हिजो अलग अलग बस्दा पनि कुरो टुंगिएन,आज ३ बजे नेताहरु फेरि बस्दै

हिजो अलग अलग बस्दा पनि कुरो टुंगिएन,आज ३ बजे नेताहरु फेरि बस्दै

हिजो बिहान ९ बजेदेखि बेलुका अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सीट भागबण्डा गर्न बाँकी ७५ सीटबारे कुनै निर्णय गर्न नसकेपछि नेताहरु साँझ साढे ५ बजे उठेर लाखापाखा लागेका थिए ।

‘सहमति जुटाउने अधिकतम प्रयास भयो तर नेपाली काँग्रेसको अकर्मण्यताको कारण दिनभर छलफल हुँदा पनि केही प्रगति भएन,’ नेकपा माओवादी केन्द्र निकट स्रोतले बतायो । सहमति जुटाउने भन्दै दिनभर बालुवाटारका विभिन्न कोठामा काँग्रेस–माओवादी,काँग्रेस–जसपा, काँग्रेस–एकीकृत समाजवादी, माओवादी–समाजवादीबीच अलग अलग कुराकानीसमेत गरिएको थियो । तर,न सामूहिक न द्विपक्षीय कुनै पनि छलफलमा सहमति हुन नसकेको बताइन्छ । कतिपय दाबीमा समेत सबैले कुराकानी गरेका थिए । अन्तिममा टसको मस भएनन् ।

निर्वाचनको बन्द सूची पेश गर्ने दिन नजिकिँदै गएकाले गठबन्धनबीचको सीट बाँडफाँडको निर्णय टुंग्याउन आज दिउँसो ३ बजे फेरि बैठक डाकिएको छ ।

जति छलफल गरे पनि समस्याको गाँठो संख्यामा परेको जनता समाजवादीका नेताहरुको बुझाइ छ । एक एक गरेर द्विपक्षीय चासोका विषयमा कुराकानी भएको र कतिपय दावीमाथि छलफल भए पनि काँग्रेस कुरो नबुझेको ढंगले प्रस्तुत भएपछि बैठक विना निश्कर्ष टुंगिदै आएको छ ।

“काँग्रेस–माओवादी,काँग्रेस–जसपा, काँग्रेस–एकीकृत समाजवादी, माओवादी–समाजवादीबीच अलग अलग कुराकानीसमेत गरिएको थियो । तर,न सामूहिक न द्विपक्षीय कुनै पनि छलफलमा सहमति हुन नसकेको बताइन्छ ।”

कार्यदल र शीर्ष नेताहरुबीच भएको छलफलमा काँग्रेसको रवैया कुनै फरक नदेखिएको अन्य दलका प्रतिनिधिहरुको बुझाइ छ । उनीहरु भन्छन्,‘काँग्रेसले संख्या तोक्न चाहेन । ९० सीटमा भएको सहमतिमा ऊ जसरी निर्धक्कसँग प्रस्तुत भयो,बाँकी ७५ सीटमा हलो अड्काएको छ ।’

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको उपस्थिति थियो ।

त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादव,काँग्रेस नेताहरु रामचन्द्र पौडेल,पूर्णबहादुर खड्का तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको पनि सहभागिता थियो । बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,हिमाल पुरीलगायतको उपस्थिति रहे पनि ठोस निर्णय हुन सकेन ।

बैठक बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म बसेको थियो । हिजो बिहानको खाना र दिउँसोको खाजासमेत नेताहरुको निम्ति बालुवाटारमा व्यवस्था गरिएको थियो । तर उहाँहरुले सीट बाँडफाँडको टुंगो भने लगाउन सक्नुभएन ।

टिप्पणीहरू