तेह्र वर्षकी राजकुमारी जब प्रेममा परिन्

तेह्र वर्षकी राजकुमारी जब प्रेममा परिन्

लामो समयदेखि युवराजमै सीमित रहँदै आएका चाल्र्स शुक्रबारदेखि बल्ल ब्रिटेनको राजा बनेका छन् । ७० वर्ष २ सय १४ दिन अविच्छिन्न शासन गरेकी महारानी एलिजाबेथ (द्वितीया) को निधनपछि उनले पालो पाएका हुन् । ब्रिटेनका लोकप्रिय युवराज्ञी स्व. डायनाका पति उनी ७४ वर्षको भइसकेका छन् । शाही परिवारबाहिरकी विवाहिता क्यामिल्ला पार्करसँग लामो प्रेम सम्बन्धपछि बिहे गरेकाले राजा बनाउन हुने÷नहुने भन्ने विवाद थियो । धेरैले उनी र डायनाका जेठो छोरा विलियमलाई नै महारानीको उत्तराधिकारी घोषित गर्नुपर्ने तर्कसमेत गरेका थिए । मिडियाले त अझ राजा हुन नपाउँदै आमाभन्दा पहिला नै मर्ने त हैनन् ? भन्नेसम्म आशंका गरेका थिए किनभने एलिजाबेथको उमेर ९६ पुगिसक्दा उनी ७४ मा थिए ।

एलिजाबेथ राजगद्दीको उत्तराधिकारी बन्ने सूचीमै थिइनन् । तर, एडवर्ड (अष्टम) ले अहिलेका चाल्र्सले जस्तै विवाहित (दुई जनास“ग बिहे गरेर दुवैपटक सम्बन्धविच्छेद गरेकी) र शाही खानदानबाहिरकी प्रेमिका वालिस सिम्पसनसँग बिहे गर्नका लागि गद्दी नै त्यागे । जसकारण एलिजाबेथका पिता तथा गद्दी त्यागेका राजा एडवर्डका भाइ राजकुमार अल्बर्ट, जो पछि जर्ज (षष्टम) को नाउँबाट राजा बन्न पाए । अनायस बाबु राजा बन्दा एलिजाबेथ १० वर्षकी थिइन् । र, उनको निधनपश्चात् सन् १९५२ मा एलिजाबेथ ब्रिटेनलगायत ३२ वटा मुलुकको शासक बनिन् । अहिले यो संख्या खुम्चेर १५ (ब्रिटेनसहित) मा सीमित हुन पुगेको छ । कहिल्यै स्कुल पाइला नटेकेकी उनको शासनकालमा यता १५ जना प्रधानमन्त्री फेरिए भने उता अमेरिकामा १४ जना राष्ट्रपति । उनी तमिल अभिनेता कमल हसनको फ्यान थिइन् । सन् १९९७ मा भारत पुग्दा चलचित्र ‘मरुधानयागम’ को सुटिङस्थल गई प्रमुख अतिथि बनेर २० मीनेट बसिन् । तर, अफशोच, उक्त चलचित्र कहिल्यै प्रदर्शन भएन । फिल्मका निर्माता, निर्देशक र नायक उनै कमल हसन थिए । ५० करोड डलर बराबरको सम्पत्ति छाडेर गएकी उनी लामो समय शासन गर्ने पहिलो ब्रिटिश महारानी थिइन् भने संसारको दोस्रो । फ्रान्सका सम्राट् लुई (चौधौं) ले ७२ वर्ष शासन गरेका थिए ।

