हाहुमै बजेट पास, नेकपा बैठकको उठिबास

हाहुमै बजेट पास, नेकपा बैठकको उठिबास

पार्टीको बैठक नबसी बजेट पारित गर्नेतिर लाग्ने हो भने बजेटमात्रै पारित हुँदैन । त्यसमा उल्लेख भएको एमसिसी परियोजनाका बुँदा पनि सँगै पारित हुन्छ । र, पार्टी नेता ‘माछो–माछो भ्यागुतो’ को स्थितिमा पुग्छन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटबारे हिजो संसदलाई जवाफ दिनुपर्ने पूर्वनिर्धारित कार्यसूची आजका लागि सरेको छ । अर्थात्, आज बजेट पारित हुनुपर्ने दिन ।

तर, यसका समस्याहरु सत्तारुढ नेकपाभित्रै छन् ।

आजै ४ बजेका लागि नेकपाको सचिवालय बैठक बस्ने पूर्वनिर्धारित समय पनि हो । सामान्यतया बैठक बस्ने दिन बिहान सचिवालय सदस्यहरुलाई भाइबरमा बालुवाटारबाट एउटा म्यासेज जाने गरेको छ,बैठकको समय स्मरण गराउनका निम्ति । तर, आज कसैको मोबाइलमा भाइबरको घण्टी बजेको छैन । अर्थात्, बैठक ४ बजे छ, ३ बजे नै प्रधानमन्त्री ‘अस्वस्थ्य’ भइदिने सम्भावना प्रवल छ ।

अनि, अर्को उपाय पनि छ- ‘देशको बजेटभन्दा पार्टीको बैठक ठूलो होइन, आज नबसौँ’ भन्ने ।

खासमा नेकपाको बैठक बस्नुपर्ने मुख्य विषय भनेकै अमेरिकी सहायता परियोजना एमसिसीबारे पार्टीको धारणा स्पष्ट पार्नका लागि हो ।

अर्थमन्त्री डा.खतिवडाले अर्कै बाटोबाट बजेटमा एमसिसीका कुरा उल्लेख गरेपछि नेकपाको सचिवालय बैठकमा अधिकांश नेताले त्यसमा आपत्ति जनाए । त्यसपछि एमसिसीका कुरा अहिले स्थगित गर्ने निर्णय भयो ।

सरकारले ल्याएको बजेटमा उल्लेखित विषय पार्टीको बैठकले स्थगित गरेर हुँदैन । त्यसका लागि प्रधानमन्त्रीको हैसियतमा स्वयं केपी ओलीले वा उहाँको मन्त्रिपरषद्ले अर्थमन्त्रीलाई निर्देशन दिनुपर्छ । त्यस्तो निर्देशन भने अहिलेसम्म दिइएको छैन ।

यदि,पार्टीको बैठक नबसी बजेट पारित गर्नेतिर लाग्ने हो भने बजेटमात्रै पारित हुँदैन । त्यसमा उल्लेख भएको एमसिसी परियोजनाका बुँदा पनि सँगै पारित हुन्छ । र, पार्टी नेता ‘माछो–माछो भ्यागुतो’ को स्थितिमा पुग्छन् ।

खासमा एमसिसी परियोजना सञ्चालनका लागि अहिलेसम्म करिव ५६–५७ करोड रुपैयाँ खर्च भइसकेको छ ।

देशका विभिन्न १० जिल्लामा यही विषयको सार्वजनिक सुनुवाई भइसक्यो ।

विभिन्न ठाउँमा विद्युत र सडक परियोजनाका लागि टेण्डर पनि भए ।

तर,संसदको दुई तिहाई बहुमतले परियोजना पारित गर्नुपर्ने बेला आउँदा सत्तारुढ दलमै सबभन्दा बढी विवाद देखियो ।

आइतबार बिहान नौ बजे प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच कुराकानी भयो ।

प्रधानमन्त्रीले ‘एमसिसीमा अब धेरै जोडबल नगरौँ, ह्वीप नलगाऔँ, सँसदको बिजिनेस होउसैलाई छाडिदिम’ भन्नुभयो ।

यस्तो आश्चर्यजनक अभिव्यक्तिको कारण हो, यसबीच चिनियाँ पक्षबाट एमसिसी मामिलालाई नचर्काउनका लागि दिइएको सुझाव ।

अर्कातिर, अहिले भारतसँग सम्बन्ध खराब छ । यस्तो बेला अमेरिकालाई चिढ्याउन पनि भएको छैन । त्यसैले सामान्य ढंगले एमसिसीको प्रस्ताव संसदमा पेश होस् । त्यसो गर्दा ज-जसले जता भोट हाल्छन् हालुन्, बहुमत पुगे पारित हुने भयो, पुगेन भने पारित हुँदैन । काङ्ग्रेस पनि पक्षमै भएकोले अड्किने त कुरै भएन ! त्यही संसदको मतदान देखाएर अमेरिकासँग कुरा गर्न सकिने अवस्था रहन्छ ।

यो भेटपछि प्रचण्डले बुधवार ४ बजे बैठक बसौँ भन्नुभयो । र, उठ्नुभयो ।

तर, ३ बजे फेरि ओलीले फोन गर्नुभयो ।

‘झलनाथले दिनुभएको प्रतिवेदन पढेँ । एमसिसीका कुरा पनि दोहोर्‍याएर, तेहेर्‍याएर पढेँ । त्यो त राम्रो रहेछ । पास गरौँ न त’ भन्नुभयो ।

ओलीको भनाइ थियो, ‘बैठक किन बस्नुपर्‍यो ? तपाईं र म छलफल गरौँ । बैठक स्थगित गरौँ ।’

तर प्रचण्डले भन्नुभयो ‘हैन, हामी दुईले सल्लाह गरेर हुँदैन, सबै साथीहरुको सरोकार सुनौँ, बुझौँ, बैठक बसौँ ।’

त्यसपछि आज ४ बजेका लागि बैठक तय भयो । तर, आजै ३ बजे वा त्योभन्दा अगाडि नै प्रधानमन्त्रीलाई ‘बिसञ्चो’ हुने वा उठेका प्रश्नको जवाफ दिदै बजेट पास गर्नुपर्ने हुँदा अन्तिममा स्थगनको सम्भावना छ ।

यसबीच, प्रचण्डले हिजो सोमबार एक अखबारलाई दिनुभएको अन्तर्वार्तामा एमसिसी यही रूपमा पारित हुँदैन, पारित गराउन खोजिए सम्शोधन प्रस्ताव आउँछ भन्नुभएको छ ।

टिप्पणीहरू