गोर्खाली च्यापेर ब्रिटिश जब उत्तरतिर लाग्यो

गोर्खाली च्यापेर ब्रिटिश जब उत्तरतिर लाग्यो

– नारायणबाबु थापा (पुर्वएआइजी, सशस्त्र प्रहरी)

चीनको पूर्वदेखि पश्चिमसम्म हिँडेर पनि आरामले बस्न पाइन । सन् १८८९ मै कान्जुटी हुन्जा अपरेशनमा छ जना गोर्खाज् र सत्रजना काश्मिरी सिपाहीलाई लिएर लेह लद्दाखबाट लागें उत्तरी हिमाली खोंचतिर । किर्गिजलाई हुन्जाहरूले दिनुसम्म दुःख दिने रहेछन् लुटपाट गरेर, अपहरण गरेर र उस्तै परे ज्यानै लिएर । यारकान खोलामा रसियन क्याप्टेन ग्रोमोचेभ्स्की भेटिए । उनले गोरखाली सिपाहीहरूलाई हेर्ने इच्छा व्यक्त गरे । गोर्खेहरू किन यस्ता होचा भन्दै थिए । मैले सबैभन्दा होचा लिएर आएको हो, अरु त सबै तिमीजस्तै ६ फिटे हुन्छन् भन्दिएँ । क्याप्टेनले अलग्गिने बेलामा शान्ति भए सेन्ट पिटस्बर्गमा भेटौंला कि युद्ध भएमा भारतीय फ्रन्टियरमै भेट होला भनेर जिस्क्याए । यसरी एशिया, मध्य एशिया, अझ तिब्बतसम्मै दुई साम्राज्यको ‘गे्रट गेम’ चलिरहेको थियो । त्यताबाट हुन्जाहरूको हालखबर बुझेर गिलगिट निस्कें । त्यहाँ हाम्रो राजनीतिक एजेन्सी स्थापना भइसकेको थियो ।

सत्रौं पास छिचोलेर डिसेम्बरमा काश्मिर उपत्यकातिर आइयो । साथमा रहेका गोर्खाले मलाई मनको कुरा भने । उसको पल्टनका गोर्खा अधिकृतले तिमीहरूको साहेबलाई तल–माथि मात्र भयो भने तिमीहरू कोही पनि नफर्कनू भनेर पठाएका रहेछन् । त्यस्तो थियो गुर्खाजको समर्पण पल्टन र सेवाप्रति । फर्किएपछि हवल्दार र नायकहरू प्रमोशनको सिफारिसमा परे, नगद पुरस्कारसमेत पाए ।

योङहस्ब्याण्ड बूढो भएको थिएन, बिहे गरेको थिएन । कहाँ बस्न दिन्थे हाकिमले त्यो बेला युवा अधिकृतलाई ! कि लडाइँमा व्यस्त हुनुपथ्र्यो कि विभिन्न स्थानको खोज र अन्वेषणमा कुदाइरहन्थे, जसले गर्दा साम्राज्यले हरेक पक्षको सूचना प्राप्त गथ्र्यो । सन् १८९० मा मलाई पामिर पठाइयो । जर्ज म्याकार्टिनीसँग चिनियाँ तुर्किस्तानको यारकान्द गएँ लेह भएर । यारकान्द त तिमीहरूको सिगात्से, ल्हासा भनेजस्तै थियो भारतीयको निम्ति । केही दिनपछि रुसी क्याप्टेन ग्रामोचेभ्स्की फेरि भेटिए त्यहीं । कति हिँड्नसकेका रुसीहरू र कति चासो परेको बेलायती गतिविधिबारे तिनलाई ? हामी कासगारतिर लाग्यौं । तीन वर्षपहिला भेटिएका रुसी कन्सुल पेट्राभस्कीसँग भेट भयो । संसारकै अथाह ज्ञान भएका र अझ मध्य एशिया, चीन, बेलायती भारतको त सबै जानकारी भइसकेका । चिनियाँहरूको बारेमा भने उनले विरलै राम्रा कुरा गर्थे किनकि त्यहाँ रहेका भ्रष्ट प्रशासक र सैनिक अधिकारीप्रति ती नकारात्मक थिए ।

