युवकको रहस्यमय मृत्यु

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ खैरेनीका ३२ वर्षीया राम सिंह थारूको रहस्यमय मृत्यु भएको छ ।

जेठ २१ गते साँझ घरबाट केही समयमा आउने भन्दै निस्किएका थारू जेठ २२ गते बिहान घरनजिकै रहेको गोरु गोठमा मृत अवस्थामा फेला परेका थिए ।

बिहानै रहस्यमय ढंगले थारू मृत अवस्थामा भेटिएपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा घर नजिकै गाईगोठमा रहेको खाटमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।

मृतकको घाँटीमा डोरीले बाँधेजस्तो डाम देखिएको र लास नजिकै रगतको थोप्ला देखिएकाले उनको मृत्यु नभएर हत्या भएको आफन्तको आशंका छ ।

घटनापश्चात् मैनापोखरबाट आएको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएको थियो ।

हालसम्म पोष्टमार्टमको रिपोर्ट नआए पनि उनको कोही, कसैबाट हत्या गरिएको उल्लेख गर्दै सत्य तथ्य छानबिनका लागि प्रहरीमा उजुरी गर्ने थारूका साला शुद्ध चौधरीले बताए ।

यसबारे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख केदार रजौरेले घटनाबारे प्रहरी संवेदनशील रहेको बताए । हत्याको आशंकामा अनुसन्धान अघि बढाएको उनले बताए । घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिने प्रयासमा प्रहरी रहेको उनले बताए ।

टिप्पणीहरू