प्रहरीको नाममा राजधानीमै लुटपाट

प्रहरीको नाममा राजधानीमै लुटपाट

आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न गिरोह समातिएको छ । भोजपुर रामप्रसाद राई गाउँपालिका–१ घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका–३ घर भइ कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापति गाउँपािलका–१ घर भएका सोही ठाउँ बस्ने २० वर्षीय मीनबहादुर तितुङलाई प्रहरीले पक्रेको छ ।

प्रहरीका अनुसार भदौ २२ गते साँझ सवा ७ बजे उनीहरूले ठमेलमा सञ्चालित ओरियन्टल मनी ट्रान्सफर बन्द गरी घरतर्फ जाँदै गरेका व्यक्तिलाई पछ्याएर नयाँ बजार म्हैपीको पानी टंयाङ्कीमा पुगेपछि नियन्त्रणमा लिएका थिए । त्यसपछि ती व्यक्तिको साथमा रहेको आइफोन, बिलबुक र लाइसेन्स रहेको झोला लुटेर फरार भएका हुन् ।

उनीहरुले प्रहरीको जस्तै परिचय पत्र देखाएर पैसा लुटेर भागेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् । प्रहरीका अनुसार झोलामा ३० लाख २३ हजार रुपैयाँ नगद थियो । घटनामा प्रयोग भएका तीनवटै मोटरसाइकल कपनबाट बरामद भएको प्रहरीले बताएको छ ।

तीनै जनालाई हिजो नियन्त्रणमा लिइ अपहरण तथा डाँका, चोरी मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

टिप्पणीहरू