कोरोना, नेटवर्किङ अनि एकै दिन ६४० किलोमिटर यात्रा

कोरोना, नेटवर्किङ अनि एकै दिन ६४० किलोमिटर यात्रा

४ चैतमा काठमाडौं बसाईका ९ वर्ष भुल्ने यत्नसहित दैनिक काँचका पर्दाका प्राइम टाइम करेन्ट अफेयर्स शो पनि छाडेर हेटौंडा झरेको थिएँ । ८ गतेदेखि छोरीका एसइइ थियो । वैशाख अन्त्यमा छोराको प्लस टुको परीक्षा सकिँदै थियो । प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयमा १० लाख रुपैयाँ राजश्व तिरेर बागमती टेलिभिजनको लाइसेन्स लिएका थियौँ । राजश्व तिरेपछि लाइसेन्स जसले पनि पाउँछ भन्ने धेरै होलान्, तर हामीले चैँ त्यही पैसामा प्रदेश ३ सरकारले राखेको नाम ‘बागमती’का अस्तित्वमा लाइसेन्स लिएका हौँ, त्यो पनि त्यही प्रदेशमा स्थापना भएको सञ्चार रजिस्ट्रार कार्यालयबाट । त्यति नै पैसामा हामीले संघीय सञ्चार मन्त्रालयबाट स्याटेलाइट टेलिभिजनको लाइसेन्स पनि पाउँछौँ । तपाईंहरु पनि पाउनु हुनेछ ।

कोरोना यसरी संसारभर पुग्छ भन्ने आँकलन धेरैमा थिएन । अझ काठमाडौं बसेर कार्यक्रम बनाइरहँदा भारतीय मिडिया र अमेरिकी प्रतिक्रिया हेर्दा लाग्थ्यो, अरु बिरामी पर्दा खुशी हुनु पनि व्यापारिक सफलता हो । आज कोरोनाले अमेरिका र भारतलाई जुन ‘रुवाई’ पारेको छ, चीन हासिरहेको छैन, समवेदित र सन्तुलित देखिन्छ । कोरोनाले काठमाडौंबाट यसरी सबैलाई लखेट्ला भन्ने अनुमान पनि थिएन । चार पाँच वर्षअघि मात्र भूकम्पले लखेटेको । त्यसपछि तीन वर्षअघि चुनावका लागि सबै गाउँ आएको । यसपटक त कोरोनाले यस्तरी लखेट्यो कि, यो वर्ष काठमाडौं फर्कने कि नफर्कने भन्ने संशय छ । धन्न दशैँतिहारले मंसिर छुन्छ, कहिले फर्कने, के गरी फर्कने ? कात्तिकसम्म कोरोना रहन सक्छ भन्ने सरकारी बडाहाकिमहरुको प्रक्षेपणको मजाक उडाउन पनि भएन । यतिखेर चैँ काठमाडौं प्रवेश निषेधले यही संकेत गरिरहेको छ ।

हेटौंडामा कोरोनाको औषधि बन्दै गरेको, विश्व स्वास्थ्य संगठनले ७३ देशसँग इन्टरनेट बैठक गरेको समाचारहरुले कान चिप्ला भएका छन् । यतिखेरको समाचार हुनुपर्ने हो, किसानले मल पाएनन् । असार २० सम्ममा बल्लतल्ल मल आउने अनुमान छ । त्यतिखेर आएको मल राहत होइन, विष सावित हुन्छ । ३९ डिग्री तातोमा २० केजी मल लिन किसान कोरोनाको परवाह नगरी ८ घण्टा लाइन बसेको देख्छु । यस्ता समाचार कम आउँछन् । कोरोना संक्रमण बढेको देखाइएको छ । केही युट्युबरहरुले कोरोनामा पनि आफ्नो व्यापार जारी राखेका छन् । राजनीतिक दलहरुको मौनता देख्छु । प्रतिपक्षी नामको राजनीतिक प्राणी शल्यक्रिया गर्न पर्ने डरले हो या शल्यक्रियापछि ‘कोमा’ गएको भान हुन्छ । फेरि पनि कमाउ धन्दा चलाउनेहरुले चलाएकै छन्–कमाएकै छन् ।
जेठ १० गते सम्झेँ । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष मित्र टंक मुक्तानले ९ जेठमै भन्नु भएको थियो, ‘दाइ, उस्तै परे भोलि कपिलबस्तु गइन्छ है ।’ हेटौंडाबाट मनहरी र मनहरीबाट टाँडी पुग्न त सकस भएका बेला कपिलवस्तु जानु चानचुने थिएन । एक महिनाअघि पनि काठमाडौंमा रहेका मकवानपुरे लिन कैलाश गाउँपालिकाले गाडीसहित काठमाडौं जाने तयारी गर्दा मलाई छाडेर आएको काठमाडौं हेरौँ हेरौँ लागेको थियो । जाने कुरा गर्दा आमा एकदम चिन्तित हुनु भयो । कोरोनाकै डरले काठमाडौं छाडेर घर आउने, अनि फेरि मान्छेको भिडमा किन जाने भन्नुभयो । त्यतिखेर टंकजीलाई, आमा मान्नु भएन भन्दा हासेर ल त म गएँ भन्नु भयो । जनप्रतिनिधिको काम आफ्ना बिचल्ली जनता गाउँ ल्याउनु हो, यो काममा अहोरात्र खटिएकै थिए । खटिइरहेका छन् ।