त्यो बेला रुसी, चिनियाँ र बेलायती सबैको कन्सुलेट थियो कासागारमा । चिनियाँले आफ्नो भनेर दाबी गरे पनि सबैको चासो रहेको भूमि हो त्यो । युरोप, मध्य एशिया र चीनबीच व्यापारिक मार्गको मुख्य थलो, रेशम मार्गको द्वार । कासागारमै रहँदा हामीले युवा स्वीडिस फिरन्ते अन्वेषक सेभेन हेडिनलाई भेट्यौं । उनीबाट ज्यादै प्रभावित भएँ म । त्यही बेला फ्रेञ्च गेनार्ड र दुत्रियल पनि पूर्वी चीनतिर जान भनेर आए । बिचरा अभागी दुत्रेयल मध्यचीनतिरको भाग छिंघाइको सिनिङ नजिक लुटेराहरूबाट मारिए, उनको साथी गेनार्ड तीन वर्षपछि मात्र पेरिस फर्कन सके । म, पहिल्यै पूर्वबाट पश्चिम चीन आएको, अब फेरि उनीहरू पश्चिम चीनबाट पूर्वतिर लाग्न खोजिरहेका थिए । सबैको आकर्षण थियो त्यो बेला जस्तो भए पनि चीन ।

हामी पामिरतिर लाग्यौं । रुसीहरू पामिर आफ्नै भूमि हो भनेर दावी गर्थे । हुन त विश्वका सबै भूमि कसैका पनि हैनन् चाहे नदी, हिमाल, पहाड, ताल, जंगल या अरू । ती सबै प्रकृतिका देन हुन्, मान्छेले पछि मात्रै ओगटेका । रुसी कर्णेल योनुफले पनि मलाई रुसी भूमिमा छौ भनेर थर्काए । सेन्ट पिटस्बर्गमा रहेका हाम्रा राजदूतले रुसी सरकारसमक्ष गुनासो गर्न बाध्य हुनुप¥यो । पछि रुसी राजदूतले लण्डनमा क्षमासमेत मागे । पामिरतिरको यात्रा सकेर म करिब सत्र महिनापछि सन् १८९१ मा काश्मिर फर्किएँ गिलगिट हुँदै । फेरि एक सालपछि चित्राल जानुपर्ने भयो । सानो सुन्दर राज्य भएर पनि संधै किचलो भैराख्ने ठाउँ हो चित्राल । राजा अमान उलमुल्कको देहावसानपछि छोराहरूको शक्ति संघर्षले रक्तपात निम्त्याएको । तेरै देशको कोतपर्व, भण्डारखाल पर्वपछि हामीलाई आन्तरिक राजनीतिमा घुस्न सहज भएजस्तै त हो विभिन्न रजौटाहरूमा ब्रिटिश पकड बढ्दै गएको । राणाकालीन नेपालजस्तै राजादेखि जनतासम्म जम्मा एक दर्जन पनि लेख्न, पढ्न जान्ने कोही नभएका थिए चित्राली । त्यहाँबाट फर्केर लण्डन गएँ । ब्रिटिश सेनाका इन्टेलिजेन्स प्रमुख जनरल च्यापमान, भारतीय सेक्रेटरी लर्ड क्रस र लर्ड कर्जनसँग भेट भयो । बुबापछि मलाई जसले सबैभन्दा बढी प्रभावित गरे ती हुन् लर्ड कर्जन । भारत फर्केर फेरि चित्राल गएँ ।

अर्का दुई सय तिब्बती फौज मारिए । हाम्रा चार मारिए, तेह्र सख्त घाइते भए । गोर्खे र सिखले बहादुरीपूर्वक लडे । सायद १८,५०० फिटको उचाइमा लडिएको पहिलो लडाइँ हो कि यो ?

