चोलेन्द्रको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली बालुवाटारमा

चोलेन्द्रको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली बालुवाटारमा

राष्ट्रिय मानवअधिकार आयोगको एक टोली बालुवाटारस्थित प्रधानन्यायाधीश निवास पुगेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले आफूलाई सरकारले ‘नजरबन्द’ मा राखेको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि राणा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट प्रतिनिधि सभाको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।

तर, सरकारले भने काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी प्रधानन्यायाधीश निवासमा खटाएर बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

अहिले पनि बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

टिप्पणीहरू