सेनामा अर्को छानबिन शुरु

सेनामा अर्को छानबिन शुरु

सेनाको सैनिक सामग्री उत्पादन महानिर्देशनालयअन्तर्गतको ईएमईमा अनुसन्धान र छानबीन अघि बढेलगत्तै कामको सहजिकरणका निम्ति  वित्त विभागका कर्मचारीसहित इन्फेन्ट्रीतर्फका महासेनानी खटिएका छन् ।

स्रोतकाअनुसार सम्भवतः त्यहाँ ठूलै हाकिमसँग इन्क्वायरी भइरहेको छ । गाडी,एसी,मेशिनरीलगायतका सामानको रेखदेख पनि यसैबाट हुने गर्दछ । दुई तारे जर्नेल अजितबरसिंह थापा उक्त महानिर्देशनालयका हाकिम हुन् । उनीमाथि आवश्यक छानबीन र अनुसन्धान भएको बुझिएको छ । थापा पूर्व प्रधान सेनापति धर्मपालवरसिंह थापाका छोरा हुन् ।

नेपाली सेनाले मातहतका विशेषगरी हस्पिटल,हवाई सुरक्षा,फास्ट ट्रयाक,सैनिक सामाग्री उत्पादन महानिर्देशनालयमा भएका अनियमितताहरू खोतल्दै आइरहेको छ । पछिल्लो समय नेपाली सेना सैनिक सामाग्री विशेषगरी गोलाबारुद उत्पादनमा लगभग आत्मनिर्भर जस्तै छ । ती सामाग्रीको लागि कतिपय कच्चा पदार्थ यसअघि जर्मनीबाट ल्याउने गरिएको थियो । अहिले त्यहि कच्चा पदार्थको खरिदमा घोप्लाबाजी भएको आशंकामा छानबिन भएको हुनसक्ने बताइएको छ । विगतमा यस्तो सामाग्री उत्पादनमा सोझै राजदरबारको विशेष चासो हुने गर्दथ्यो ।

चीनबाट हतियार र सवारी साधन खरिद गरेपछि भारतले २०४५ सालमा नाकाबन्दी लगाएदेखि नै सेनाभित्र हतियारको विषयमा सँधै उतार चढाव हुनेगरेको छ । पछिल्लो समयमा सेनालाई कहिले भारतले र कहिलेकाँही युरोपेली मुलुकहरूबाट पनि हतियार प्राप्त हुने गरेको छ । तर, ती हतियार मर्मतका लागि आवश्यक पार्टस् उपलब्ध गराउन भने किचकिचको सामना गर्नुपरेको अवस्था छ ।

टिप्पणीहरू