आठ वर्षमा ११ सय बेवारिसे शव फेला, सबैभन्दा बढी बागमतीमा

आठ वर्षमा ११ सय बेवारिसे शव फेला, सबैभन्दा बढी बागमतीमा

गत भदौ ७ गते सुर्खेतको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला पर्यो । अन्दाजी ६०/६५ वर्षका पुरुषको शव हालसम्म पहिचान हुन सकेको छैन ।

त्यस्तै, भदौ ४ गते सप्तरीमा पनि पुरुषको बेवारिसे शव फेला परेको थियो । तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीचमा कोसी नहरमा नाम, थर ठेगाना नखुलेको पुरुषको शव परीक्षण र शनाखतका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । ती पुरुषको हालसम्म पहिचान हुन नसक्दा शव बेवारिसे बनेको प्रहरीको भनाइ छ ।

पहिचान खुल्न नसकेका अर्थात् बेवारिसे अवस्थामा रहेका यस्ता थुप्रै शव विभिन्न अस्पतालमा राखिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसअनुसार आठ वर्षमा ११ सय १८ बेवारिसे शव भेटिएको छ । चालू आर्थिक वर्षको पछिल्लो साढे चार महिनामा मात्र ३६ वटा बेवारिसे शव फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये २१ पुरुष, नौ महिला र छ वटा लिङ्ग नखुलेका शव छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार २०७१ देखि ०७८ को उक्त अवधिमा उक्त संख्यामा बेवारिसे शव फेला परेको हो । आठ वर्षमा फेला परेका शवमध्ये ९४७ को अन्त्येष्टि भएको छ भने १७१ शव अझै बेवारिसे अवस्थामा विभिन्न अस्पतालमा छन् ।

‘शव पहिचान गरेर आफन्तलाई बुझाउन खबर गरिन्छ । तर आफन्त नआएका कारण सनाखत हुन नसकेका शवलाई बेवारिसेको सूचीमा राख्ने गरिएको छ’, प्रवक्ता राईले भने । २०७१ देखि २०७८ सम्म मुलुकभर भेटिएका ११ सय १८ बेवारिसे शवमध्ये कतिपय कुहिएका कारण विवरण राखेर जलाइएको उनले बताए ।

शव राख्ने उचित व्यवस्था नभएकाले विवरण राखेर जलाउनु पर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ । शुरुमा बेवारिसे शव जलाउने कार्यमा संलग्न समाजसेवी, शव व्यवस्थापन समितिलाई खबर गर्ने र त्यसमा प्रहरीको समन्वयमा विवरण राखेर जलाउने गरिएको प्रवक्ता राई बताउँछन् । लामो समयसम्म आफन्त सोधपुछका लागि नआएपछि प्रहरी र शव व्यवस्थापन समितिको सहकार्यमा त्यस्ता शव जलाइने गरिन्छ ।

कुन प्रदेशमा कति भेटिए ?

पछिल्लो आठ वर्षमा सातै प्रदेशको तथ्याङ्क हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी २८६ बेवारिसे शव भेटिएका छन् । मधेसमा २३३, प्रदेश १ मा ६०, गण्डकीमा १८५, लुम्बिनीमा २२०, कर्णालीमा २७ र सुदूरपश्चिममा २१ बेवारिसे शव भेटिएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश १ मा भेटिएका ६० वटा बेवारिसे शवमध्ये २६ पुरुष, १५ महिला, एक शिशु र अन्य लिङ्ग पहिचान नभएका शव छन् । मधेसमा १८९ पुरुष, १९ महिला, ६ नवजात शिशु र अन्य लिङ्ग पहिचान नभएका बेवारिसे शव फेला परेका हुन् । बागमतीमा प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २८६ वेवारिसे शवमध्ये पुरुषका १४६, महिलाका २२, दुई बालक, ११ वटा शिशु र अन्य लिङ्ग पहिचान गर्न नसकिएका हुन् ।

तीमध्ये सबैभन्दा बढी चितवनमा ५४ वटा छन् । त्यसैगरी मकवानपुरमा ३७, धादिङमा २७, काभ्रेमा २६, सिन्धुलीका १४, दोलखा र रामेछापमा ८÷८, नुवाकोटमा ७, सिन्धुपाल्चोकमा ६, रसुवामा ३ र उदयपुरमा १ वटा बेवारिसे लास भेटिएका हुन् ।

२०७१ देखि २०७८ को अवधिमा गण्डकीमा १८५ वटा बेवारिसे शव भेटिए । तीमध्ये पुरुषका १५२, महिलाका २०, लिङ्ग नछुट्टिएकाका १२, नवजात शिशुका १ वटा छन् । लुम्बिनी प्रदेशमा १६२ पुरुष, ४१ महिला, ३ बालक, २ बालिका, ४ नववात शिशु र ८ लिङ्ग पहिचान नखुलेका शव भेटिएको प्रहरीको भनाइ छ ।

लुम्बिनीमा सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ७९ वटा भेटिएका छन् । अन्य जिल्लाअन्तर्गत तनहुँमा २५, मुस्ताङमा ८, लमजुङमा ६, म्याग्दीमा १०, स्याङ्जामा १०, गोरखामा ७, कास्कीमा २०, पर्वतमा १३, नवलपरासीमा १, बाग्लुङमा ६ वटा बेवारिसे शव भेटिएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्कअनुसार २०७२ देखि २०७८ पुससम्म पहिचान नखुलेका २१ शव फेला परेका छन् । तीमध्ये २१ पुरुष, ४ महिला, १ बालक र अन्य लिङ्ग पहिचान नभएका हुन् ।

सुदूरपश्चिमका सात जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा १४ वटा शव भेटिएका छन् । बाँकी कञ्चनपुरमा ६, डडेलधुरामा १, बैतडीमा २, अछाममा १, दार्चुलामा २ र बझाङमा १ शव भेटिएको अपराध अनुसन्धान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगन्ज)को तथ्याङ्कअनुसार २०७१ साउनदेखि २०७८ सालसम्म २७ वटा बेवारिसे शव फेला परेका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, १ बालक, २ नवजात शिशु, १ लिङ्ग पहिचान नभएका छन् ।

सबैभन्दा बढी सुर्खेतमा १२ वटा बेवारिसे शव भेटिएका छन् । अन्य जिल्लामध्ये जुम्लामा २, जाजरकोटमा ३, रुकुममा ५, बाँके १, मुगुमा १, सल्यानमा २ र कालिकोटमा १ शव भेटिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण मृत्यु भएका १३ जनाको शव सनाखत हुन नसकेको प्रवक्ता राईले बताए । जसमा पुरुष १० र महिला तीन जना छन् । तीन महिलामध्ये एक शव विदेशीको हो ।

टिप्पणीहरू