उत्तरी नाका ठप्प, दशैंको मुखमा व्यवसायी दिक्क

उत्तरी नाका ठप्प, दशैंको मुखमा व्यवसायी दिक्क

दशैंलक्षित अर्बौंका सामान चिनियाँ नाकामा अड्किएपछि व्यवसायीहरु मर्कामा परेका छन् । दशैंअघि बेच्नुपर्ने अर्बाैंका सामान नाकामै रोकिएपछि उनीहरु चिन्तित बनेका हुन् । लामो समयदेखि नाकामा रोकिएको सामान छुटाउन पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

प्रत्यक्षरुपमा व्यवसायीहरु मारमा पर्दासमेत सरकारको ध्यान पुग्न नसकेको उल्लेख गर्दै महासंघले व्यवसायीहरुका समस्या समाधानका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । मुलुकमा उद्योगी तथा व्यवसायीमैत्री वातावरण नहुनुका कारण अर्बौंको लगानी गरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उसले भनेको छ, ‘फितलो राज्य संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नुपरेको छ ।’ सयौं मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौंका सामानहरु सड्ने, कुहिने र बिग्रने अवस्थामा रहेको उसले जनाएको छ ।

बजारमासमेत सामानको हाहाकार देखिएकोमा सरकार लाचार भएर बस्नु जिम्मेवारीपनको पराकाष्ट भएको उसको बुझाइ छ । साथै, धेरै उद्योगी–व्यवसायीहरु बैंकको ब्याजदर तिर्नसमेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।

टिप्पणीहरू