भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाउने

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाउने

भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । आजबाट लागू हुने गरी चामलको निर्यातमा उक्त कर कायम भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बासमती र उसिना चामल निर्यातमा भने कर लागेको छैन् । ‘प्रधानमन्त्री गरिब कल्याण योजना’का लागि पर्याप्त स्टक रहनुपर्ने भन्दै त्यहाँको खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको हो ।

पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको खाद्य मन्त्रालय जनाएको छ । मौसम प्रतिकूलताका कारण भारतभर यो वर्ष चामल उत्पादन करिब ७० लाख टन घट्ने अनुमान गरिएको छ ।

विश्वमा धान उत्पादनमा भारत चीनपछिको दोस्रो ठूलो मुलुक हो । भारतले सयबढी देशमा चामल निर्यात गर्दै आएको छ ।

यसैगरी भारतले कनिका निर्यातमा पूर्णत: रोक लगाएको छ । अब नेपालले भारतबाट चामल आयात गर्दा २० प्रतिशत कर बझाउनु पर्ने भएकाले यहाँ चामलको भाउ बढ्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू