युद्धको नेतृत्व गर्नेले शान्तिको महत्व बुझ्न सक्छ : प्रचण्ड

युद्धको नेतृत्व गर्नेले शान्तिको महत्व बुझ्न सक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धको नेतृत्व गर्नेहरुले सबैभन्दा बढी शान्तिको महत्व बुझ्न सक्ने बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उहाँले जनयुद्धको कमाण्डरदेखि शान्ति प्रक्रियाको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको भन्दै अब मुलुकको समृद्धि र आर्थिक क्रान्तिका लागि बाँकी जीवन समर्पित गर्ने अठोट गरेको पनि बताउनुभयो । यसमा आफूलाई गौरवशाली ठानेको प्रचण्डको भनाइ छ ।

‘हामी निरंकुशताको विरुद्ध लडेका हौँ, अहिले पनि जारी छ हाम्रो लडाईं । मैले नै नेपालमै नभएको युद्धको नेतृत्व गरेँ, मैले युद्धलाई शान्ति प्रक्रियामा ल्याएकै हो’, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भन्नुभयो, ‘मैले नेपालको राजनीतिमा भएका ठूला ठूला घटनाको नेतृत्व गरेको छु । मेरो अन्तिम अठोट भनेको शान्ति ,समृद्धि र आर्थिक विकास नै हो ।’

आफ्नो जीवनको अनुभव सुनाउँदै उहाँले हजारौ युवाहरुले अठोट गर्ने हो भने नेपाललाई आत्मनिर्भरसहितको सम्मृद्ध मुलुक बनाउन सकिने विश्वास पनि गर्नुभयो । आफ्नो परिवारलाई पहाडमा खान नपुगेर कास्कीबाट चितवन बसाई सरेको प्रसङ्ग निकाल्दै उहाँले दृढ अठोटकै कारण दुई पटक मुलुकको प्रधानमन्त्री बन्न सकेको बताउनुभयो ।

‘म तपाईंहरुले हेर्नुभयो भने साँच्चै नै पहाडमा खान नपुगेर चितवन बसाइसराइ गरेर आएको परिवारको एउटा बच्चा । दुईचोटी त प्रधानमन्त्री भइसकेँ गणतन्त्र नेपालको’, प्रचण्डले भन्नुभयो, ‘कसरी यो सम्भव भयो ? यसो हेर्यो भने आफैंलाई सपना हो कि विपना जस्तो लाग्छ । तर हुँदो रहेछ ।’

टिप्पणीहरू