अटो चालकले मनी ट्रान्सफरको २ लाख लुटे

अटो चालकले मनी ट्रान्सफरको २ लाख लुटे

धारिलो हतियार देखाएर मनि ट्रान्सफरबाट पैसा चोरी गर्नेलाई चितवन प्रहरीले पक्रेको छ । भरतपुर महानगरपालिका–१६ बस्ने ४२ वर्षीय मिनमान सुनारलाई चोरी आरोपमा नियन्त्रणमा लिइएको छ ।

अस्ति सोही नगरपालिका–४, फनपार्कमा रहेको नारायणी मनि ट्रान्सफरको कोठामा छिरेर काउन्टरमा रहेकी स्टाफलाई उनले धारिलो हतियार देखाइ मार्ने धम्की दिएका थिए । त्यसपछि दुई लाख चार हजार २५० लुटेर फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई स्थानीय चौबिसकोठीमा बा.प्र.०३–००१ ह १२६३ नम्बरको अटोमा बसिरहेको अवस्थामा हिजो दिउँसो साढे १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी सोही अटो चालक भएको पनि पुष्टि भएको छ ।

प्रहरीका अनुसार सुनारले घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि उनको शरीर खानतलासी गर्दा साथमा १३ हजार ६०५ रुपैयाँ भेटिएको हो । त्यसपछि उनको डेराबाट एक लाख ६७ हजार रुपैयाँ बरामद भएको छ ।

त्यस्तै, धारिलो हतियार दाउ २ थान, नगद, झोला तथा नागरिकता बरामद गरिएको छ । सुनारले चोरी गर्दा लगाएको कपडा भने स्थानीय धान खेतमा लुकाई राखेको अवस्थामा कट्टु १ थान, टिसर्ट १ थान, जुत्ता १ जोर, कालो कलरको मास्क १ थान, पञ्जा १ थान र एनजी लेखिएको कालो कलरको हेल्मेट १ थान पनि बरामद गरिएको छ ।

सुनारलाई नियन्त्रणमा लिएर उनीविरुद्ध डाँका चोरी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू