जंगलमा वृद्ध बिते, बायाँ गोडा बाघले खाएको आशंका

जंगलमा वृद्ध बिते, बायाँ गोडा बाघले खाएको आशंका

चितवनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीमाथि मध्यवर्ती सामुदायिक वन अमलियामा भैँसी चराएर घर फर्किएको बेलामा बाटोमा बाघले आक्रमण गरेको हो ।

हिजो अधिकारी र उनका छोरा जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफूले भैँसी चराएर आउने भन्दै बुबालाई घर पठाएका थिए । अधिकारी घर फर्कँदै गर्दा बाटोबाटै बेपत्ता भएको सूचना आफन्तले दिएको प्रहरीले जनाएको हो ।

उनका छोरा भैँसी चराएर घर पुग्दा बुबा नआएको थाहा पाएपछि खोजी कार्य भएको थियो । खोजी गर्ने क्रममा अधिकारीले लगाएको टोपी, चप्पल र छाता जंगलमा फेला परेको थियो । बाटोमा रगतको टाटा समेत देखिएपछि परिवारले आज बिहान प्रहरीलाई खबर गरेका हुन् ।

अधिकारीको खोजीमा खटिएको प्रहरी टोलीले एक घण्टापछि बाघले खाएको अवस्थामा शव फेला पारेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार अधिकारीको शव बायाँ गोडा बाघले खाएको अवस्थामा फेला परेको छ ।

टिप्पणीहरू