खानेपानी पैंचो मागेर खानुपर्ने यस्तो विडम्बना

खानेपानी पैंचो मागेर खानुपर्ने यस्तो विडम्बना

-शंकर श्रेष्ठ

सदरमुकाम धादिङबेसीका बासिन्दा पानी पैँचो मागेर चलाउन बाध्य छन् । नीलकण्ठ नगरपालिका–३ शान्तबजारकी अम्बिका भट्ट भन्छिन्– ‘सदरमुकाममा बसेको भन्नु मात्रै हो, पानी पैंचो मागेर चलाउनु हाम्रा लागि सामान्य भइसक्योे ।’

सदरमुकामका प्रायः घरका छतका ट्याङ्कीमा पानी नचढेको बर्षाै वित्यो । अहिले अधिकांशले डाइरेक्ट लाइनबाट पानी छुटाउने गरेका छन् । ‘२०६२ सालमा घर बनाउँदा धाराकै पानीले घर ढलान गरियो, छेलोखेलो पानी पुग्थ्यो । ७० सालसम्म पनि जेनतेन पानीले धानेकै थियो’, भट्ट भन्छिन्–‘पाँच÷छ वर्षदेखि खानेपानीको साह्र्रै दुःख छ ।’

खानेपानी उपभोक्ता समिति र कर्मचारीकै कमजोरीले पनि समस्या जटिल बन्दै गएको उपभोक्ताहरुले गुनासो गरेका छन् । कस्को घरमा पानी बाहिरैबाट थाप्छ, कस्को घरमा मिटर प्रयोग गर्छ कठाइका साथ अनुगमन गरेर भएका पानी व्यवस्थापन गर्ने हो भने पनि केहीसम्म समस्या समाधान हुनसक्ने उपभोक्ताहरुले नै बताएका छन् । खानेपानी पाइपको विस्तार तथा पानी वितरण वैज्ञानिक ढंगबाट हुन नसक्दा ट्याङ्कीमा पानी हुँदा पनि खानेपानीको समस्या हुँदै आएको छ । खानेपानीको मुहानमा पानीको समस्या नभएपनि वर्षाैं पुरानाे पाइप लाइनबाट खानेपानी वितरण गर्दा बढ्दो जनसंख्याको चाप पानीले धान्न नसकेको हो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ जिल्लाकै सदरमुकाम हो । यहाँ अहिले सानाठूला तीन हजार घरमा २० हजारभन्दा धेरैको बसोबास छ । एकाध बाहेक सबै सरकारी कार्यालय सदरमुकाममै छ । धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अनुसार दैनिक ५० लाख लिटर पानीको माग छ । तर २५ लाख लिटर मात्रै पानी वितरण हुँदै आएको उपभोक्ता समितिका व्यवस्थापक रमेश पौडेलले जानकारी दिए ।

धादिङबेसीमा खानेपानी अभाव बर्षेनी बढ्दै जानु वर्षाैं पुरानो पाइप लाइनबाट आएको पानीले बढ्दो जनसंख्याको चाप थेग्न नसकेको हो । सदरमुकामदेखि ८ किलोमिटर टाढा नीलकण्ठ–२ को सातमुले र ६ किलोमिटर टाढा केराबारीको मूलबाट पानी ल्याइएको छ ।

२०३५ सालमा पाँच सय जनाको लागि स्टमेट गरेर ल्याइएको पानीले नै अहिलेसम्म सदरमुकामबासीको तिर्खा मेटाउँदै आएको छ । ‘बढ्दो जनसंख्या र वर्षाै पुरानो खानेपानीको क्षमता बिस्तार नहुँदा उपभोक्ता समितिलाई सदरमुकाम धादिङबेसीमा मागअनुसारको खानेपानी आपूर्ति गर्न चुनौती थपिएको हो’, उपभोक्ता समितिका व्यवस्थापक पौडेलले भने ।

