२० लाखले उपत्यका छाड्ने अनुमान, लफडामा सवारी साधनको व्यवस्थापन

२० लाखले उपत्यका छाड्ने अनुमान, लफडामा सवारी साधनको व्यवस्थापन

नेपालीहरुको महान् चाड बडा दशैं आउन अब दुई साता पनि छैन । वर्ष दिनमा एकचोटी आउने चाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा बसोबास गर्नेहरु घर जान सवारी साधनन नपाइने चिन्ताले पिरोलिन थालेका छन् । विगतका वर्षझैं दशैंलाई लक्षित गर्दै सरकारले आगामी असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ्गको मिति घोषणा गरिसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीहरुको संयुक्त बैठकले भोलिदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरुको अग्रिम टिकट खोल्ने निर्णय यसअघि नै गरेको छ ।

सर्वसाधारणले विभिन्न स्थानको टिकट काउण्टरमा गएर वा अनलाइनमार्फत टिकट बुकिङ्ग गर्न सक्ने व्यवस्था मिलाएको विभागले जनाएको छ । साथै, यात्रुवाहक सवारी साधनलाई घटनास्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ ।

सरकारले अग्रिम बुकिङ्ग खोले पनि दुई तीन दिनमै टिकट अभाव भएको जनगुनासो विगतमा सँधै आउने गरेको थियो । काउण्टरवालाले नै टिकट लुकाउने गरेको सर्वसाधारणको आरोप छ । दशैंको मौका छोपेर टिकट काउण्टरमा बिचौलियाहरुको बिगबिगी, टिकट नपाउँदा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता र सानो मुढा वा टुलमा बसेर, झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता सँधैको हो ।

हरेक वर्ष दशैंको समयमा सर्वसाधारणलाई घर जान र आउनकै सास्ती हुनु नौलो होइन । सडकको दूरावस्था र सीट संख्याभन्दा तेब्बर यात्रु राख्ने प्रवृत्तिले अरु बेलाभन्दा अत्याधिक दुर्घटनाका घटना पनि हुने गरेको पाइन्छ । गत वर्ष फूलपातीका दिन मुगुमा बस दुर्घटनामा परी एउटै गाउँका ३२ जनाको मृत्यु भएको थियो । झण्डै डेढ दर्जन यात्रु सिकिस्त भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पूरै गाउँको खुशीयाली एकाएक शोकमा परिणत भएको थियो । सरकारको गैरजिम्मेवारीपन, व्यवसायीको लापरवाही र चालकको हेलचेक्रयाईंका कारण कल्पना नगरिएको घटना भएको थियो । सरकारले थोत्रा गाडी चलाउन दिँदा दुर्घटना बढेको र दशैंको समयमा यसतर्फ थप सचेत हुनुपर्ने जानकारहरुको बुझाइ छ ।

२० लाख बढीले उपत्यका छाड्ने

दशैं मान्नका लागि आगामी १५ दिनमा २० देखि २५ लाखको हाराहारीमा सर्वसाधारणले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार यात्रुको चाप हेरेर गाडीको व्यवस्था गरिने छ । फूलपाती र अष्टमीका दिन उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अन्य दिनको तुलनामा ह्वात्तै बढ्ने अड्कल लगाइएको छ ।

दशैंका लागि मुलुकभर गुड्ने सवारी साधन काठमाडौं ल्याउन लागिएको उनले बताए । नेपालले भने,‘लामो दूरी चल्न सक्ने र अवस्था ठीक भएका गाडीहरु सञ्चालन गर्ने सोच बनाएका छौं ।’ बर्खाको समयमा पहिरो जाने र बाटो बिग्रिने भएकाले सहजीकरणको निम्ति सडक विभागका पदाधिकारीसँग छलफल गरिएको महासचिव नेपालको भनाइ छ ।

विभागले सडकमा रहका खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता जनाएको छ । यसतर्फ विभिन्न स्थानमा काम अघि बढिसकेको बताइन्छ । यता, यातायात व्यवसायीहरुले ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन ट्राफिक प्रहरी महाशाखालाई अनुरोध गरेका छन् । दशैंमा पाकेटमारको बिगबिगी हुने भएकाले विशेष निगरानी राखिदिनसमेत प्रहरी प्रशासनलाई यातायात व्यवसायीले पहिल्यै अनुरोध गरेका हुन् ।

यातायात आवागमनमा सहज बनाउन खाद्यान्नलगायत अत्यावश्वक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर तथा ठूला सवारी साधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाइएको छ । ठूला गाडीले अत्यधिक ट्राफिक जाम गर्ने हुँदा सो अवधिका लागि सञ्चालनमा रोक लगाउन दुई साताअघि नै माग गरिएको महासचिव नेपालले बताए ।

यात्रुलाई गन्तव्यसम्म पुर्याउनैपर्ने

बाटो असहज छ भन्दै यात्रुलाई दोबाटोमा छाडेर हिँड्ने गाडी चालक र सहचालकलाई कारबाही गरिने बताइएको छ । चालकले यात्रुहरुलाई बीच बाटोमा ओरालेर दुःख दिने गरेको गुनासो यसअघिका वर्षमा अत्यधिक आएपछि अहिले बेलैमा निर्णय गरिएको दाबी छ । चालक र सहचालकले पूरै भाडा लिएपछि बाटोमा यात्रु ओरालेर अलपत्र पार्न नपाइने र अनुगमनका लागि विभिन्न स्थानमा प्रहरी खटाइने जानकारी दिइएको छ ।

साना गाडीको अग्रिम टिकट खोलिएन

सरकारले लामो दूरीको यात्रुवाहक गाडीको अग्रिम टिकट खोल्ने निर्णय गरेपनि साना गाडीको भने अझै अनिश्चित छ । माइक्रोबस, जम्बो हायस, बोलेरो र टाटासुमोको अग्रिम टिकट खुलाइएको छैन । यातायात व्यवस्था विभागले साना गाडीको अग्रिम टिकट नखुलाउँदा यात्रुहरु मर्कामा पर्ने निश्चित छ ।

अन्य समयको तुलनामा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता यात्रुहरुलाई आउने विगतको अनुभवले देखाएको छ । अन्तिममा गाडी नपाएपछि उभिएर र कोचिएर यात्रा गर्नुपर्ने बाध्यता बाहेक अर्को विकल्प हुँदैन । यता, साना सवारी साधनको बिलबुकमा जम्मा १३ सिट लेखिए पनि दशैंको मौका छोपेर त्यसमा तेब्बर यात्रु हाल्ने प्रवृत्ति जहिले पनि हुन्छ ।

विभागले साना सवारीको अग्रिम बुकिङ्ग नखोलेर यात्रु ठग्न छुट दिएको यातायात अभियन्ता रामबहादुर थापाको आरोप छ । ‘सरकारले साना गाडीको टिकट बुकिङ्ग खोलेको छैन्’, उनले भने,‘दशैंमा कालोबजारीलाई मौका दिएर तीन गुणासम्म बढी रकम लिएर टिकट बिक्री गर्ने गरिएको छ ।’

टिप्पणीहरू