एकाबिहानै मन्त्री क्वार्टरको गोप्य कोठामा नेता र मन्त्रीबीच गलफती

एकाबिहानै मन्त्री क्वार्टरको गोप्य कोठामा नेता र मन्त्रीबीच गलफती

आज बिहान ठ्याक्कै सवा नौ बजे । पुल्चोकस्थित क्वार्टरमा खानेपानी मन्त्री उमाकान्त चौधरीलाई भेट्न एक दर्जन जति आगन्तुक झण्डै डेढ घण्टादेखि प्रतिक्षारत थिए । त्यतिबेलै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि आइपुगे । र,सरासर मन्त्रीको गोप्य कोठामा छिरे । १० मीनेटपछि बल्ल आइपुगेका मन्त्री चौधरी त्यहाँ कुरिरहेकाहरुसँग केहीबेर कुरा गरेर गोप्य कोठामा पसे ।

लोकप्रिय युवा नेताको पहिचान बनाएका पौडेल र मन्त्री चौधरीबीच कुनै विषयवस्तुमा कुरा हुन थाल्यो । तर,उक्त कुराकानी स्वभाविक थिएन । प्रदीप आफ्नो उध्देश्यमा अडिग थिए भने मन्त्री चौधरी उनलाई बेवास्ता गर्दै अडानमा टसको मस थिएनन् ।

उनीहरुको गलफत्ती बाहिर बसेकाहरुले समेत सुन्ने गरी चर्किरहेको थियो । मन्त्री चौधरी कराउँदै थिए, ‘त्यो म गर्न सक्दिन,तपाईं गैहाल्नुस् । बरु म मन्त्री र पार्टीको सहमहामन्त्री छोड्छु तर यस्तो काम गर्न सक्दिन ।’ प्रदीप चैं अनुरोधको शैलीमा ‘हैन हैन’ भन्दै ‘हामीलाई त्यसले स्पोइल (हानी) गर्छ दाइ’ भन्दै थिए । तर,चौधरी उनको कुराले कत्ति पनि प्रभावित भएनन् । बरु जोड दिएर भन्दै थिए, ‘तपाईंले भनेर हुन्छ र !, म गर्दिन भनेपछि गर्दिन । मलाई कुनै फिक्री छैन ।’ प्रदीपलाई तीन पटकसम्म निस्केर जान मन्त्रीले चर्को स्वरले कराएको बाहिरसम्मै सुनिन्थ्यो ।

“मन्त्री चर्को स्वरले कराउन थाले, ‘म त्याे गर्न सक्दिन,मलाई जसले मन्त्री र पार्टीको सहमहामन्त्री बनाएको छ, उसले भन्नुपर्यो। म राजनीति छोडौंला तर त्यसको गर्न सक्दिन।’

पौडेल भने आफू धेरै पटक धाइसकेको, कयौँपल्ट फोन गरेको तर पनि काम नभएको गुनासो गरिरहेका थिए । प्रदीपले प्रतिरक्षात्मक भएर कुरा राखिरहँदा मन्त्री चौधरी भने आक्रामक देखिन्थे । प्रदीप बसेको सोफा छेउमै उभिएर हात हल्लाउँदै चर्को स्वरना भन्दै थिए, ‘तपाईंले भनेर हुन्छ र ! मलाई जसले मन्त्री र पार्टीको सहमहामन्त्री बनाएको हो उसले भन्नुपर्छ । त्यसैले तपाईंले भने पनि म गर्दिन,बरु तपाईं जानुस् ।’

गोप्य कोठाको १० मीनेटको गलफत्तीपछि मन्त्री चौधरी फुत्त निस्किएर माथिल्लो तलातिर उक्लिए । पौडेल पनि पछिपछि उही ढिपी कस्दै पछ्याउँदै माथितिरै उक्लिए । फेरि शुरु भयो त्यही गलफती । त्यहाँ पनि मन्त्री चौधरी भन्दै थिए ‘तपाईं जानुस् ।’ प्रदीप पछि तल ओर्ले र क्वार्टर परिसरमै कुरिरहेका थिए ।

कसैको कामको जिम्मेवारी बोकेर पुगेका प्रदीप काँग्रेस नेता कृष्ण सिटौला हुँदै जानुपर्नेमा आफै मैदानमा आएपछि उमाकान्तसँग तनाव परेको छ । कुराकानी र प्रस्तुति हेर्दा लाग्थ्यो- प्रदीप कुनै पनि हालतमा आफ्नो उद्धेश्य पुरा गराउन मन्त्रीलाई मनाउन चाहन्छन् । बाहिर भेटका लागि कुरी बसेकाहरु गलफत्ती सुनेर अचम्म मानिरहेका थिए। चर्को स्वरमा मन्त्री कराएको सुनेका उनीहरु ‘मन्त्रीको प्रेसर बढ्यो’ भन्दै खासखुस गरिरहेको सुनिन्थ्यो ।

प्रदीपले एउटै अडानमा ढिपी कस्न थाले । मन्त्री चर्को स्वरले कराउन थाले, ‘म त्यसलाई गर्न सक्दिन,मलाई जसले मन्त्री र पार्टीको सहमहामन्त्री बनाएको छ, उसले भन्नुपर्यो। म राजनीति छोडौंला तर त्यसको गर्न सक्दिन।’

मन्त्री चौधरीले त्यो लेभलको नेतालाई त्यसरी किन थर्काएको र उनी के काम लिएर गएका थिए भन्नेबारे त्यहाँ भेट्न गएकाहरु मन्त्री प्रेसरमा आएकाले काम नहुने भयो भन्दै अड्कल काट्न थाले । कांग्रेसमा यी दुवै जना कृष्ण सिटौला समूहका नेता हुन् । अचम्म चै सिटौलालाई नभनी प्रदीपले मन्त्रीबाट के काम लिन खोजे र मन्त्री किन भड्किए भन्ने कुरा चै उनीहरुको विवादबाट खुलेन ।

तनहुँ-१ बाट रामचन्द्र पौडेलसँगै प्रदीपको नाम पनि सिफारिस भएको छ । यसअघि प्रदेशसभामा उम्मेदवारी दिएका उनी पराजित भएका थिए । तर, मतगणनामा धाँधली भएको भन्दै उनले दिएको रीट अहिलेसम्म पनि किनारा लागेको छैन । काँग्रेसको १३औँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य जितेका पौडेल कांग्रेसभित्र लोकप्रिय छन् । तर, १४औँ महाधिवेशनमा भने शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुँदा उनी त्यहि प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । उमाकान्तले भने देउवा प्यानलबाटै सहमहामन्त्री जितेका हुन् ।

टिप्पणीहरू