चोलेन्द्रको आक्षेप ‘क्लिएर’ पार्न लौरो टेकेर वृद्ध वकिल सिंहदरबारमा

चोलेन्द्रको आक्षेप ‘क्लिएर’ पार्न लौरो टेकेर वृद्ध वकिल सिंहदरबारमा

वयोवृद्ध कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीसहित कानुन व्यवसायीहरु बयानका लागि संसदीय समितिमा उपस्थित भएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले अनेक आक्षेप लगाएपछि संसदीय समितिले हिजो पत्र लेखेर सोधपुछका लागि बोइलाइएकोमा उनीहरु आज बयान दिन गएका हुन् ।

बयानका लागि वरिष्ठ अधिवक्ता भण्डारीसहित नेपाल बारका पूर्वअध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र शम्भु थापा, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे सिंहदरबार पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता भण्डारीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिल’ भनि व्यङ्ग्य गरेका थिए । उनै भण्डारी आज लौरो टेकेर समितिमा बयान दिन गएका छन् ।

चोलेन्द्रले पोलेका बहालवाला र पूर्वन्यायधीशहरुले भने बयानमा जान अस्वीकार गरेका छन् । समितिले पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशिला कार्की, मीनबहादुर रायमाझीसहित पूर्व न्यायाधीशहरुलाई पनि पत्र पठाएर बयानका लागि उपस्थिति हुन भनेको थियो ।

आफूविरुद्धको महाभियोग प्रस्तावको सफाइका लागि समितिमा बयान दिनेक्रममा चोलेन्द्रले सर्वोच्च अदालतका केही बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, बारका पूर्वपदाधिकारी, वकिल, दलका नेता, पत्रकारलगायतलाई असान्दर्भिक प्रसंगमासमेत जबर्जस्ती मुछेको आरोप लागेको छ ।

टिप्पणीहरू