादुरमा पनि ।

कृष्णबहादुरको आँखामा झलझली आफ्नै गाउँघर, आफ्नै साथीभाइ र आफ्नै आमाबाबु नाचिरहेका हुन्छन् । मानिसलाई एकोहोरो चिन्ताले चितामा पु¥याउँछ भन्ने कुरा उसलाई थाहा हँुदाहुँदै पनि चिन्ताबाट मुक्त हुन सकेको हुँदैन । उसलाई चिन्ताले चितातर्फ धकेलिरहेको हुन्छ । आफ्नो जन्मथलोमा कहिले पाइलो टेकौँजस्तो लागेको हुन्छ उसलाई । यो धङ्धङीले उसलाई सधैँ सताइरहेको हुन्छ ।

सधैँ कसरी मानिस चिन्तामा बसिरहन सक्छ र ! एक दिन कृष्णबहादुरले अकस्मात् यो नौलो ठाउँ छाडेर आफ्नै गाउँघरतिर जाने निर्णय गरेको हुन्छ । जिन्दगी भनेको आफ्ना लागि हो । यो अपार जिन्दगीलाई सधँै माया गर्नुपर्छ । मलजल गर्नुपर्छ । जिन्दगी रह्यो भने मात्र अरू सबै कुरा पछि लाग्छन् । जिन्दगी नै नभएपछि त सबै कुरा स्वाहा हुने नै भयो । त्यसैले गर्दा कृष्णबहादुरले आफ्नो जन्मथलोतिर पाइला अगाडि बढाउन थाल्यो ।

धेरै वर्षको अन्तरालपछि आफ्नो घर, आँगन, धन्सार, गोठ हेर्न उसलाई निकै आतुर भएको हुन्छ । जति–जति नगिज आउँदै गर्छ, उति–उति उसको मन चञ्चल भइदिन्छ । उसका आफ्ना साथीभाइ र दौंतरी के गर्दै होलान्, स्वदेशमा होलान् कि विदेशमा ! कतिले घरजम गरे होलान्, कतिले पढाइ पूरा गरेर जागिर खाएर विभिन्न जिल्लामा गएका होलान्, कति भने बिरानो देशमा गएर लापत्ता भएका होलान्, कतिले भने जीवन त्यागिसके होलान् । यसता अनगिन्ती कुराले कृष्णबहादुरको मन चयन हुन सकेन । मनका कुरा मनमै रहन पुगे । उसले यी प्रश्नका उत्तर पाउन सकेन । पाओस् पनि कसरी । प्रश्नहरू अनुत्तरित नै रहे ।

साथीभाइ र दौंतरी अनन्तकालसम्म नरहन सक्छन् । परिस्थिति र बाध्यताले उनीहरू विभिन्न ठाउँमा गएका हुन सक्छन् र उनीहरूसँग भेट नहुन पनि सक्छ । कतिपय दौंतरीको मृत्यु पनि भइसक्यो होला । कति रोगका सिकार भइरहेका होलान् । कति अक्क न बक्क भई अचेत अवस्थामा जीवन बिताइरहेका होलान्जस्ता कुरा मनमा खेलाएर कृष्णबहादुर आफ्नो जन्मथलो खोज्दै गइरहेको हुन्छ । तर यी कुरा भन्दा पनि उसको आफ्नै जन्मथलो र घर आँगनको मायाले बढी पिरोलिरहेको हुन्छ । कृष्णबहादुरमा बढी उत्सुकता र जिज्ञासा थपिँदै गएको हुन्छ ।

जब–जब कृष्णबहादुर आफू जन्मिएको र हुर्किएको ठाउँतिर जाँदै गर्छ, अनि उसको मन खिन्न हुँदै जान्छ । जग्गा–जमिनको आकार प्रकार बिग्रिएको देख्छ । घर वरिपरिका बोटबिरुवा हराएका हुन्छन् । नयाँ बिरुवा लगाएका छैनन् । बाटोमा भएका बगैँचा सब मासिएका हुन्छन् । चराचुरुंगीको वासस्थानसमेत निमिट्यान्न पारिएको हुन्छ । जताततै सडक बनाइएका छन् । धुलो लटरम्म भएको हुन्छ । त्यति रमणीय कृष्णबहादुरको गाउँ अहिले देख्दा उजाड लाग्छ उसलाई ।

ऊ पुनः कल्पना गर्दै जान्छ । गाउँको अवस्था यति उराठलाग्दो छ भने ऊ जन्मिएको जन्मथलो कस्तो होला भन्ने कुरामा ऊ बढी चिन्तित हुँदै जान्छ । अहिले उसका मनमा यो कुरो बिझिरहेको छ कि ऊ जन्मिएको पुरानो माटोले बनेको भुइँ घर, घरको अघिल्तिरको ज्यामिरको बोट, डुम्री, काउरा र अन्य घाँसका बोट बिरुवा कस्ता भएका होलान् भन्ने तर्कनाले झन् ऊ भयभीत भएको हुन्छ । कृष्णबहादुर लामो समय बिरानो मुलुकमा बसेको भए पनि ऊ जहिले पनि उसको जन्मथलोको वरिपरिका वस्तुको आकृति उसको दिमागमा बसेको हुनाले नै यी सबैको नालीबेली लगाउन सकिरहेको हुन्छ ।

जब कृष्णबहादुरलाई आफ्ना अतीतका कुराको सम्झना आइरहेको हुन्छ अनि उसले ती सम्झनालाई देखिरहेका यथार्थसँग तुलना गर्न पुगेको हुन्छ । तर, उसले बाल्यकालमा देखेका वस्तुसँग अहिलेका कुरा एकदमै मिल्न गएका हुँदैनन् । पहाडमा धन सम्पत्ति भन्नु नै जग्गा–जमिन हो । ऊ जहाँ जन्मियो, हुर्कियो, दगु¥यो, खेल्यो र जहाँ उसको नामको जग्गा–जमिन थियो, त्यो नै उसको नामबाट अरूकै नाममा भइसकेको रहेछ । त्यो कुरा कृष्णबहादुरलाई थाहै थिएन । आफ्नो नामको जग्गा–जमिन अरूले हडपेर उसको उठिबास भएको हुँदा आज कृष्णबहादुर दिग्दार भएको हुन्छ । आफू जन्मिएको ठाउँ आफ्नो नहुनु र पहिचान नै गुमाउनुपरेको अवस्थाले कृष्णबहादुर झन् दिग्दार हुँदै जान्छ । अहिले उसको आफ्नो जग्गा जमिन मात्र लुटिएको हुँदैन, उसको थातथलो लुटिएको हुन्छ, पहिचान गुमेको हुन्छ, आफ्नो जन्मथलोको माया ममता हरण गरिएको हुन्छ र अन्त्यमा सबै चिज लुटिएर एक निर्वश्त्र पागलको रूपमा कहिल्यै नफर्कने गरी अज्ञात गन्तव्यतिर अगाडि बढेको हुन्छ कृष्णबहादुर ।

टिप्पणीहरू