रुकुम घटना : २८ जना पक्राउ, आजै अदालतमा अभियोग दायर गरिने

रुकुम घटना : २८ जना पक्राउ, आजै अदालतमा अभियोग दायर गरिने

१० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका—८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका २८ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति फरार दुई आरोपीसहित थप ३ जना पक्राउ गरेपछि घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या २८ पुगेको हो ।

चौरजहारी ८ निवासी वर्ष १९ का घमण्ड मल्ल, वर्ष १९ कै विष्णु मल्ल र वर्ष २६ का सर्वजित भनिने सविन पुनलाई बुधबार राति पक्राउ गरेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । पीडित परिवारले दिएको किटानी जाहेरीमा रहेका २० जनामध्ये घमण्ड र विष्णु यसअघि फरार थिए भने सबिनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । जाहेरीभित्रका १८ जना र अनुसन्धानबाट खुलेका थप ७ जना गरी २५ जनालाई यसअघि नै रुकुम पश्चिम प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाइसकेको छ ।

आजै अदालतमा अभियोग दायर गरिने

घटना भएको १९ दिनपछि रुकुम प्रहरीले आफूहरूले गर्ने अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । ‘हामी घटना अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ’, डिएसपी केसीले भने, ‘प्रहरी अनुसन्धानको आधारमा अब सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दायर गर्नेछ र अदालती प्रक्रियामा अगाडि बढ्नेछ ।’

प्रहरीका अनुसार आजै अदालतमा मुद्दा दायर हुनेछ ।
भेरी नगरपालिका—४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका—८ सोती गएका बेला घटना भएको थियो । १७ वर्षीय मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेले आक्रमण गरेर उनीहरूको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने त्यसरी आक्रमण नगरेको स्थानीयले बताएका छन् । गाउँमा हुल बाँधेर खराब नियतसाथ आएकाहरूलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरूको भनाइ छ । मृतकका आफन्तले भने गाउँलेले ढुंगामुढाले कुटेर मारेको आरोप लगाएका छन् ।

उक्त घटनामा परेका भेरी नगरपालिका—४ का नवराज विकको शव घटनाकै दिन शनिबार राति भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका—१ का २० वर्षीय टीकाराम विकको शव घटनास्थलबाट करिब २५ किमि तल भेरी नगरपालिका—१२ स्थित खोदा खोला नजिक भेटिएको थियो । सोमबार भेरी नगरपालिका—४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टीकारामको शव भेटिएको स्थान नजिकै भेटिएको थियो ।

त्यसैगरी भेरी नगरपालिका— ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी—१ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो । त्यसैगरी, भेरी नगरपालिका—११ का गोविन्द शाहीको शव जेठ २० गते मंगलबार भेरी नगरपालिका— १२ को खोदा खोला नजिक भेटिएको थियो । १७ वर्षीय गोविन्द शाहीको शव टीकाराम र गणेश बुढाको शव भेटिएकै ठाउँ नजिक भेटिएको थियो ।

टिप्पणीहरू