राष्ट्रपति भेट्न शीतल निवासमा लर्को : साँझ प्रहरीका हाकिम, राति जसपाका नेता

राष्ट्रपति भेट्न शीतल निवासमा लर्को : साँझ प्रहरीका हाकिम, राति जसपाका नेता

नागरिकता विधेयक प्रमाणीकरण गर्न आनाकानी गर्दै विभिन्न पक्षीय संवादमा सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दुइवटा महत्वपूर्ण भेटघाट गर्नुभएको छ ।

साँझ तीनवटै सुरक्षा निकायका पूर्वहाकिमहरुलाई निवासमा बोलाएर ‘डिनर संवाद’ गर्नुभएकी राष्ट्रपतिले राति सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट गर्नुभएको हो ।

राष्ट्रपति भेट्न नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्रका पूर्वआइजीपी सनतकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्मासहित ८० जना प्रहरीका पूर्वप्रमुख, एआईजी र डिआईजीहरु शीतल निवास पुगेका थिए । साँझ सवा पाँच बजेतिर शीतल निवास छिरेका सुरक्षा निकायका पूर्वहाकिमहरु राति ९ बजेसम्म त्यहिँ थिए ।

त्यहिबीचमा राष्ट्रपतिको बोलावट स्वीकार्दै सत्तारुढ जसपाका नेताहरु शीतल निवास पुगेका थिए । अध्यक्ष उपेन्द्र यादव, सामान्य प्रशासन मन्त्रीसमेत रहेका राजेन्द्र श्रेष्ठ, रामसहाय यादवसहितका नेताहरुले राष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा कुराकानी गरेर राति साढे १० बजेतिर त्यहाँबाट बाहिरिएको बताइएको छ ।

नागरिकता विधेयकको पक्षमा वकालत गर्दै आएका जसपाका नेताहरुलाई बोलाएर राष्ट्रपति भण्डारीले गरेको कुराकानीबारे औपचारिक जानकारी भने आइसकेको छैन ।

टिप्पणीहरू