डिभोर्सको उपलक्ष्यमा महँगो रिसोर्टमा सम्बन्ध विच्छेद समारोह

डिभोर्सको उपलक्ष्यमा महँगो रिसोर्टमा सम्बन्ध विच्छेद समारोह

विवाहको निम्तो र निम्तो कार्ड हामीमध्ये धेरैले देखेको,सुनेको,पाएको र बाँडेकै विषय हो । तर, अहिले सम्बन्ध विच्छेदको खुशीयालीमा पनि निम्तो बाँड्न थालिएको छ । त्यस्तो निम्तो विवाहमा जस्तै भव्य भोजको आयोजनामा सहभागिताको लागि गरिएको बताइन्छ ।

यो कार्यक्रम सक्कली हो या नक्कली आधिकारिक रूपमा पुष्टि त भएको छैन तर भारतमा अहिले त्यस्तै निम्तो चर्चाको शिखरमा छ । मध्यप्रदेशको राजधानी भोपालमा आगामी आइतबार विवाह विच्छेद समारोहको आयोजना गरिएको छ ।

भाइ वेलफेयर सोसाइटीले तयार गरेको आकर्षक निम्तो कार्डमा अंग्रेजीमा ‘डिभोर्स इन्भिटेसन’ भनिएको छ । भारतमा विकराल समस्या बनेको दाइजो प्रथाबाट प्रताडित महिलाले गरेको सम्बन्ध विच्छेदपछि उक्त समारोहको आयोजना गरिएको बताइन्छ ।

सम्बन्ध विच्छेद गरिएका महिला र पुरुषको नाम उल्लेख नगरे पनि उक्त सोसाइटीले यस प्रकारको समारोह मुलुकमै पहिलो पटक आयोजना गरिएको दाबी गरेको छ । विवाह समारोहमा कन्यादान, भोजलगायतको कार्यक्रम उल्लेख गरेझैँ यो कार्डमा पनि ठ्याक्कै त्यसको उल्टो कार्यक्रम राखिएको छ ।

सम्बन्ध विच्छेद समारोहमा जयमाला विसर्जन,सद्वबुद्धि शुद्धिकरण यज्ञ,जन्ती –बारात) निर्गमन,जेन्ट्स संगीत,मानव सम्मानको निम्ति ७ कदम र ७ प्रतिज्ञा गरिने उल्लेख छ । त्यसपछि प्रमुख अतिथिले सम्बन्ध विच्छेदको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम राखिएको पनि उल्लेख छ ।

टिप्पणीहरू