सेना र पाहुनाको चीन,अमेरिकादेखि अफ्रिकासम्म एकै दिन उडान

सेना र पाहुनाको चीन,अमेरिकादेखि अफ्रिकासम्म एकै दिन उडान

हिजोदेखि आज बिहानसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही विशेष उडान भएका छन् । केही पदाधिकारी तथा विशेष जिम्मेवारीका सरकारी अधिकारीहरु नियमित उडानमा पनि तोकिएको मुलुकतर्फ गएका छन् ।

आज बिहान चिनियाँ सभामुख नेपालको चार दिने भ्रमण पूरा गरी विशेष विमानबाट दक्षिण कोरियाको राजधानी सिओलतर्फ जानुभएको छ । झण्डै सय जनाको टोली लिएर आएको एअर चाइनाको विशेष विमान उडान नम्बर बी २४७२ त्यसतर्फ गएको हो । सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष लि चान्सुलाई विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गर्नुभएको हो ।

यता नेपाल वायुसेवा निगमको विशेष उडान आरए २४५५ बाट नेपाली सेनाको टोली बिहान ४ बजे दक्षिण सुडानतर्फ गएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ शेर गण (शा.से.) १२ औं डफ्फा मिशनको तेस्रो रोटेशनअन्तर्गत सेनानी सुरज थापाको कमाण्डमा दुई सय ४० जना सैनिक त्यता गएका हुन् ।

आजै कतार एयरको क्युआर ६४५ बाट सेनाका एक जना उपरथी सिरियातर्फ जिम्मेवारी सम्हाल्न जानुअघि युएन हेडक्वार्टर न्यूयोर्क गएका छन् । काठमाडौं–दोहा हुँदै शान्ति स्थापनार्थ कार्यको निम्ति राष्ट्रसंघीय मिसन सिरियामा मिसन प्रमुख तथा फोर्स कमाण्डरको जिम्मेवारी निर्वाह गर्न निर्मलकुमार थापा आज बिहान पौने ४ बजे त्यता गएको सैन्य स्रोतले बताएको छ ।

यसैबीच आज बिहान साढे ११ बजेको समयमा अमेरिकी वायुसेनाको विमान काठमाडौं आइपुगेको छ । यहाँ तालिममा सहभागी अमेरिकी सेनाको बन्दोबस्तीका सामान लैजान १३ जना चालक दलका सदस्यसहित आएको विमान भोलि मात्रै फर्कने बताइएको छ ।

टिप्पणीहरू