कपिलवस्तु जाने कुरा निकै चुनौतीपूर्ण थियो । शनिबारको दिन । बिहानै अध्यक्षज्यूको फोन आएन । काठमाडौं जाने बेला बिहान ५ बजे फोन आएको थियो । आज किन आएन ? खाना खाएर बसिरहँदा लौ कपिलवस्तु जाने भन्दै फोन आयो । बिहान बूढो भएर दिन तंग्रिँदै थियो । उखरमाउलो गर्मी मकवानपुरमै, कपिलवस्तुमा के होला ? दुई वटा एम्बुलेन्स र गाउँपालिकाका गाडी लिएर हामी कपिलवस्तु हिँड्यौँ । कहाँ जाने भन्ने फोनमा मात्र संकेत थियो । हुइँकिँदै पुग्यौँ कपिलवस्तु । त्यही दिन संयोगले कपिलवस्तुमा कोरोना भेटिएर अवस्था जटिल थियो ।

कपिलवस्तुका पत्रकार दाजु विकास बन्जाडेलाई फोन गरेँ । छिमेकमै कोराना भेटियो । क्वारेन्टिनमा बस्नु पर्ने अवस्था छ । किन आएको, नआउनू, बुटवलबाटै फर्कनू भन्नु भयो । हामी गाउँका जनता लिन आएको भन्यौँ । उखरमाउलो गर्मी, कपिलवस्तु पुग्दा जमिन बल्ने तापक्रम थियो । कृष्णनगर पुगेपछि जाने ठाउँ खोज्यौँ । प्रहरीमा सोधिखोजी गर्दै त्यहाँ पुग्नु नै थियो । दिउँसाको ३ बज्नै लागेको थियो । जनता आत्तिएर फोन गरिरहेका थिए ।

पीडामा पनि बार्गेनिङ
कृष्णनगर चौकी आसपासमा गुल्मी, पाल्पालगायतका भूगोलका युवाहरु टन्नै थिए । धेरैसँग मास्क पनि थिएन र कोरोनाको डर पनि देखिन्थेन । भोको पेट र अभाव भन्दा कोरोना ठूलो होइन सायद । गाडीहरु चलिरहेका थिए । हेटौंडा, चितवनमा जस्तो लकडाउन महसुस हुन्थेन । तर त्यहाँको दृश्य पीडादायी थियो । कयौँ दिनदेखि भारतबाट आइपुगेका युवाहरु गुल्मी, पाल्पा जाने भाडा नभएर छट्पटाइरहेका थिए । गाडीवालाहरु बार्गेनिङ गरिरहेका थिए, यतिमा जाने भए हुन्छ, नत्र हुन्न भन्दै । युवाहरु भनिरहेका थिए, होटल मात्रै खुलेको भए र खान बस्न पाउने भए एक महिनै कृष्णनगर बस्थ्यौँ, खानै नपाएर मरिने डर भयो देश आएपछि । तर त्यत्रो भाडा तिर्न सकिन्न । गाडीवालाहरु यस्तोमा पनि चौका हान्न लागिरहेका थिए । यो गजबको सेटिङ, मान्छे खान नपाएर मरिरहेका तर कमाउनेलाई कहाँ समस्या छ र ?

