एमालेबाट समानुपातिकमा पर्नेको नाम प्याक अप

एमालेबाट समानुपातिकमा पर्नेको नाम प्याक अप

नेकपा एमालेले समानुपातिक उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा आज दिनभर बसेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो ।

प्रतिनिधिसभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम बैठकले पारित गरेको हो । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । जसमा आदिवासी जनजातिबाट महिला र पुरुष १६-१६ जना गरी ३२ जना रहेका छन् भने खस-आर्यतर्फ १७ महिला र सोही संख्यामा पुरुष गरी ३४ जना छन् । त्यस्तै थारु ७,दलित १५,मधेसी १७,मुस्लिम ५ र पिछडिएको क्षेत्रबाट ५ जनाको नाम सूचीमा परेको छ ।

प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरी ४३ जना,बागमती महिला २४ जना नघट्ने गरी ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरी २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरी ३५ जना ,

कर्णालीमा ८ महिला नघट्ने गरी १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरी २१ जनाको नाम तयार गरिएको गुरुङले जानकारी दिए । भोलि बन्दसूची आयोगमा बुझाउने उनले बताए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आयोगले आज र भोलिभित्र समानुपातिकको बन्दसूची बुझाउने समय निर्धारण गरेको छ ।

टिप्पणीहरू