डेंगु फैलाएको आशंकामा कवाड संकलन केन्द्र हटाइने

डेंगु फैलाएको आशंकामा कवाड संकलन केन्द्र हटाइने

पोखरा महानगरपालिकाले मुख्य आवास क्षेत्रमा रहेका कवाड संकलन केन्द्र हटाउने भएको छ । समुदायस्तरमा फैलिँदै गएको डेंगु रोकथाम तथा न्यूनीकरणका लागि महानगरपालिकाले कवाड सामान संकलन केन्द्र हटाउन लागेको हो ।

आज सूचना निकालेर महानगरले कवाड संकलन केन्द्र मुख्य आवास क्षेत्रबाट कम्तिमा पाँच सय मिटर दूरी बाहिर स्थापना गर्न आग्रह गरेको छ । अव्यवस्थित त्यस्ता संकलन केन्द्र डेंगु फैलाउनुको प्रमुख कारण रहेको महानगरको ठहर छ ।

‘महानगरपालिकाको मुख्य आवास क्षेत्रमा रहेका कवाड संकलन केन्द्रबाट यो रोग फैलन ठूलो मद्दत पुगिरहेको साथै विभिन्न महामारी फैलनुमा अव्यवस्थित कवाड संकलन केन्द्र मुख्य कारकका रुपमा रहेको पाइएकाले मुख्य आवास क्षेत्रको कम्तिमा पाँच सय मिटर दूरीभन्दा बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय सञ्चालकहरुलाई हार्दिक अनुरोध छ’, सूचनामा उल्लेख छ ।

यसका लागि ३५ दिनको समय दिइएको छ । कवाड संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा सम्झौता अवधि जतिसुकै भएपनि तोकिएको समयभित्र अन्यत्र स्थातान्तरण गर्न महानगरले निर्देशन दिएको छ ।

साथै, पानी जम्ने स्थानलाई पुर्ने र नष्ट गर्ने अभियानमा लाग्न सम्पूर्ण वडा कार्यालय, नागरिक समाज, सरोकारवाला तथा नगरवासीलाई महानगरले अनुरोध गरेको छ ।

टिप्पणीहरू