जनआस्थामाथि बिप्लव नेकपाको धम्की

जनआस्थामाथि बिप्लव नेकपाको धम्की

मिडियाकर्मीको ज्यानै लिनेसम्मको अप्रत्यक्ष आशय सन्निहित बिज्ञप्ती निकाल्न  प्रकाण्ड कमरेडलाई छुट दिदै जाने हो भने आइन्दा बिप्लव समूहले कम्तिमा निष्पक्ष र सन्तुलित समाचार प्रवाहमा बिश्वास राख्ने मूलधारका कुनै पनि सञ्चारमाध्यमबाट कुनै पनि प्रकृतिको सहानुभूतिसम्म नपाउने स्थिति आउनसक्छ ।

सधैं सकभर नौलो र पृथक समाचार सम्प्रेषण गर्दै आएको जनआस्था साप्ताहिक सम्बध्द अनलाइन janaaastha.com विरुद्ध नेकपा बिप्लव समूहका प्रवक्ता प्रकाण्डद्वारा आज जारी धम्कीपूर्ण बिज्ञप्तीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

मुलुकको आन्तरिक सुरक्षा हेर्ने तालुकवाला मन्त्रालय (गृह) द्वारा उसका सबै प्रमुख अङ्गहरुको नाममा जेठ २० गते जारी परिपत्रमा आधारित उक्त सूचना न त कथा हो,न षडयन्त्रको उपज नै ।

सूचनाको सत्यतावारे आधिकारिक धारणा राख्ने निकाय गृह मन्त्रालयको प्रमुखमा प्रकाण्डजीकै पूर्व सहयोध्दा रामबहादुर थापा “बादल” कार्यरत हुनुहुन्छ, साथीको नाताले कुरा के हो भनेर फोनमै सोधी हेर्दा पनि भैहाल्छ । लुकेका सूचना ल्याएर जनतासामु पस्कनु कमरेडको बिज्ञप्तीमा भनिए झैं खुफियागिरी गर्नु हैन, बरु चौथो अङ्गको धर्म हो । यत्ति कुरा बुझिदिने एक थान मुटु भैदिए मिडियालाई धारेहात लाइरहनै पर्दैन ।

जनआस्थाले कुनै आधारबिना त्यत्तिकै समाचार लेख्दैन, गृहको यही सर्कुलरमा टेकेर २६ गते प्रकाशित समाचारको वास्तविकता नबुझी प्रकाण्डले  बिज्ञप्ती निकालेकोमा हामीलाई दु:ख लागेको छ ।

सत्य समाचार पस्केर मुलुकलाई सुसूचित गर्ने जिम्मेवार मिडियाकर्मीहरुबिरुध्द यस्तै आक्षेपपूर्ण,धम्कीपूर्ण र मिडियाकर्मीको ज्यानै लिनेसम्मको अप्रत्यक्ष आशय सन्निहित बिज्ञप्ती निकाल्न कम्युनिस्ट आन्दोलनमा भोटो फटाएर मन्त्रीको जिम्मेवारी सम्हाली देश खाइसक्नुभएका प्रकाण्ड कमरेडलाई छुट दिदै जाने हो भने आइन्दा बिप्लव समूहले कम्तिमा निष्पक्ष र सन्तुलित समाचार प्रवाहमा बिश्वास राख्ने मूलधारका कुनै पनि सन्चारमाध्यमबाट कुनै पनि प्रकृतिको सहानुभूतिसम्म नपाउने स्थिति आउनसक्छ ।

पत्रकारसम्बध्द समस्त संघ सङ्गठनलाई प्रकाण्ड कमरेडका यस्ता अवान्छित आक्रमणविरुद्ध एकै ठाउँमा उभिन जनआस्था मिडियामाथि आइपर्न सक्ने कुनै पनि परिस्थितिको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने कुरामा बिप्लव नेकपाको गम्भीर  ध्यानाकर्षण गराउँदछ  ।

टिप्पणीहरू