अँगालो हाल्नेलाई प्रचण्डले पछाडिबाट छुरा धसेको एमाले अध्यक्षको आरोप

अँगालो हाल्नेलाई प्रचण्डले पछाडिबाट छुरा धसेको एमाले अध्यक्षको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास गरेर अँगालो हाल्दा पछाडिबाट छुरा रोपेको आरोप लगाउनु भएको छ । आज पार्टी कार्यालय, ललितपुरको च्यासलमा अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश कार्यक्रममा बोल्दै उहाँले विश्वास गरेर पार्टी एकता गर्दा आफैंलाई साधारण सदस्यबाट निकालिको सन्दर्भ उल्लेख गर्नुभएको छ ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन प्रचण्डलाई आफ्नै कुर्सीको नजिकै राख्दा पनि पछाडिबाट छुरा रोपेको उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो, ‘उनलाई मैले सम्मानपूर्वक आफ्नै सीट छेउमा राखेको थिएँ । उनको एउटा भिडियो हेर्नु भयो होला, मैले केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ भन्ने । हो मलाई निकालिएकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी कम्युनिष्ट पार्टी बनाऔँ, समाजवादतर्फ एकताबद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर मेरो सीटको छेउमा राखेको थिएँ ।’

अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका मात्रै दिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको वरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने?’

अर्को सन्दर्भमा उहाँले वर्तमन गठबन्धन सरकार एमालेलाई निर्वाचनमा हराउनैको निम्ति परमादेशबाट बनेको उहाँको ठहर छ । आफ्नो पार्टीसँग कोही पनि एक्ला एक्लै चुनाव लड्न नसक्ने भएकाले गठबन्धनको जालो बुनिएको अध्यक्षको भनाइ छ ।

सो अवसरमा अध्यक्ष ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियारलगायत नेता तथा कार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराउनु भएको छ ।

टिप्पणीहरू