खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सुकोट गाउँपालिकाले कृषियोग्य जमिन बाँझो राख्न नपाइने प्रावधान ल्याएको छ । गाउँपालिकाले कृषियोग्य जमिनमा खेती गर्नैपर्ने प्रावधान ल्याएको हो ।

गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा बनेको ऐन २०७७ लाई संशोधन गर्दै यो व्यवस्था गरेको छ । संशोधित ऐनमा कृषियोग्य जमिन बाँझो रहेमा कुनै फार्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने उल्लेख छ ।

कृषिलाई बलियो र आत्मनिर्भर बनाउन यस्तो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । कृषकको उत्पादन सामग्री बजारसम्म पुर्याउनका लागि गाउँपालिकाले नै सहयोग गर्ने उनको भनाइ छ ।

निर्वाहमुखी कृषिलाई आधुनिकीकरण बनाउनुपर्नेमा उनको जोड छ । ‘सिचाईं, मल र बजारको अभावका कारणले खेत बाँझो राख्ने क्रम बढेपछि यो निर्णय गरिएको हो, यसका लागि गाउँपालिकाले सक्दो सहयोग गर्नेछ’, उनले भनिन् ।

साथै, गाउँपालिकाले किसानलाई प्रेरित गर्न किसान कार्ड र पेन्सनको प्रबन्ध मिलाएको छ । खाद्यबालीमा विषादी न्यूनीकरणका पनि कार्यक्रमहरु ल्याएको अध्यक्ष पाण्डेले जानकारी दिइन् । पछिल्लो समय युवा जनशक्ति सबै विदेशतिर पलायन हुँदा खेतीमा असर देखिएको उनको बुझाइ छ ।

टिप्पणीहरू