एकले अर्काको छारष्ट गर्दै मिश्र र सिंह

एकले अर्काको छारष्ट गर्दै मिश्र र सिंह

सामाजिक सञ्जालबाटै बेलाबेला आपसमा कटाक्षपूर्ण टिप्पणी गर्ने गरेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टी छोडेर राप्रपामा मिसिने तरखरमा रहेका रवीन्द्र मिश्रबीच फेरी त्यस्तै घोचपेच चलेको छ ।

काठमाडौँ–१ का सांसद सिंह र त्यहि क्षेत्रमा चुनाव लडेर हारेका मिश्र निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक विषयलाई लिएर सञ्जालमै भिड्न थालेका हुन् । आज बिहान एक सार्वजनिक कार्यक्रममा सिंहले आफ्नो पार्टी टिकाउन नसक्नेले देशको विकास गर्न नसक्ने भन्दै मिश्रमाथि व्यङ्ग्य गरेका थिए । अपरान्ह त्यसको जवाफ दिएका मिश्रले उल्टै १५ वटा प्रश्न सोध्दै सिंहमाथि दर्जनौँ आरोप लगाएका छन् ।

बिहान मिश्रको नाम नलिइ सिंहले भनेका थिए, ‘नयाँ दलहरू के भन्छन् भने–पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौं । आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक÷दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला ?’

त्यसले चिढिएका मिश्रले फेसबुकमा लेख्दै सांसद र पार्टी नेताको रुपमा सिंहले खेलेका भूमिकालाई लिएर प्रश्न उठाएका हुन् । सामाजिक सञ्जालमा सक्रिय मिश्रले आफ्ना राजनीतिक प्रतिष्पर्धी सिंहलाई राजनीतिबाटै राजीनामा दिनसमेत सुझाएका छन् ।

यी हुन् मिश्रका १५ प्रश्न :

१. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो ? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?

२. संसद भनेको देशको नीति–नियम बनाउने थलो हो । तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयो ? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?

३. तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद, राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्राफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो ? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो !

४. काठमाडौँ सम्पदाको शहर हो । सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनुभयो कि ?

५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ । तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो । अहिले छुन पनि हिचकिचाउनु पर्छ । नदिनाला सफाईका लागि केही काम गर्नुभयो ।

६. त्यो सांसद विकास कोष भन्ने छ नि ? त्यो खासमा बहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो । तपाईंले त्यो लिनु भयो कि भएन ? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पथ्र्यो नि, हगी?

७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि ? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो ? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा तीन वर्षमा तीन सय दिन तालाबन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?

८. इमानदार र स्वच्छ छबि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि ?

९. साँच्ची, नेपाली पुरूषसँग विवाह गरेलगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ?

१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन । त्यो त गम्भिर विषय हो नि । अलि चासो दिनु पर्थेन ?

११. हुन त, बिचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ । त्यो त अति भएन र भन्या ?

१२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ?

१३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?

१४. झण्डै एउटा कुरा बिर्सिएको । गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध शृंखलाबद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे ? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ । छ भने बताइदिनोस् न, कृपया ।

१५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नुभएछ । मैले त बीपी, कृष्णप्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ । गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ ।

तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाए कोही नबस्ने देश बनाउनुभयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो । खै के भनुँ ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?

टिप्पणीहरू