हाटबजार झैँ भिड
हामी कृष्णनगरको सीमामा पुग्यौँ । प्रहरी चौकीका एकजना सिपाहीले त्यहाँसम्म पुग्न मदत गर्नु भयो । भारतीय सीमामै पुगेका थियौँ । लगाइएको पिपिइले यति पोलिरहेको थियो कि, च्यातचुत पारेर फाल्न मन थियो तर डरका अगाडि गर्मी हारिरहेको थियो । निथ्रुक्क भिजेर हामी गाउँका जनता खोजिरहेका थियौँ । भारतीय शहरबाट आएकाहरु आँपका रुखमुनि छेल परेर पीडा भुल्दै थिए । काखे बालक र आमाहरुको हरिबिजोग देखेर पनि समवेदनाबाहेक केही मदत हुन सक्थेन । विभिन्न जिल्लाका स्थानीय तहका गाडीहरुः ट्रिपरसमेत जनता लिन आइरहेका थिए । त्यहाँ बसेका सशस्त्रका प्रहरी निरीक्षक भन्थे, ‘दुई दिनमा तीन हजार मान्छे आइसके । बसमा ल्याएर बोर्डरमा छाडिदिएको छ भारतले । हामीलाई पो तनाव ।’ पिपिइलगायतका सुरक्षा त कता हो कता, सशस्त्र र प्रहरीको टोली मास्कसमेत नलगाई जनताको सुरक्षामा थिए । लिन आउनेलाई बुझेर पठाउँदै थिए । हामीले लगेको मास्क त्यहाँ पुगेसम्म सबैलाई बाँड्यौँ । हाटबजार भन्दा ठूलो भिड थियो आँपका रुखमुनि ।

उन्नाइस र नेटवर्किङ
मकवानपुर कैलाशका ९ जना मान्छे लिन हामी गएका हौँ । उनीहरु आए । सबै एउटै उमेरका थिए, एउटै गाउँका पनि थिए । दुई वटा एम्बुलेन्समा ९ जना अट्छन् भन्ने अनुमान थियो । तर हामी जाँदाजाँदै मकवानपुरकै थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आआफ्ना गाउँका पनि मान्छे त्यहाँ रहेकाले ल्याउन भनिरहेका थिए । मकवानपुरको कैलाश गाउँका ९ जना एउटै वडाका थिए । हामीसँग भएका स्वास्थ्यकर्मीले सामान्य प्राथमिक प्रक्रिया पूरा गरेपछि अरु ४ जनाको खोजीमा रुपन्देहीको भैरहवा पुग्नु पर्ने भयो ।

सबै युवाहरु उमेर १९ देखि २३ भित्र वर्ष बताउँथे । भारतमा नेटवर्किङमा काम गरिरहेको बताउँथे । उनीहरु ठूलै चंगुलमा फसेको अनुभूत हुन्थ्यो । दशैँमा घर आए झैँ यति ठूला सुटकेश बोकेका थिए कि, एम्बुलेन्समा मान्छे अट्न गाह्रो भएका बेला यी लाहुरेका सुटकेस कसरी अटाउने ? उन्नाइस पुगेपछि नेटवर्किङका नाममा आफ्नै गाउँका युवाहरु पुगेकोमा चिन्ता भइरहेको थियो ।

निकै डराएका थियौँ
कपिलवस्तुबाट ९ युवा बोकेर हामी रुपन्देही आउँदा झमक्कै साँझ परिसकेको थियो । पिपिइ फुकालेर हिँडेका थियौँ । कपिलवस्तुबाट रुपन्देही आउँदा कतै लकडाउन महसुस भएन । मान्छे हिँडिरहेका छन् निर्बाध । हामी भने निकै डराएका थियौँ । किनभने मकवानपुरका नामटारका युवाहरुलाई गाउँमा ल्याएर कोरोना सार्ने भए भनेर कुरा काटिरहेका थिए । अध्यक्ष, दुई स्वास्थ्यकर्मी, म र चालक गाउँपालिकाको गाडीमा थियौँ ।
निथ्रुक्क भएको ज्यूलाई सेनिटाइजर छम्कँदै आयौँ । खानु न पिउनुको अवस्था । उता रुपन्देहीमा भएकाको फोन । यता जनप्रतिनिधिहरुबाट सोधनी । खाजा न खाना । हामी लुम्विनी हुँदै भैरहवा आइपुग्यौँ । यहाँ अरु ४ जना थिए । उनीहरुलाई लैजानु पर्ने थियो ।

