फुली थाप्दा कोशेली खाने जर्नेल

फुली थाप्दा कोशेली खाने जर्नेल

वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको दाहिने हात र हुनेवाला चिफको सम्धी हुँ भन्दै हिँड्ने एकतारे जर्नेल यम सापकोटाको कर्तुतले निकै चर्चा पाउन थालेको छ । रिटायर्ड हुने बेलामा मानार्थ एक तह थप्न सिफारिस गर्दिएको भन्दै व्यान्डका महासेनानी अमुल कार्की ढलीको एक लाख रूपैयाँ दम्पच गरेको हल्ला बाहिरिएपछि जर्नेल सापकोटाको चर्चा चुलिएको हो ।

अहिलेका ट्वाइसी बालकृष्ण कार्कीलाई रिझाउन सुर्खेतको बास्मती चामल ज्युनार गरिस्योस् भन्ने सापकोटाले यसअघि यस्तै मानार्थ सिफारिस गर्दिन्छु भन्दै हनुमानढोकाबाट रिटायर्ड हुन लागेका श्रेष्ठ थरका कर्णेलसँग पनि पैसा धुत्न भ्याएको चर्चा चलेको छ ।

समारोह तथा सञ्चालन निर्देशनालयमा कार्यरत सापकोटाले प्रधानसेनापति शर्मा दुई महिनाअगाडि लेबनान जाँदा उनीसँगै गएको अवसरलाई अन्य अधिकृतहरू तर्साउने मौकाको रूपमा उपयोग गरेको दाबी स्रोतले गरेको छ ।

लेबनानमा सैनिक अधिकृतहरूको बारेमा बुझ्न जाने हो भने सैनिक सचिवले, सिपाही हेर्ने भए संगठनले तोकेको सैनिक अधिकृत जानुपर्ने हो तर जर्नेल सापकोटा कसरी गए ? यस्तो प्रश्न आफैं उठाउदै आफैं उत्तर दिने क्रममा जर्नेल सापकोटाले प्रधानसेनापति शर्माको आशीर्वाद भन्दै धक्कु लगाउने गरेका छन् । उनले प्रधानसेनापति शर्मासँगै बसेको फोटो र उनीसँग भएको भाइवर वार्ता देखाएर पनि अन्य अधिकृतलाई प्रभावित तुल्याएका छन् ।

सापकोटाका डाक्टर छोराको हुनेवाला प्रधानसेनापति ताराध्वज पाण्डेका डाक्टर छोरीसँग आउँदो मंसिर महिनामा लगन गाँठो बाँधिने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार यसैले पनि सापकोटाको कर्तुतबारे मुख खोल्न अरु हिच्किचाएको अवस्था छ । उनी पर्सा वन्यजन्तु आरक्षको गुल्मपति हुँदा अनेक काण्डमा चर्चा कमाएर र बर्दबहादुर गणको गुल्मपति हुँदा अधिकृत मेस नक्साअनुसार नबनाइकन कमसल सामग्री र होचो बनाएको भन्दै कोर्टमार्शल हुनबाट जोगिएका थिए ।

टिप्पणीहरू