एलिजाबेथ र उनकी बहिनी मार्गरेटले घरमै शिक्षा लिए । सानोमा एलिजाबेथ निकै चञ्चल स्वभावकी थिइन् । सन् १९३४ मा मात्र ८ वर्षको हुँदा । काका राजकुमार जर्ज एडवर्डको बिहे ग्रिसकी राजकुमारी मरिनासित भयो । समारोह लण्डनको वेष्टमिनिष्टर अबेमा आयोजना गरिएको थियो । ग्रिस र डेनमार्कका राजकुमार फिलिप महारानी भिक्टोरियातर्फका नातेदार थिए । नाता टाढाकै भए पनि एलिजाबेथ उनकी बहिनी पर्थिन् । एलिजाबेथ र फिलिपको पहिलो भेट सोही समारोहमा भयो । त्यो बेला दुबै जना केटाकेटी नै थिए । फिलिपको जन्म ग्रिसमा भएको हो । तर, उनी १८ महिनाको छँदै आमाबाबुले त्यहाँबाट निर्वासित हुनुप¥यो । फ्रान्स, जर्मनी र बेलायतमा अध्ययन गरेपछि सन् १९३९ मा ब्रिटेनको नेभी कलेजमा भर्ना भए । सोही वर्ष राजा जर्ज (षष्टम) र रानी एलिजाबेथ रोयल नेभी कलेजको अवलोकन भ्रमणमा गए । जर्जले फिलिपलाई आफ्ना छोरीहरू एलिजाबेथ र मार्गरेटको गार्ड बन्न लगाए । १८ वर्षीय फिलिप अग्लो र हेर्दै आकर्षक व्यक्तित्वका धनी थिए । खैरो कपाल र नीलो आँखा । उनको व्यक्तित्व, लवाइखवाइ र सरल मिजासबाट १३ वर्षीया राजकुमारी एलिजाबेथ प्रभावित नबनिरहन सकिनन् । फिलिपलाई पनि एलिजाबेथको चञ्चल स्वभावले तानिसकेको थियो ।

भोलिपल्ट डिनरको व्यवस्था पानीजहाजमा गरिएको थियो । एलिजाबेथ अल्मलिइरहेकी थिइन्, सँगै उभिइरहेका फिलिप कुर्सी मिलाइदिन अघि बढे । फिलिपसँगको दूरी निकै नजिक पाएपछि एलिजाबेथको अनुहार लाजले रातो भयो । किशोरी एलिजाबेथको अनुहारमा एक्कासि आएको परिवर्तनलाई नजिकै उभिरहेका फिलिपका काका तथा राजा जर्जका अंगरक्षक लर्ड लुई माउन्टबेटनले देखिहाले । ‘पहिलो भेटघाट अत्यन्त सफल भयो’ त्यो दिनको डायरीमा उनले लेखे । एलिजाबेथले फिलिपलाई मन पराएको कुरा दरबारभित्र कानेखुसीको विषय बन्यो । तर, त्योबेला उनी नाबालिग हुन् भनेर त्यतिसाह्रो गम्भीर विषय बनाइएन । उता, किशोरी एलिजाबेथको मनमा भने फिलिप बसिसकेका थिए ।

सन् १९३४ को पहिलो र १९३९ को दोस्रो भेटपश्चात् पत्र आदानप्रदान शुरू भयो । लगत्तै विश्वयुद्ध शुरु भयो, फिलिप सन् १९४० मा जलसैनिक पोतको कनिष्ठ अधिकारी बनेपछि युद्धमा लागे । युद्धकै बीच सन् १९४३ मा भेट भयो । विन्डसर किल्लामा क्रिसमस पर्व मनाइएको थियो । २१ वर्षको कलिलो उमेरमै प्रथम लेफ्टिनेन्ट भइसकेका उनी सैनिक जमघटको अघिल्लो पंक्तिमा थिए । शाही परिवारको नाताले राजारानीसहित एलिजाबेथ पनि अघिल्लो लाइनको कुर्सीमै थिइन् । त्यो बेला उनीहरूको सशरीर भेट भने भएन । दुबैले एकार्कालाई हेरे, मुसुक्क हाँसेर मात्र । पर्व सकिएपछि फिलिप युद्ध मैदानमा फर्के र एकार्काको नाउँमा प्रेमपत्र लेखे । विश्वयुद्धमा जापानले आत्मसमर्पण गर्दा फिलिप टोकियो बेमै थिए । युद्धको समाप्तिपछि सन् १९४६ मा लण्डन फर्के । सन् १९४७ मा फिलिपले राजा जर्जलाई भेटेर एलिजाबेथसँग बिहे गर्ने इच्छा पोखे । तर, जर्ज आफूपछि ब्रिटेनको शासक बन्ने छोरी र फिलिपको सम्बन्धलाई लिएर त्यति सकारात्मक थिएनन् । यसको एउटा प्रमुख कारण थियो– फिलिपको पुर्खा जर्मन हुनु । दोस्रो विश्वयुद्धमा जर्मनी र इटली शत्रु मुलुक भएकाले युद्धपश्चात् प्रायः सबै युरोपेली मुलुकले यी दुई मुलुकलाई घृणा गर्न थालेका थिए र कुनै प्रकारको सम्बन्ध गाँस्न चाहँदैनथे । यथार्थमा माउन्टबेटन परिवार जर्मनीको बाटेनवर्ग परिवारका थिए तर विश्वयुद्धकालमा आफूलाई त्यस्तो भन्न छाडे ।

