सञ्चारमन्त्रीको नाम बेच्ने को हुन् यी पात्र !

सञ्चारमन्त्रीको नाम बेच्ने को हुन् यी पात्र !

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी र नमुना मुलुक बनाउने भनेको सुनिएको हो । तर व्यवहार भने अर्कै रहेछ । एक व्यक्तिका लागि गरेको हस्तक्षेपले नेपाल टेलिभिजन हल न चलको अवस्थामा पुगेको छ । व्यक्ति पनि व्यवस्थापक होइनन् । सातौं तहमै उनीभन्दा सिनियर अरुनै छन् । तर उनका लागि कांग्रेसको पूरै संयन्त्र परिचालन भएको छ ।

एनटिभी वल्र्ड एनटिभीको प्रस्तावित छैटौं च्यानल हो । तर अति हस्तक्षेपको कारण सरकारले दिएको ३५ करोड सक्ने तर च्यानल शुरु हुन नसक्ने सम्भावना प्रबल बन्दै गएको छ । निर्देशक र महाशाखा प्रमुखहरू रहेको १३ सदस्यीय कार्यदल बन्यो भनिएको छ । जसमा उनै सातौ तहका असम्बन्धित व्यक्ति राखिएपछि अरुलाई तनाव छ । बैठकहरूमा उनको हैसियतबारे घुमाएर प्रश्न उठ्छ । कहिलेकाँही सबै महाशाखा प्रमुख मिलेर पेल्छन् । त्यसपछि उनी बैठकमा पनि अनुपस्थित हुन्छन् । अध्यक्ष समीरजंग शाहले सातौं तहका एक दुई व्यक्ति मात्रै बोकेर हिँडेपछि व्यवस्थापकहरू चिढिएका छन् ।

त्यसो त समाचारमा पनि उनलाई नै प्रमुखसरह बनाइएको छ । आठौं र नवौ तहका कर्मचारीलाई हटाएर उनलाई बेलुकाको समाचारमा राखिएको छ । टाइप गर्न भने कम्प्युटर अपरेटर चाहिन्छ, लेख्नको लागि अर्कै मानिस व्यवस्था गर्नु पर्छ । उनले समाचार वाचन र कार्यक्रम सञ्चालन पनि नगर्ने होइनन् । समाचारमा गोलमाल पारेर पनि आलोचित छन् । गृहमन्त्री बालकृष्ण खाँड भन्दै भूमिव्यवस्था मन्त्री शशी श्रेष्ठको भिडियो देखाएपछि भानुभक्त आचार्यले सामाजिक सञ्जालबाट नै लेखेर सावधान गराएका थिए ।

एक समाचारमा अर्को भिडियो देखाउनु त नेपाल टेलिभिजनको पहिचान नै हो । समीरका मान्छेको योगदान झन् बढेको छ । एक जनालाई प्रश्न सोध्ने कार्यक्रम चलाउँदा पनि उनलाई प्रश्न तयार गर्न एक जना चाहिन्छ भने निर्देशक अर्को जना र गेष्ट रिसिभ गर्न तेस्रो जना आवश्यक पर्छ । सुविधा त्यतिले मात्रै कहाँ पुग्छ ! उनलाई लान ल्याउन मात्रै होइन क्याम्पस पढाउन भन्दै टेलिभिजनको गाडी घुमाइरहनु पर्छ । ज्यादती अति नै भएपछि प्रशासन प्रमुख पुरूषोत्तम महर्जनले उनीबाट वर्षौंदेखि भैरहेको गाडी दुरूपयोग रोकेका छन् । आठ/नौ तहका हाकिमहरू गाडी चढ्न नपाउने तर सातौंको कर्मचारीले महाप्रबन्धकसरह गाडी लिँदा असन्तुष्टि तीव्र बनेको बताइन्छ ।

आफू नै समाचारको सिफ्ट चिफ भन्दै प्राविधिकहरूलाई हप्कीदप्की गर्ने बानीले प्राविधिकहरू पनि आजित छन् । जुनियरलाई जीएम जस्तै बोकेर हिंडेकोमा गुनासो गर्न जानेलाई अध्यक्षले उम्किनको लागि सञ्चारमन्त्री कार्कीले भनेको हुँदा आफूले मौका दिएको जवाफ दिन्छन् । एक जुनियर कर्मचारीको लागि सञ्चारमन्त्री नै लागेर बलजफ्ती मौका पाउने कर्मचारी हुन् शालिक सुवेदी । गोपालमान श्रेष्ठको बलमा सञ्चालक समितिको सदस्य हुन नपाएपछि उनलाई सबैले घृणा गर्ने किसिमले अघि बढाइएको हो ।

यी तिनै हुन् जसलाई खिलराज रेग्मीको चुनावी सरकारका मन्त्री माधव पौडेलले केपी ओलीको सिफारिसमा झण्डै नियुक्ति दिएका थिए । लक्ष्मण हुमागाइँले त्यतिबेला ६ तहको कर्मचारी भनेर केपी ओली मार्फत् नै रोकिदिएका थिए । अहिले देखाउन सञ्चारमन्त्री भनेपनि भानु देउवाले पनि यिनलाई हाकिम बनाउन दवाव दिने गरेको टेलिभिजनका सबैलाई थाहा छ । शाही कालमा विश्व हिन्दू महासंघका सत्चितशमशेरले जागिर नपाइन्जेल त खूब धाउँथ्यो, अचेल कता गयो भनेर अरुलाई सोध्थे ।

टिप्पणीहरू