२०५६ देखि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । २०६२ सालमा नौ सय घरधुरीलाई पुग्ने गरी सुधार बिस्तार गरियो । ‘२५ वर्षअघि अनुमानको भरमा स्टमेट गरेर ल्याइएको खानेपानीले धानेन भन्नु लाजमर्दाे कुरा हो’, नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ भन्छन्–‘यसअघिको राजनीतिक खिचातानीले नै सदरमुकाममा अहिले पानीको समस्या जटिल बनेको हो ।’
कोही बालबच्चा पढाउन, कोही रोजगारीको सिलसिलामा सदुमुकाममा कोठा भाडामा बस्छन् । घर भाडामा बस्नेहरु झनै पानी अभावको बढी मारमा छन् । धारामा आउने पानीले घरबेटीलाई नै नपुग्ने भएकाले भाडामा बस्नेहरु अझ बढी पानीको समस्यामा देखिन्छन् ।

जलवायु परिवर्तन र मुहान आसपासको वनजंगल विनाश हुँदा नजिकका धारा, कुवाहरु पनि सुक्न थालेपछि बजारबासी थप समस्यामा परेका छन् । भलबाढी र पहिरोले कहिले पाइप लाइन, कहिले ट्याङ्कीमै क्षति पुर्याउँदा बजारबासीले विगतका वर्षभन्दा यो वर्ष झनै खानेपानी संकट व्यहोर्नु परेको छ ।

खानेपानी समस्या समाधान गर्ने नयाँ योजना

सदरमुकाम क्षेत्रभित्रको खानेपानी समस्या समाधान गर्न अहिले स्थानीय सरकार पनि जुर्मुराएर लागि परेको छ । पाइप विस्तार तथा व्यवस्थापनको निम्ति सहलगानी कोषको ७० प्रतिशत र स्थानीय सहभागिता ३० प्रतिशत हुने गरी काम सुरु गरिसकिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र नीलकण्ठ नगरपालिकाको ४५ करोड ६५ लाख लगानीमा आवश्यकताअनुसार ट्याङ्की निर्माण गरी पाइप विस्तारसमेत गरिने छ ।

सातमुले र केराबारीको पुरानै मूलबाट पानीको क्षमता बढाउने र चुनपोलेको मूलबाट पानी ल्याउने योजनासहित आयोजना अघि बढेको हो । आयोजनाको सगुन कन्सट्रक्सन बुटवलले २९ करोड ४० लाख ३० रुपैँयामा ठेक्का सम्झौता गरेको छ । पाँच हजार एक सय ६४ निजी धारा हुनेछन् । यस आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४ र १२ का २५ हजार ६ सय २८ सेवाग्राही लाभान्वित हुने छन् ।

२०७९ साउन १३ गते समुन कन्सट्रक्सनबीच भएको सम्झौता अनुसार २०८१ जेठ १२ भित्रमा आयोजनाको काम सम्पन्न हुनेछ । नगरबासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न योजनाबद्ध ढंगले अगाडि बढिरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वैज्ञानिक तथा आधुनिक तरिकाबाट पानी वितरण हुन नसक्दा समस्या थपिएको छ । ‘भएका पानीको पनि समुचित सदुपयोग हुन नसक्दा समस्या थपिएको हो’, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले भने– ‘नेपालकै उत्कृष्ट खानेपानी वितरण स्थापना गर्ने गरी बजार क्षेत्रको खानेपानी पाइप लाइन विस्तार गरिनेछ ।’

तोकिएकै समयमा गुणस्तरीय ढंगले योजना निर्माण सम्पन्न गरिने र तत्कालको निम्ति भएका पानी व्यवस्थित गरेर समस्या थप जटिल बन्नबाट रोकिने ढुंगानाले बताए । बजार क्षेत्रको अनुगमन गरी सबैलाई समान ढंगले पानी वितरणको चाँजो मिलाइने उनले बताए ।

टिप्पणीहरू