आफ्नो केही सिप नचलपेछि फिलिपले काका लर्ड लुइ माउन्टबेटनलाई मनाए र अंगरक्षक लुइको आग्रहपछि राजाले विरोध गर्न छाडे । यसरी बल्ल सन् १९४७ को नोभेम्बर २० मा एलिजाबेथ र फिलिपको बिहे सम्भव भयो । राजा त्यतिबिघ्न खुशी नदेखिएको र युद्धले जनधनको विनाश भएको कारण देखाई बिहे समारोह त्यति भव्य गरिएन । तैपनि, २ हजार पाहुना सम्मिलित भए । समारोहमा इराकी राजा फैजल (द्वितीय) लगायत युरोपका राजारानीहरू पनि थिए । फिलिपले बिहे गर्नुअघि ग्रिसको राजकुमार (जो कहिल्यै उपभोग गरेकै थिएनन् ) को उपाधि त्यागेका थिए । उनी सर फिलिप माउन्टबेटन थिए, नाइट अफ गार्टर । त्यसैगरी, बिहेको अघिल्लो दिन राजा जर्जले फिलिपलाई शाही राजकुमारको उपाधिबाट सुशोभित गरे भने बिहेको २ दिनपछि फिलिप ड्युक अफ एडिनबर्ग, अर्ल अफ मेरियोनेथ, बारोल ग्रिनबीच बने ।

बिहेपछि पनि एलिजाबेथ र फिलिपले साधारण जीवन नै बिताए । एलिजाबेथ राजकुमारी र फिलिप सैनिक अधिकृतको हैसियतमा रहे । फिलिप सैन्य काममै निरन्तर खटिए पनि । यसबीच सन् १९५२ मा फिलिप र एलिजाबेथ केन्याको भ्रमणमा निस्के । फेब्रुअरी ५ मा जंगल सफारीमा हुँदा रूखमाथि बनेको मचानमै रात काटे र भोलिपल्ट रुखबाट झर्दा उता राजा जर्ज (छैंटौ) को निधन भएको खबर सुन्नुप¥यो । त्यसैले कसै–कसैले एलिजाबेथलाई रूख चढ्दा राजकुमारी, झर्दा महारानी भन्ने गर्छन् । यसरी एलिजाबेथ स्वदेश फर्कनुअगावै ब्रिटेनको महारानीसँगै कमनवेल्थका ३२ सदस्य राष्ट्रको राष्ट्राध्यक्ष बनिसकेकी थिइन् । उनी २६ वर्षकी थिइन् । एलिजाबेथ (द्वितीया) को नाउँबाट महारानी बनेकी उनको राज्याभिषेक जुन २, १९५३ मा गरियो । समारोहमा ८ हजार अतिथि थिए । महारानी बन्दा दुई सन्तान छोरा चाल्र्स र छोरी एनीको आमा बनिसकेकी थिइन् । पछि सन् १९६० मा फेरि छोरा एन्ड्रु र सन् १९६४ मा अर्को छोरा एडवर्डलाई जन्म दिइन् । राज्याभिषेक समारोहमा फिलिपले महारानीसमक्ष घुँडा टेकेर भनेका थिए ‘म फिलिप, ड्युक अफ एडिनबर्ग, मौसुफको जीवनको अभिन्न अंग बनेर आफूलाई समर्पित गर्नेछु र पूजा गर्नेछु ।’

आफ्नी पत्नी महारानी बनेपछि फिलिपको भूमिका फेरियो । अब उनी महारानीको पतिको हैसियतमा सबैमाझ चिनिए । फिलिपको निधन गत सालको अप्रिलमा भइसकेको छ । उनी ९९ वर्षका थिए । एलिजाबेथ र फिलिपले सन् १९७२ मा बिहेको रजतमहोत्सव, सन् १९९७ मा स्वर्णमहोत्सव, सन् २००७ मा हिरकमहोत्सव र सन् २०२० मा ७३ औं वर्षगाँठ मनाए । सन् २००२ मा एलिजाबेथले राज्याभिषेक गरेको ५० औं महोत्सव मनाएकी थिइन् । त्यसबखत भनेकी थिइन् ‘ड्युक अफ एडिनबर्गले बितेको ५० वर्षमा मेरो जीवनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।’ एलिजाबेथ र फिलिप ७४ वर्ष सँगै जीवन बिताएको एक अनमोल जोडी थियो ।

टिप्पणीहरू