मधेशमा यस्तो छ चुनावी महामारी

मधेशमा यस्तो छ चुनावी महामारी

– मनोज कर्ण

२०७४ सालको संसदीय निर्वाचनमा मधेश प्रदेशका ३२ सीटमध्ये कांग्रेसले ६, राजपा (महन्थ नेतृत्व)ले १०, संघीय समाजवादी (उपेन्द्र)ले ९, प्रचण्ड नेतृत्वको माओवादीले ५ र एमालेले २ सिट जितेका थिए । चुनावपछि वामगठबन्धन बन्नेगरी एमाले र एकीकृत माओवादीले लडेका थिए भने राजपाको काँग्रेससँग महन्थ ठाकुरलाई जिताउने गरी नाममात्रको गठबन्धन थियो । आज देशैभरि दलहरूको अवस्थामा व्यापक परिवर्तन भएको छ । एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा छैन भने माधव नेपालको नेकपा एकीकृत समाजवादी बनेको र एकीकृत माओवादीका धेरै हेभीवेटहरू एमालेमा रहेको देखिन्छ ।

२०७४ पछि राजपा र संघीय समाजवादी मिलेर बनेको जसपा आज पुनः वामशक्ति झैं फुटेर जसपा (उपेन्द्र यादव) र लोसपा (महन्थ ठाकुर) भएका छन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा एकाध वडा र २ नगरपालिका जितेका डा. सिके राउतको जनमत, मातृ पार्टी काँग्रेसमा राम्रो पदसहित प्रवेश गर्न लालायित पूर्व राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालको तमलोपा तथा केही स्वतन्त्रको छुट्टै हिसाव छ । स्थानीय चुनावमा पार्टीहरूले जित हात पारेका वडाहरूको संख्यालाई आधार मानेर एक्लाएक्लै संसदीय र प्रदेश निर्वाचनमा भाग लिँदा काँग्रेसले १८, एमाले ६, माओवादी १, जसपा ५, लोसपा १ र नेकपा एसले १ वटा सिट जित्ने देखिन्छ ।

यसअनुसार कांग्रेसको ६ बाट १८ र एमाले २ बाट ६ हुने, माओवादी ५ बाट १, जसपा ९ बाट ५, लोसपा १० बाट १ र नेकपा एस (एमालेबाट बनेको नयाँ दल) ले १ सिट लिने सम्भावना छ । तर यो अंकगणितीय हिसाब मात्रै हो, चुनावमा अंकगणितको मात्रै हिसाब हुँदैन किनकि भोट हाल्नेहरू मन, मस्तिष्क भएका चेतनशील प्राणी हुन्छन् । चुनावमा साइलेन्स भोटर (गृहिणी, सरकारबाट लाभान्वित बृद्ध, अपांगलगायत विशेष वर्ग, विगतमा जुन दलको समर्थक रहे पनि प्रत्यक्ष लाभ पु¥याएको दलमा सुटुक्क भोट हालिदिन्छन्) र स्विङ भोटर (अन्तिम बेलासम्म अनिर्णीत अवस्थामा रहेका जसले विचार, जात, धर्म, रूपैयाँ, पैसा, गम्छा, साडी, ऋणमुक्त गराइदिने आश्वासनको निर्णायक भूमिका हुन्छ ।

दलगत टुटफुट, संविधानप्रति विचारमा विचलन (एमालेले २ पटक संसद् विघटन गरेको तथा मधेशीलाई विभेदमा पार्ने मनसायले भोटको राजनीतिमा लागेर विगतमा नागरिकता विधेयक र अध्यादेश मधेशीलाई नचिढ्याउने हिसाबले ल्याए पनि हाल पहाडतिर ‘राष्ट्रवादी’ भई भोट बटुल्ने चक्करमा सोको विरोधमा उत्रेको नवउदीयमान दल, स्वतन्त्र फ्याक्टर, विचार र व्यक्तित्वको प्रभाव, मनी, मसल्सको असर तथा प्रशासनको चुस्तता, निगरानी आदिले पनि चुनावमा मतदातालाई प्रभावित पारिरहेको हुन्छ । यस हिसाबले मधेश प्रदेशका आठवटै जिल्ला सप्तरी, पर्सा, सर्लाही, धनुषा, महोत्तरी, बारा, सिरहा र रौतहटका ३२ वटै निर्वाचन क्षेत्रमा असर पर्ने भयो ।

