एमालेभित्र जन्मिएको सौताको छोरा

एमालेभित्र जन्मिएको सौताको छोरा

एमालेभित्र ‘काम पर्दा भाँडो, अघिपछि घाँडो’ जस्तो एउटा कमिटी छ, जसले आउँदो निर्वाचनमा उम्मेदवारी सुनिश्चितताको त कुरै छाडौँ, सिफारिससम्म गर्न पाएको छैन ।

जसले पार्टीका लागि चुनावैपिच्छे ५–७ करोड पैसा उठाइदिनुपर्छ । मुख्य–मुख्य नेताको क्षेत्रमा कसलाई निर्वाचन अधिकृत बनाउने भनी सूची तयार पार्नुपर्छ । कर्मचारी, वकिल, पत्रकार, स्वास्थ्य, पर्यटन, सहकारीकर्मीदेखि विभिन्न पेशा र क्षेत्रका मानिसलाई पार्टीमा संगठित गर्ने ७ हजार सदस्य रहेको पेशागत फाँट यसरी उम्मेदवारी सिफारिसको क्रममा शून्य भएको हो ।

जिल्लामा चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उमेश ढकाल अध्यक्ष छन् । विशेष प्रदेशले त्यसलाई हेर्छ । त्यसमा चाहिँ प्रेमकुमार पराजुली मुख्य छन् । यसचोटि उक्त कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न अधिकारै दिइएन । हालै जारी अन्तरपार्टी निर्देशनअनुसार अरु जनसंगठनले ३–३ जनाको नाम सिफारिस गर्न पाए ।

तर, विशेष प्रदेश र पर्यटनलाई कोटा छैन । जबकि, ०७० को निर्वाचनमा यही पेशागत फाँटबाट केदार सञ्जेल सांसद भए । जो अहिले एकीकृत समाजवादीतिर छन् । एमालेले पेशागत फाँटमा यस्तो अत्याचार गरिरहँदा एकीकृत समाजवादीले भने त्यो फाँटका सीताराम नेपाल, प्रेमल खनाल, हरि श्रेष्ठसहितलाई सिफारिस गरेको छ ।

एमालेमा चाहिँ नेताहरू घरभित्रै छानीछानी उम्मेदवार सिफारिस गरिरहेका छन् । जस्तो कि, कृष्णगोपाल श्रेष्ठ आफू काठमाडौं ९ मा, साला तथा मजदुर नेता विनोद १० नम्बरमा । त्यहाँका लोकप्रिय युवा सुरेन्द्र मानन्धरको नामचाहिँ पुच्छारमा ।

टिप्पणीहरू