‘सरकारले डेंगु नियन्त्रण गर्न सकेन’

‘सरकारले डेंगु नियन्त्रण गर्न सकेन’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले उक्त धारणा राखेका हुन् ।

डेंगुका कारण मृतक संख्या बढिरहेको उल्लेख गर्दै सांसद सुवालले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले उक्त रोग नियन्त्रणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । कोरोनापछि डेंगुले जनता अर्को मारमा परेको भन्दै सरकारले सरसफाइको काम समेत गर्न नसकेको उनको ठहर छ ।

उनले मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरेपनि मन्त्रीले त्यसको सदुपयोग गर्न नसकेको बताए । डेंगुको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्दै सांसद सुवालले भने, ‘कोरोनापछि डेंगूबाट जनता पीडित छन् । अस्पतालमा शैयाको अभाव छ तर स्वास्थ्य मन्त्रालय बेखबर छ ।’

टिप्पणीहरू