यदि एमाले, जनमत र लोसपाहरू मिले भने वर्तमान सत्तारूढ गठबन्धनलाई असर पर्ला तर विरोधीसँग चुनावी तालमेल गर्नु आत्महत्या सरह पनि सावित हुनसक्छ । मधेशलाई नै नयाँ देश बनाउँछौं भन्ने सिके राउतले एमाले र केपी ओली सत्तामै नरहँदा किन उनले जेलमा सडाएर मारिदेलान् भन्ने डर पालिराख्नु ? अर्काे सम्भावना रहन्छ जनमत, जसपा र लोसपाले तमलोपालगायतसँग गठबन्धन बनाउने । यसो हुँदा उपेन्द्र–महन्थका विचार र सिद्धान्तहीन ५ वर्षको दल एकीकरण र विभाजन कृत्यबाट रिसाएका केही मतदाताले पुराना राष्ट्रिय पार्टीमा भोट हाल्नेछन् भने यसको ठूलो प्रभाव पर्न गई मधेशवादी दलहरूले केही सिट जित्न सक्दछन् ।

पाँचदलीय गठबन्धनले जसपालाई लोसपासँग मिल्न स्वीकृति देलान् वा नदेलान् त थाहा छैन तर उपेन्द्र र सिके राउत कहिल्यै ‘मधेशीको मसिहा’ बन्ने होडबाजीमा मिल्दैनन् । वृषेशचन्द्र लालको प्रभाव मधेशमा छैन । अध्यक्ष स्वयं सांसद र मन्त्री बन्न लालायित, कांग्रेसमा प्रवेश गर्न खुट्टा उचालेका, जुन बेला पनि आन्दोलनको नाममा तोडफोड गराउने अराजक हुन् भने उनका सहयोगीहरूमा कारमा युवती लिई हराउने अनि परिवारले हाइप्रोफाइल अपहरण केस भनी प्रहरीमा जाहेरी दिँदा जंगलबाट फेलापर्ने खालका छन् ।

कुनै बेला स्वयं वृषेशचन्द्र लालले मलाई भनेका थिए ‘हामीलाई ०६२/६३ पछि माओवादीको क्रेज कम गर्न र वामपन्थीमय मधेश बन्नबाट रोक्न प्रचण्ड र उपेन्द्रको काउन्टरमा गिरिजाबाबुले पठाउनुभएको थियो तर उहाँ बित्नुभएपछि सुशील कोइरालाले पार्टी एकीकरणनिम्ति उच्च तहका देउवा र रामचन्द्र पौडेलहरूलाई नपठाइकन कृष्ण सिटौला जस्तालाई पठाए अब हामीलाई मधेशमा टिकिरहन गाह्रै छ !’ नयाँ बानेश्वरस्थित पाटन क्याम्पसकै एक सहप्राध्यापक भूमा शर्मा पाण्डेको हात भाँच्चिएका बेलाको जम्काभेटमा उनल ेत्यसो भनेका हुन् । मेयर भएर जनकपुरलाई लुटेका कायस्थ युवाहरूलाई फँसाएर आफ्ना नातेदारसँग विवाह गराई पछि केटाको श्वाससमेत लिलाम गर्ने, केटीको बाआमा सबैलाई छाड्न लाएर तान्ने नत्र जीवन नर्क बनाउने, डिभोर्स गराउने, झुटा मुद्दामा फँसाउने, जानकी मन्दिरको जग्गा नयाँ महन्थ बनाउँदा खाने यस्ता पात्रलाई मधेशी जनताले मन पराउँदैनन् ।

सत्तारूढ गठबन्धनमा सिट संख्याको लफडा बढ्दै गयो भने धेरै–थोरै मतदाता रहेका कम्युनिष्ट दलहरूले धेरै सिट मागेको रिसमा कांग्रेसले अचानक लोसपासँग गठबन्धन गर्न सक्छ र जसपालाई समेत आफूहरूसँगै राख्न सक्छ । यस्तो बेला मधेशमा काँग्रेस र मधेशवादी दल वामपन्थी शक्तिमाथि धेरै भारी पर्न सक्छन् । जनकपुरको मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहलाई कांग्रेसबाट स्वतन्त्र बनेका मनोज साहले हराएकोजस्तो प्रभाव पार्न सक्ने हाल कोही देखिँदैन तर टिकट वितरणमा पार्टीभित्रै असन्तुष्टि जन्मियो भने अचानक स्वतन्त्र निस्केर एकाध सिटमा घटबढ पारिदिन सक्छ ।

कांग्रेसको उम्मेदवारमाथि लोसपाले जातीय समीकरणमा शीर्ष नेतालाई उतारेर २०७४ मा निचापन देखाएजस्तो कांग्रेसले महाधिवेशनमा शीर्ष नेताको काउन्टरमा भुरेटाकुरेलाई उचालेको हुनाले जातीय संकीर्णताका शीर्ष नेता र उचालिएका कांग्रेसी भुरेटाकुरेहरूले यसपालि चुनाव हार्दै छन्, नाम चाहे बदलाको होस् वा अन्तर्घातको केही फरक पर्दैन !

(मनोजकुमार कर्ण, उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)

टिप्पणीहरू