कतै कोरानाले हामीलाई पो सुताउँछ कि, अध्यक्ष टंक मुक्तानको बानी, फेसबुकमा फोटो हालिहाल्ने । भाइ शिवकुमार काशीले फोन गरेर अब तपाईंहरुलाई क्वारेन्टाइनमा राख्ने भयो, टंकजीले फेसबुकमा लेखेको कुराले पत्रकारले कुरा गर्न थाले । मनहरीमा पनि गाह्रो हुने भयो । यसले पनि हामीलाई चिन्ता नै भयो । काम गर्न खोज्दा पनि किन समाज कुरा मात्र काटेर रमाइरहेको होला ?

स्कुलमा अर्को रमिता
रात परिसकेको थियो । सोधिखोजी गर्दै चिल्हिया मावि पुग्यौँ । त्यहाँका वडाध्यक्ष सहयोगी रहेछन् । हामीलाई मकवानपुरे भाइबहिनी बुझाउन बसेका । भातपानी छाडेर मास्क पनि नलगाइ वडाध्यक्ष खटिइरहेका थिए । गर्मी उस्तै, झ्याप्प लाइन गयो । स्कुलभरि युवा पुस्ताका १०० जना जति चिसो हावामा ज्यान फुक्काफाल गरिरहेका थिए । गर्मी, लामखुट्टे, अँधेरो र असुरक्षित बसाइ । भनिरहेका थिए, बोर भयो, मादल चाहियो, नाचगान गरौँ । हामी लिन गएकाहरु कतै हाम्रा हुन् कि भनेर उनीहरु स्कुलको बरण्डाबाट सोध्थे पनि । हाम्रा चैँ आएनन् भनेर असन्तुष्टि पोख्न किन चुक्थे र ? आलोचना त नेपालीको नशानशामा छ । यो रमिताबाट हाम्रा ३ जना ल्याउनु थियो । यहाँ त आए ४ जना । एकजना बढी ।

भैँसी र जोगीको कथा
कपिलवस्तुको कृष्णनगरबाट ल्याइएका ९ जना भन्न थाले, ‘यिनीहरुलाई कोरोना छ कि ? हामी एउटै गाडीमा नबसौँ ।’ त्यसपछि हामीले ती ९ जनालाई एउटा एम्बुलेन्समा कोच्यौँ । एउटामा उनीहरुकै सुटकेस थियो । यी चारजनालाई त्यहाँ कोच्यौँ । हामीसँग कुनै विकल्प थिएन । सिट त हामी बस्ने गाडीमा पनि एउटा थियो । एम्बुलेन्स चालकसँग पनि अरु २ जना अट्थे । तर समय यस्तो आयो कि, उनीहरु देखेर उनीहरु नै डराउन थाले । हामी हाँसौँ कि रिसाउँ झैँ भयो । ज्यानको माया सबैलाई । भैँसी देखेर जोगी डराउने र जोगी देखेर भैँसी डराउने भने झैँ पो भयो ।

रुपन्देहीकै अर्को एउटा स्कुलमा पुगियो । त्यहाँ मकवानपुरका १३ जना जति थिए । तर हामीले ल्याउनु पर्ने १ जना । उसै पनि एम्बुलेन्स प्याक थियो । चिल्हिया माविमा ३ जना भन्दा चारजना भएकाले ठाउँ त थिएन । रात पनि छिप्पिने ताउरमाउरमा थियो । तर के गर्ने, छाड्न मन मानेन । अर्को स्कुलमा पुगेपछि एकजना थपिए । त्यहाँ व्यवस्था राम्रो रहेछ । मेयरले आएको, गएको हिसाब राम्रो राखेको । सशस्त्र र प्रहरीले सुरक्षा दिएको । अध्यक्षज्यूले बुझेर एक जनालाई जबर्जस्त कोचेर हामी हिँडदा घरबाट फोन आयो । भनियो, राति २ बजेसम्म आइपुग्छौँ । हामी अट्दैनौँ भन्दै असन्तुष्टि पनि थियो ।

