३९ हजार पाउण्ड गायव गरिएको भन्दै एनआरएनएमा हङ्गामा, बेलायतले आइसीसीलाई नमान्ने

३९ हजार पाउण्ड गायव गरिएको भन्दै एनआरएनएमा हङ्गामा, बेलायतले आइसीसीलाई नमान्ने

विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा अन्तरकलह चर्किएको छ । एनआरएनए आइसीसीले बेलायतका अध्यक्ष प्रेम गाहामगरलाई एकाएक बर्खास्त गरेको पत्र सार्वजनिक गरेपछि विवाद छताछुल्ल भएको हो ।

एनआरएन युकेका प्रवक्ता भरतमणि चोङवाङले विज्ञप्ति जारी गर्दै अध्यक्ष गाहामगरलाई हटाउने आइसीसीको निर्णय अवैधानिक भएकोले खारेज गरिएको जानकारी दिए । उक्त पत्र युकेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मत रुपमा खारेज गरेको उनले बताएका छन् ।

आइसीसीको पत्रमा एनआरएन युकेको कार्यसमितिका बहुमत सदस्यले अध्यक्षमाथि अविश्वासको प्रस्ताव राखी पदमुक्त गर्न केन्द्रमा सिफारिस गरी पठाएको उल्लेख थियो । तर, एनआरएन युकेले भने किर्ते हस्ताक्षर गरेर अवैधानिक ढंगले कारवाही गरिएकाले स्वीकार नगर्ने चेतावनी दिएको छ । अध्यक्ष मगरको विपक्षमा भनिएकाहरु नै समर्थनमा रहेकाले आइसीसीले नक्कली हस्ताक्षर बटुलेर बहुमतको झूठो हवाला दिएको विज्ञप्तिमा उल्लेख छ ।

“हराएको ३९ हजार पाउण्ड कहाँ छ,कहिले फर्कन्छ र सो पैसा कसले उपयोग गरिरहेको छ ? के त्यही पैसा ढाकछोपकै लागि यो पदमुक्तको अवैधानिक पत्र लेखेर वातावरण धुमिल्याउने कोसिस गरिएको हो ?’

एनआरएनए बेलायतको विधानमा अध्यक्षमाथि अविश्वासको प्रस्ताव पेश गर्ने व्यवस्था नरहेको र बहुमत देखाउन मताधिकार नभएका राज्य समितिका केही पदाधिकारीको समेत नाम राखेर झूठको खेति गरिएको भरतमणिले दावी गरेका छन् । उनका अनुसार आइसीसीले यूके च्यारिटीका कसैलाई पनि पदमुक्त गर्न सक्ने विधानमा व्यवस्था छैन ।

अध्यक्षमाथिको कारवाहीलाई लिएर शुरु भएको विवाद आर्थिक अनियमितताको घटनामा समेत जोडिएपछि एनआरएनएभित्रको कलह थप छताछुल्ल भएको छ । च्यारिटी संस्थाको खाताबाट हराएको ३९ हजार पाउण्ड स्वतन्त्र छानविन समितिले काम गरिरहेको समयमा त्यसलाई प्रभावित पार्ने आइसीसीले पदमुक्तको पत्र लेखेको एनआरएनए युकेको आरोप छ । प्रवक्ता भरतमणिले आइसीसीमाथि नै छानविन हुनुपर्ने मागसमेत गरे ।

एनआरएन युकेको वार्षिक क्यालेण्डरमा गत ६ अगष्टमा ११ औं साधारण सभा तथा संघसंस्था प्रतिनिधिसभा हुनुभन्दा अघिल्लो हप्ता ३९ हजार पाउण्ड अध्यक्षलाई जानकारी नगराई कोषाध्यक्ष विष्णु खरेलले चलाएका थिए । त्यसबारे छानविन भैरहेकै बेला कारवाहीको विषय ल्याउनुलाई यूकेका नेपालीहरुले घटना ढाकछोप गर्न आइसीसीका ठालुहरुको सुनियोजित चालबाजी भनेका छन् ।

‘आइसीसीको पत्रको बारेमा कसैले चर्चा गरेमा हराएको ३९ हजार पाउण्ड कहाँ छ,कहिले फर्कन्छ र सो पैसा कसले उपयोग गरिरहेको छ ? के त्यही पैसा ढाकछोपकै लागि यो पदमुक्तको अवैधानिक पत्र लेखेर वातावरण धुमिल्याउने कोसिस गरिएको हो?’ विज्ञप्तिमा भनिएको छ, ‘यूकेमा रहेका नेपालीहरु सहिष्णु रहँदै आएका छन् । एकाध खराब व्यक्तिको स्वार्थको निमित्त एनआरएन आईसीसीको गलत क्रियाकलापले सिंगो एनआरएनको इज्जतमा आँच आउने काम भएकोमा खेद प्रकट गर्दछौं ।’

टिप्पणीहरू