यसैबीच, बल्ल याेंगहस्ब्याण्डबाट हस्ब्याण्ड भएँ हेलेनसँग बिहे गरेर । सन् १८९७ तिर भारतमा ब्रिटिश उपनिवेशले उचाइ हासिल गरिसकेको थियो । भनिन्छ, अहिलेको भारत, पाकिस्तान र बंगलादेश ब्रिटिशको भए पनि पूरै भारत कहिल्यै पनि ब्रिटिशको भएन । किनकि हल्याण्डे डच र डेनिसहरू ब्यापारिक पोष्टहरू समुद्र किनारमा थिए, पोण्डीचेरी, कराइकाल र माहे फ्रान्सेली उपनिवेशकै रूपमा थिए, गोवा, दामन र दिउ पोर्चुगिजकै थियो, यसैगरी भित्री रूपमा धेरै राज्य स्वतन्त्र रूपमा शासन गरिरहेकै थिए । यसैबीच म महाराजा गंगा सिंहको दरवार बिकानेरमा ब्रिटिश प्रतिनिधिको रूपमा खटिएँ । त्यहाँको महामारीमा राम्रो काम गरेकोले भायसराय लर्ड कर्जनले ‘कैजर ए हिन्दको’ उपाधि प्रदान गरे । सन् १८९८ अगष्टमा हामीले माउण्ट आबुमा पहिलो सन्तान फ्रान्सिस चाल्र्स देलाभललाई जन्मिएको दश दिनमै गुमायौं । शोकबाट उतार्दै हेलेनलाई सम्झाउन धेरै बर्ष लाग्यो मलाई । अब कर्जन आइसकेका थिए गभर्नर जनरल भएर । ग्रेट गेम चलिरहेको थियो । मलाई तिब्बत पठाउने भयो सरकारले । हामीले पहिल्यैदेखि तिब्बतसँग सम्बन्ध अघि बढाउन चाहिरहेका थियौं । रुसीहरूको प्रभावमा तिब्बत नजाओस् भनेर ब्रिटिश भारतीय सरकार सदा सचेत भैरहेको थियो र सूचना त्यही हिसाबले संकलन गर्दै थियौं । सन् १८९० र ९३ मा तिब्बत सरकारलाई पठाइएका पत्रहरू बैरंगी भएर फिर्ता आए । भुटानी युगेन काजीमार्फत पठाइएका पत्रहरू पनि नखोलिकनै फर्किए ।

दलाई लामाका राजदूतलाई रुसी जारले भेटेका खबरहरू पाउन थालियो । धर्मगुरु दोर्जियभले रुस र तिब्बतको गोप्य सन्धि गराए भन्नेसम्मको खबर पायौं । सन् १९०३ सम्म लर्ड कर्जन र म त रुसी जार र तिब्बतको गोप्य सन्धि नै भयो भन्नेसम्ममा निश्चिन्त भयौं । चिनियाँ अम्बान हो क्वाङ सी ल्हासामा थिए तर उनको प्रभाव सेरेमोनियल रूपमा मात्रै थियो । अब तिब्बतउपर सैन्य कारवाहीको योजना बन्न थाल्यो । बेलायतबाट स्वीकृति लिन समय लाग्यो । ब्रिटिश भारतका सैन्य कमाण्डरको रूपमा जनरल लर्ड किचनर आए, मैले उनैसँग बसेर लामो छलफल तथा योजनासमेत बनाएँ । अन्ततः मै हुने भएँ तिब्बत अभियानको कमाण्डर । एक बटालियन नोरफल्क, सिख पायोनियर, छ कम्पनी गोर्खाली, आठ कम्पनी सिखसहितका फौज र हजारौं कुल्ली, याक, खच्चर, घोडा आदिसहित सारा बन्दोबस्तीको तयारी गरियो । कहाँ फुच्चे लप्टन थिएँ र अब म, कर्णेल भैसकेको थिएँ । सरकारले मलाई तिब्बती मध्यस्थकर्ताको प्रमुख बनायो । फौजको कमाण्डर भने ब्रिगेडियर जेम्स म्याकडोनाल्ड तोकिए तर पूरै अभियानको नेतृत्व मैले नै लिने भएँ । १९०४ जनवरीमा चुम्बी भ्याली पुगियो ।

शुरुमा तिब्बती भूमि प्रवेश गर्नासाथ हामीले त्यताका जनरलहरूसँग कुरा गर्न खोज्यौं, किन हाम्रो पत्रको जवाफ दिएनौ र रुसीहरूसँग सम्बन्ध बढायौ भनेर तर उनीहरूले कुरा सुन्नै चाहेनन् र अघि नबढ्न चेतावनी पो दिए । ल्हासामा सरकारसँग यसबारे कुरा गरेर आउँछु भने । तीन महिनासम्म तीव्र जाडोमा टुनामा रोकियौं । केही सिख जाडोले मरे, धेरैलाई निमोनियाको रोग लाग्यो ।