नवलपरासीमा हावा खायौँ
मान्छेहरु सडकमै सुतेका छन् । निरास छन् । हिँड्दा हिँड्दा थाकेर लखतरान छन् । बाँच्न विरक्त लागेर होला, सडकमै सुतेका छन् । चालकले थोरै मात्र ख्याल गरेनन् भने सुतेकाहरु सोत्तर हुन्छन् । दया लाग्यो देखेर यो जिन्दगी । तर के गर्ने, केही उपाय थिएन ।

अँ, साच्ची कृष्णनगरमै तनहुँका २ जना पाका निकै गुहार माग्दै थिए । हाम्रो गाडी तनहुँबाट आउँदैछ । हामीलाई बुटवलसम्म लगिदिनुस् न । उनीहरुको गुहार स्वीकारेनौँ । भन्यौँ, हामी त भैरहवा हुँदै परासी निस्केर जान्छौँ । उनीहरुले त्यहाँ पनि जान तयार भएका थिए । तर डर थियो, को कहाँबाट आएको ? हाम्रो गाडी प्याक थियो । रात पर्न लागेका बेला । सक्दैनौँ भन्यौँ । मास्क पनि थिएन । हामीले दुई थान मास्क दियौँ । कस्तो बनायो मान्छेको जिन्दगीलाई कोरोनाले । खसीबोका च्यापिए झैँ १४ भाइबहिनी दुई वटा एम्बुलेन्समा । बाटोमा मान्छेको उस्तै बिचल्ली । नवलपरासीको खुला चौरमा रोकेर केहीबेर आराम ग¥यौँ । दिउँसो किनिएको एक कोसा केराले भोक मेटायौँ ।

मध्यराति १२ बजे हेटौंडा
१४ जना लिएर हामी सिधै हेटौंडाको स्वास्थ्य संस्थामा आइपुग्दा राति १२ बजेको थियो । कर्रा माविमा रहेको स्वास्थ्य संस्थामा १४ जनालाई जिम्मा लगायौँ । इन्चार्ज भोला चौलागाईंले उहाँहरु बुझेपछि हामी हाम्रा स्वास्थ्यकर्मी सन्ध्या साहको घर आमभन्ज्याङको सामरी तिर लाग्यौँ । उहाँहरुलाई त्यहाँ पु¥यायौँ ।

सन्ध्याका बुबा राति चिया पकाउन तयार हुनुहुन्थ्यो । १ बाट पनि घडीको सुई नाघिसकेको थियो । हेटौंडाबाट त्यहाँ पुग्दासम्म सन्ध्या बाबालाई कालो चिया बनास्यो भन्दैथिइन् । तर हामी यस्तो लखतरान थियौँ कि, सन्ध्या र अर्की सहकर्मीलाई ओरालेर हुइँकियौँ । सन्ध्याका बाबा सत्यनारायण साह तलै ओर्लिएर चिया पिउन आग्रह गर्दै हुनुहुन्थ्यो । अरु भए कहाँ छिर्न दिन्थे रे कपिलवस्तुबाट आएकालाई । एउटा स्वास्थ्यकर्मी भएकाले सत्यनारायण साहको स्वागत थियो । तर हामी घर पुग्न हतारिएका थियौँ । हिड्यौँ । कालोचिया र सत्यनारायण साहलाई नमस्कार गर्दै ।

राति नुहाइधुवाइ
घर पुग्दा सवा २ बजेको थियो । नुहाइधुवाइ गरियो । तातो चिया पकाउन भने श्रीमतीलाई । भनेँ, ‘आज मलाइ एक्लै छाडिदेऊ, छोरीतिर जाऊ ।’ सबै कपडा एउटा भाँडोमा राखेँ र भनेँ, ‘भोलि मै धुन्छु है, नछोऊ ।’

गाउँका १४ जना युवालाई भारतीय सीमाबाट उद्धार गरेर त ल्यायौँ । हामीलाई क्वारेन्टिनमा जाक्नु पर्छ भन्नेहरु मस्त निदाइरहेका थिए । पुगियो, आइयो, हेरियो, भोगियो । केही पत्रकाहरु, कतिखेर आइपुग्ने, हामी भिडियो खिच्न पाउँछौँ कि भन्दै अध्यक्ष टंक मुक्तानलाई फोन गर्दै थिए । हामी आइपुग्दा उनीहरुले थाहै पाएनन् । खोइ, राम्रो गरियो कि, नराम्रो ? कतै कोरोना बोकेर आयौँ कि ? मनमा संशयले घर गरिरह्यो ।

