मासु पसलकाे ‘बिरामी बोका’ लाई हेर्दै पशु चिकित्सकले भने : निमोनिया र सिस्टको उपचार गराउनु

मासु पसलकाे ‘बिरामी बोका’ लाई हेर्दै पशु चिकित्सकले भने : निमोनिया र सिस्टको उपचार गराउनु

भरतपुर–१० को सिनर्जी रोडमा अवस्थित मासु पसलहरुको अवस्था अझै सन्तोषजनक देखिएको छैन । फ्रिजिड्ड, बधशाला, सरसफाइ जस्ता कुरामा थप सुधार गर्नुपर्ने देखिएको छ ।

भरतपुर महानगरपालिकाबाट हिजो सो क्षेत्रका आधा दर्जनबढी माछा–मासु पसलहरुको अनुगमन गरिएको थियो । महानगरपालिका पशुपन्छी तथा कृषि व्यवसाय प्रवद्र्धन शाखा प्रमुख एवम् पशु चिकित्सक श्यामराज देवकोटाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६४ र २८ अनुसार स्थानीय सरकारले बजार अनुगमन गरेको बताएका छन् ।

‘अहिले पनि खासै सन्तोषजनक अवस्था देखिँदैन । तर विगतका वर्षमा भन्दा सुधारिँदै गएको पक्कै हो’, देवकोटाले भने, ‘विगतका अनुगमनको प्रभावले पछिल्लो समय व्यापारी–व्यवसायीहरु खाद्य स्वच्छताका सवालमा सचेत र सजग हुँदै गएको देखिन्छ । यो राम्रो पक्ष हो ।’

महानगरपालिकाको नेतृत्वमा प्रहरी–प्रशासन, पत्रकार, उपभोक्ता अधिकारकर्मी, विषय विज्ञसहितको संयुक्त बजार अनुगमन टोलीले हिजो यहाँका सिनर्जी मासु पसल, न्यु क्वालिटी मिट सप्लायर्स, कुरैशी मासु पसल, माडी माछा पसल, आलम जाहिर मासु पसल र शाहिद मासु पसलमा अनुगमन गरिएको हो । टोलीले माछा–मासु बेच्ने ठाउँदेखि काट्नका लागि जिउँदा पशुपन्छी ल्याएर राख्ने ठाउँ, काट्ने स्थान, फ्रिज सबै नियालेको थियो । फ्रिजमा राखिने मासुलाई अझ व्यवस्थित तरिकाले राख्न, बधशालाको सरसफाइमा विशेष ध्यान दिन, मूल्यसूची देखिनेगरी राख्न पसलेहरुलाई सुझाइएको छ ।

आलम जाहिर मासु पसलमा काट्नका लागि राखिएका खसी, बोका निरीक्षणको क्रममा एउटा बिरामी देखिएपछि तत्काल त्यसलाई नकाट्न तथा औषधोपचार गरेर मात्र काट्न निर्देशन दिइएको थियो । झोक्राउँदै मुन्टो बटारिरहेको बोका हेर्दै पशु चिकित्सक देवकोटाले भने, ‘यो बोकालाई निमोनिया र सिस्ट भएको छ । सिङको बीचमा कीरा छ । यसको मासु खान हुँदैन । मान्छेलाई पनि रोग सर्छ ।’

शाहिद मासु पसलमा काटिएका तीन वटा खसीबोका बेच्नका लागि अगाडि खुल्ला रुपमा झुन्ड्याएर राखिएका थिए । धुलो, धुँवा झिंगा–भुसुनालगायत बाहिरी संक्रमणबाट जोगाउन सिसाले बारेर राख्न निर्देशन दिइएको छ । गत वर्षकै अनुगमनका बेला सिसा राख्न निर्देशन दिइए पनि बेवास्ता गरिएको कारण अहिले पसलेलाई अन्तिम तीन दिनको समय दिइएको छ । अब तीन दिनभित्र पनि सिसा नराखे कारबाही गरिने बताइएको छ । गत वर्षको निर्देशनपछि अगाडि मासु काटकुट पारेर बेच्ने ठाउँ तथा भित्ताहरुमा पसलेले टायल लगाएको पाइएको छ ।माछा–मासु पसललगायत हिजो चितवनका केही किराना पसल, सैलून, मिठाइ पसल तथा होटल–रेष्टुरेन्टहरुमा पनि अनुगमन टोलीले निरीक्षण गरेको थियो । दर्ता नै नगरी सञ्चालित एउटा सैलूनलाई तत्काल महानगरमा हाजिर हुन निर्देशन दिइएको छ ।

भरतपुर–१० मा जनप्रतिनिधिकै रोहवरमा उक्त बजार अनुगमन भएको हो । महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटा, राजश्व शाखा अधिकृत चन्द्रकला शर्मा, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा उमेश पन्थी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक शम्भु राय यादव, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णुप्रसाद भुसाल, वडा सदस्य पार्वती नेपाली, वडा कर्मचारी धनबहादुर परियार, निरीक्षक मेघराज भट्टराईसहित नगर प्रहरी र पत्रकारहरु टोलीमा सामेल थिए ।

नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी भरतपुर महानगरपालिकाबाट यो वर्ष गत मंगलबारदेखि बजार अनुगमन थालिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता हित संरक्षण समितिको संयोजक उपप्रमुख रहने व्यवस्था छ । मंगलबार उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटासहितको टोलीले वडा नम्बर २ र ३ का आलु तथा सब्जीमन्डी, माछा–मासु, किराना गरी नौ वटा पसलमा अनुगमन गरिएको ठानेश्वरले जानकारी दिए । बुधबार वडा नम्बर ९ को हाकिमचोकमा दूधडेरी, होटल–रेष्टुरेन्ट, माछा–मासु तथा किराना पसललगायत १७ वटा पसल, व्यवसायमा अनुगमन भएको पनि सापकोटाले बताए । त्यसपछि शुक्रबार अनुगमन गरिएको हो ।

उपभोक्ता हित संरक्षणका लागि बजारमा खाद्य स्वच्छता कायम राख्न अनुगमन गरिएको र समग्र बजारको स्थिति हेर्दा गत वर्षभन्दा सुधारिँदै गएको पाइएको ठानेश्वर बताउँछन् । ‘साह्रै फोहोर, घिनलाग्दो र माछामासु वा खाद्य सामग्री नै नष्ट गर्नुपर्ने अवस्था अहिले देखिएको छैन’, उनले भने, ‘प्रायः सबैजसो दर्ता पनि भएकै छन् । कहीँ–कहीँ नवीकरण नभएको पाइएको छ । सुधार गर्नुपर्ने कुरालाई सुधार्न निर्देशन दिएका छौं । फेरि पनि लापरबाही भएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।’ अनुगमनमा देखिएका विषयलाई समेटेर मेयर–उपमेयरसहित सरोकारवालाहरुसँग समीक्षात्मक कार्यक्रम गरिने पनि उनले बताए ।

टिप्पणीहरू