हामी तिब्बतको गुरु गाउँ पुग्यौं । तिब्बती जनरल लादिंगसँग म, मेरो ब्रिगेडियर, ओकोनर भएर वार्ता गर्यौं । तिमीहरू आत्मसमर्पण गर, ब्रिटिशहरूसँग निहुँ नखोज भनेर सम्झाउन खोज्यौं । गोरखा र सिखहरूले घेरिसकेका थिए जसले रक्तपात रोकिन्थ्यो । तर, जनरल लादिंगले बाटो बिराए, हामी जो वार्तामा थियौं सबै शस्त्रविहिन थियौं तर तिब्बती जनरलले अचानक पिस्तोलबाट हाम्रो सिख सिपाहीउपर रिभोल्भर सोझ्याए, सिपाहीको कञ्चटमा लाग्यो । पर्खालजस्तो डिफेन्सिभ छेकेबारमा लुकेका तिब्बती सैन्यले पनि फायर गर्न पो थाले । गुरुको चुमी सेङगोमा हाम्रो फौजले आर्टिलरी फायर खोल्यो, मेसिनगनबाट गोली छुट्यो । म, फौजी नै भए पनि यति नजिकबाट लडाइँ देखेको थिइन, उक्त आँखाअगाडिको दृश्यबाट मै आत्तिएँ । युद्ध थियो कि, कत्लेआम थियो मैले नै बुझिनँ । गभर्नर जनरल कर्जनलाई चिठी पठाएँ ।

भोलिपल्ट सबै जायजा लिइयो, छ जना हल्का र ६ जना जोखिमयुक्त घाइते भएछन् हाम्रो, तिब्बतीहरू ६२८ मारिए, २२२ घाइते भए भने तिब्ब्ती ल्हासा जनरल लादिंग, सिगात्से जनरल नामसेलिंग सबै सिद्धिए । जम्मा तीनवटा रसियन राइफल मात्रै फेला पारियो । हामी अझै अघि बढ्यौं । १० अप्रिलमा ग्यान्त्से पुग्ने साँघुरो बाटोमा झडप भयो । २०० तिब्बती मारिए । फेरि नेनयिंगमा धेरै भिक्षु मारिए । इण्डो नेपालका पेन्टिङ भित्ताभरि थिए, के गर्नु नेनयिंग गुम्बा रक्त पोखरीमा परिणत गर्दियौं हाम्ले । चुमी सेङगोको घटनामा अत्यधिक बल प्रयोग गरिएकोबारे बेलायती संसद्मा समेत कुरा उठिसक्यो । युवा सांसद चर्चिलसम्म जोडिए यो सवालमा । १२ अप्रिलमा ग्याङ्न्त्से पुगियो । तिब्बतको तेस्रो ठूलो शहर । अब हाम्रो अभियान ल्हासातर्फ भयो । कोही पनि वार्ताको लागि आएनन् । ल्हासातर्फ करिब ४० मीटर पर कोरोलामा केही हजार तिब्बती डिफेन्स लिएर बसेको सूचना आयो । ब्रिगेडियर म्याक पछि थिए, उनले मेरो आदेशले कोही अघि नबढ्ला भनेर निहुँ खोज्न थाले, तिनको कर्णेल ब्राण्डर भने जोशिला थिए । हामी अघि बढ्यौं । ५ मेमा अचानक तिब्बतीले आक्रमण शुरु गरे जबकि सिख फौज राम्ररी उठेकै थिएन, पाइजामा लगाएर बसेको थियो, गोर्खे जहिले तयारी नै हुन्थे । हतारमा हतियार समातेर हाम्रोले पोजिशन लियो । मलाई पनि आड लिन बाध्य बनायो । हाम्रोले खोलेको फायरमा अर्का दुई सय तिब्बती फौज मारिए । हाम्रा चार मारिए, तेह्र सख्त घाइते भए । गोर्खे र सिखले बहादुरीपूर्वक लडे । सायद १८,५०० फिटको उचाइमा लडिएको पहिलो लडाइँ हो कि यो ?

टिप्पणीहरू