परराष्ट्र सचिव र भारतीय समकक्षीबीच भेटवार्ता

परराष्ट्र सचिव र भारतीय समकक्षीबीच भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

परराष्ट्र सचिवहरूले आर्थिक र व्यावसायिक सहयोग,कनेक्टिभिटी, विकास सहयोग, व्यापार, संस्कृति र जनस्तरको सम्बन्धलगायत दुई मुलुकबीच कायम रहेको सहयोगको समीक्षा गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुई मुलुकका सचिवबीच भएको भेटवार्तामा यसबीचमा भएका विद्युत् निकासीलगायत ऊर्जा क्षेत्रमा देखिएको द्विपक्षीय सहयोगको पनि प्रशंसा गरिएको छ । लगानी बोर्ड नेपाल र नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन भारतबीच हालै पश्चिम सेतीलगायत परियोजनाहरू निर्माणमा भएको समझदारीपत्रलाई दुबै पक्षले हार्दिक स्वागत गरेको बताइएको छ ।

त्यसैगरी जयनगर–बर्दिबास रेल लिंकको कुर्ता–बिजलपुरा खण्ड र जोगबनी–विराटनगर रेल लिंकको बथनाहा–नेपाल भन्सार यार्ड खण्डको सञ्चालनमा सन्तोषजनक उपलब्धी भएकोमा दुबै पक्षले सहमति जनाएका छन् ।

जनस्तरको सम्बन्धलाई थप प्रवद्र्धन गर्न रामायण सर्किटको परियोजना सुझावलाई छिटो अघि बढाउन सहमती जनाइएको छ । त्यसैगरी अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र मोतिहारीदेखि चितवनसम्म एलपीजी पाइपलाइन निर्माण गर्ने कार्यलाई द्रुत रूपमा कार्यान्वयन गर्ने विषय पनि दुई सचिवबीचको भेटवार्तामा उठेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू