भारतीय केरा बजारमा, नेपाली केरा बोटैमा

भारतीय केरा बजारमा, नेपाली केरा बोटैमा

भारतीय केराले बजारको माग धान्ने तर नेपाली केराले उचित मूल्य नपाएपछि किसानहरु आन्दोलित भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का किसान आजदेखि आन्दोलनमा उत्रिएका हुन् । खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा नरोकिँदा नेपाली किसानको उत्पादन खेर गएको बताइएको छ ।

भारतबाट ल्याइएका अवैध केरामा सरकारले रोक नलगाउँदा किसानहरु मारमा परेको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खुप्रसाद यादवले बताए । व्यापारीले आठ रुपैयाँ प्रतिकोशा भारतीय केरा किन्नुपर्ने बाध्यता एकातिर रहेको नेपाली केरा तीन रुपैयाँमा पनि बिक्री नभएको उनको दुःखेसो छ ।

नेपाली किसानहरु विस्थापित हुने अवस्थामा पुगेको र यसतर्फ सरकारको ध्यान जानुपर्ने उनी बताउँछन् । भारतबाट आयातित केरा जफत गर्ने, ढुवानीमा प्रयोग भएका गाडी नियन्त्रणमा लिने र आवश्यकतानुसार गाडी तोडफोड गर्नेलगायतका कार्यक्रम रहेको अध्यक्ष यादवले बताए ।

पश्चिम नवलपरासीमा झण्डै १८ सय बिघा जमीनमा केरा खेती हुँदै आएको छ । जिल्लाभर नौ सय ८० केरा खेती गर्ने किसान छन् । उत्पादनले बजार नपाउँदा केरा बोटमा पाकेर झर्न थालेको छ । यसबाट किसानहरु थप मर्कामा परेका छन् ।

टिप्पणीहरू