नेटवर्किङमा युवा जवानी
भारतमा अनेक नेटवर्किङ कम्पनीहरु छन् । तिनको मक्सद नेपाली युवायुवतीलाई फसाउनु हो । काठमाडौं रहँदा मैले केही गायकहरुलाई पनि ट्र्याकिङ गर्दै थिएँ । उनीहरु पनि दोहोरी रेस्टुराँमा आएका युवायुवतीलाई नेटवर्किङका नाममा भारत पु¥याउँदै छन् । यहाँबाट १९ कटेका युवायुवती लगिन्छ । ५ देखि ७ दिन रमाइलोसँग बिताउन दिइन्छ । त्यसपछि नेटवर्किङ पढाइन्छ ।

अलि अघि झापातिरकी एउटी टेलिभिजन पत्रकार बहिनीले मलाई ‘सिक्किम आइसिन’ निकै जोड गरेकी थिइन् । हरेक राति भन्थिन्, ‘हजुरजस्तो कन्भिन्स पावरवाला कति टिभीमा भोकै कराइसिन्छ ? आइस्यो, ५ दिन म राख्छु, घुमाउँछ, मेरो जिम्मा, त्यसपछि हजुरको लाइफस्टाइल अर्कै हुन्छ । हजुरले भनेपछि को नमान्ने ? उनले जम्मा ५ हजार रुपैयाँ लिएर काँडकभिट्टा आउन भनेकी थिई ।

त्यसपछि बानेश्वरमै पनि केही पीडितहरु आएका थिए, नेटवर्किङका नाममा ठगिएँ भन्दै । १४ हजार, २८ हजार, ४२ हजार यसरी सानो पैसाबाट ठगिन शुरु हुन्छ । हामीले ल्याएका सबै उस्तै थिए, भर्खरका केटाकेहीहरु । टाटु खोपेका, हेर्दै शहरिया भरिया तर तिनको जिन्दगी निकै जहरयुक्त भइसकेकामा हाउभाउ, शरीर हेर्दा हामी बुझ्न सक्थ्यौँ । मैले यिनै कुराहरु अध्यक्ष टंक मुक्तानलाई भनेँ । भारत नै पुगेर स्टिङ अप्रेसन गर्ने मेरो योजना पनि थियो जनता टेलिभिजनमा हुँदा ।

आफ्नै गाउँका भाइबहिनीको टिठलाग्दो जिन्दगीले नराम्ररी झस्कायो । टंक मुक्तान भन्छन्, ‘फर्केका जति सबैको हुलिया, ज्यान, उमेर र काम उस्तै छ दाइ, सबै नेटवर्किङ भन्छन्, भारतले नेपाली पुस्तालाई त सिध्याइसकेछ त ।’ हामी गम्भीर हुने बेला भएको छ ।

६ सय ४० किलोमिटर यात्रा
हामीले त्यो दिन मकवानपुर, चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु हुँदै मकवानपुर फर्कँदा ६ सय ४० किलोमिटर यात्रा गरेछौँ । अझ बिहानै मनहरीबाट सिडियो भेट्न आएकाले टंक मुक्तानले ७ सय २ किलोमिटर यात्रा भयो भने ।

सोच्नुस्, ६ सय ४० किलोमिटर यात्रा गरेर राति २ बजे घर पुग्नु आफैँमा आराम अभाव हो । दिनभर गर्मीमा र राति चिसोमा नुहाइधुवाइ राम्रो पनि होइन । ज्वरोलाई निम्तो नै थियो । तर यो १६–१७ दिनमा ज्वरो आएन । दूरी कायम गरियो । मास्क लगाइयो । खानपानमा ख्याल गरियो । कोरोना परीक्षण गरियो ।

कोरोनाको डर भन्दा बढी यतिखेर युवापुस्तालाई भारतले नेटवर्किङको नशा लगाइरहेकामा चिन्ता छ । यी युवालाई गाउँमै कसरी राख्ने ? कसरी छुटाउने नेटवर्किङका नाममा भइरहेको गलत कुलतबाट ? आएका युवालाई कसरी फेरि यहीँ राख्ने, कतै २ महिनापछि फेरि उतै जाने पो हुन् कि ?

[email protected]

टिप्पणीहरू