सेनामा तल्तिर पनि किर्ते काम,गरिरहे धमाधम

सेनामा तल्तिर पनि किर्ते काम,गरिरहे धमाधम

निःस्वार्थ सेवाका लागि खट्ने नेपाली सेनाका केही कर्मचारीमाथि संस्थाको छविमा दाग लगाउन खोजेको आरोप लागेको छ । व्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने केही कर्मचारी किर्ते कागजात काण्डमा मुछिएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ की हुद्दा महिला कर्मचारी र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ बस्ने अमल्दार रामकुमार मिजारले सवारी चालक अनुमति पत्र बनाउँदा झुठो विवरण पेश गरेको तथ्य यसअघि नै खुलेको बताइन्छ ।

त्यस्तै,सैनिक संगठन निर्देशनालयका तत्कालीन निर्देशकलाई समेत गुमराहमा पारी सरुवा स्वीकृत गराएको भन्दै भदौ २१ गते दुई जनाविरुद्ध उजुरी दर्ता गरिएको छ । रामकुमार पहिले सैनिक वार कलेज नगरकोटमा थिए ।

२०७४ मा सेनाको नयाँ ढाँचा आएपछि दरबन्दी घटबढ गर्दा नगरकोटको दरबन्दी पनि घटेको बताइन्छ । त्यसपछि रामकुमारले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सरुवा हुन अनेकौं प्रयास गरे ।

पूर्वी पृतनाको स्थायी सेवामा कार्यरत शर्मिला दुलाल दिलोज्यान दिएर रामकुमारलाई पाँचखालमा सरुवा गर्न लागि परेको सन्दर्भ पनि उक्त निवेदनमा उल्लेख छ । यसका लागि दुवै जना निर्देशनालय धाउने क्रम ह्वात्तै बढेको र शर्मिलाले गोप्य तवरले सरुवा फाँटका कर्मचारीसँग आर्थिक चलखेल गरेर काम फत्ये गराएको आरोप लागेको छ ।

रामकुमारकै सरुवाको निम्ति उनले सरकारी कागजातमा मसी लत्पत्याएर तत्कालीन निर्देशकलाई हस्ताक्षर गर्न लगाईएको बताइन्छ । त्यहाँ पुग्नेबित्तिकै उनको भाग्य चम्कियो तर पाँचखालको ठूलो घोटालामा मुछिएका प्रमुख सुवेदार र तत्कालीन केन्द्रपतिले भने जागिरबाट हात धुनुपरेको थियो ।

घरछेउका छिमेकी प्रमुख सुवेदार बनेर आएपछि रामकुमारलाई क्यान्टिन सञ्चालनको जिम्मेवारी दिइयो । सुवेदारसँग नजिकिन र फाइदा उठाउन रामकुमारले उनलाई घर लैजाने र ल्याउने काम पाएसम्म र भ्याएसम्म गरिरहे । सेनाकै सहुलियत क्यान्टिनबाट लगिएको सामानसमेत तीन गुणा बढी महँगोमा बेच्ने उनले छोटो समयमा अकुत सम्पत्ति कमाएको आरोप लागेको छ ।

यता,सुवेदार र ठूलो पदका हाकिमसँग साँठगाँठ गरेका उनले दलाली र यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग मिलेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई पैसा कमाउने अर्को मौका पनि गुमाएनन् । सोही क्रममा आफ्नो र शर्मिलाको लाइसेन्ससमेत कीर्ते बनाएर सेनामा पेश गरेको समाचार यसअघि पनि बाहिरिएको थियो ।

उनले शान्ति सेनामा चालकको रुपमा जान र शर्मिलालाई अब्जर्भर बनाउन किर्ते लाइसेन्स बनाएको सैनिक स्रोतले बतायो । रामकुमारले झूठो विवरणको आधारमा दुई वर्षअघि सञ्जिवराज पाण्डेको नाममा रहेको ००६–७१२३१७ नम्बरको लाइसेन्स आफ्नो नाममा सारेका हुन् ।

किर्ते विवरणको आधारमा उनले यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट ०१–०६–००९५६४६ नम्बरको लाइसेन्स हात पारेको प्रमाण पनि सेनालाई बुझाइएको छ । शर्मिलाले पनि जीतबहादुर शाहीको नाममा रहेको ००६–७०२३२१ नम्बरको लाइसेन्सलाई किर्ते गरी सम्पूर्ण विवरण सच्याएर आफ्नो नाममा ०१–०६–००५५६५४३ नम्बरको बनाएको स्रोतको दाबी छ ।

किर्ते विवरणको आधारमा लाइसेन्स लिएको भन्दै उनीहरुविरुद्ध भदौ ६ गते प्रधानसेनापतिको कार्यालय, जंगी अड्डामा उजुरी परेको देखिन्छ । तर,हालसम्म उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

आश्चर्यलाग्दो विषय त के भने लाइसेन्स जारी हुँदा रामकुमारको उमेर १० वर्ष र शर्मिलाको ५ वर्ष कायम भएको देखिन्छ । सैनिक प्रहरी गणका गणपतिसँग सँगै बसेको,हेडक्वार्टरमा लामो समय बिताएको फाइदा उनीहरुले लाइसेन्समा उठाएको स्रोतको भनाइ छ ।

सैनिक आचरणविपरीत काम गर्नेलाई सैनिक ऐनअनुसार सजाय गर्नुपर्छ । कतिपय हाकिम अहिले सैनिक अदालत धाउँदै बसेका छन् । तर ती दुईविरुद्ध अख्तियार,प्रधानसेनापति कार्यालय,सैनिक जनसम्पर्क निर्देशनालय,रक्षा मन्त्रालय र कानून मन्त्रालयलगायत निकायमा उजुरी परे पनि प्रक्रिया अघि नबढ्नुलाई रहस्यमय ठानिएको छ ।

यसबीच पुरस्कारस्वरुप रामकुमारलाई क्यान्टिनबाट स्टोरम्यानको जिम्मेवारी सुम्पिएको छ । सेनाले सुदीप खड्काको जागिर खोसिएको र गणेश दल गणका दुई जना महिला सैनिकले केही समयअघि नक्कली सवारी चालक अनुमतिपत्र बनाएको गणपतिले थाहा पाएपछि सेवाबाट हटाइएको विषय मेल नखाएको भन्दै अन्य कर्मचारीले असन्तुष्टी जनाएका छन् ।

टिप्पणीहरू