१६ बुँदे माग राख्दै शिक्षकहरुको आन्दोलन घोषणा

१६ बुँदे माग राख्दै शिक्षकहरुको आन्दोलन घोषणा

उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले शान्तिपूर्ण तथा दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । आफ्ना १६ बुँदे माग पूरा नभएको बताउदैं साविकका उमावि शिक्षकहरुको टोलीले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनअन्तर्गत भाद्र २६ र २७ गते देशभरका सबै जिल्ला र स्थानीय हिस्टुन कार्य समितिहरुले सहकार्य गरी संघिय संसद्मा प्रतिनिधित्व गर्ने आ–आफ्ना माननीयलाई ज्ञापनपत्र बुझाउने जनाइएको छ ।

त्यस्तै, भाद्र २८ गते शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर अध्यापन गराउने बताइएको छ । भदौ ३० गते देशभरका शिक्षकले पेनडाउन गर्ने र उक्त दिन हरेक विद्यालयमा गएर भौतिक आन्दोलनको विषयमा जानकारी गराउने तर अध्यापन नगराउने हिस्टुनका सचिव रेशमबहादुर खत्रीले बताए ।

साविक उमावि तहको स्वीकृत दरबन्दीमा संघिय शिक्षा ऐन लागु हुँदाका बखतसम्म कार्यरत शिक्षकलाई मावि द्धितीय श्रेणीमा एकपटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न उनीहरुले भनेका छन् ।

त्यस्तैगरी, अनुदान कोटामा शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थानीय पदपूर्ति गराउन, विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दी मान्न, लामो समयसम्म सेवा गरी उमेरका कारणले अनिवार्य अवकाशमा जाने र गएका शिक्षकहरुलाई सरकारबाट विशेष सुविधाको व्यवस्था गर्नुपर्ने जोड दिइएको छ ।

मावि तहमा ६ वटा विषय पठनपाठन हुने भएकाले सात हजार ८०५ दरबन्दी थप सिर्जना गरी मावि शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्न, प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई समेत आन्तरिक प्रतिस्पर्धाबाट स्थानी गर्न, अनुदानमा कार्यरत शिक्षकहरुलाई तत्काल स्थानीय भत्ताको व्यवस्था गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।

सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापनरत दरबन्दी र अनुदानका शिक्षकहरु शिक्षा ऐनको आठौं संशोधनको दफा ३९ अनुसार मावि द्धितीय श्रेणीको शिक्षक साथै माध्यमिक शिक्षा ऐनअनुसार विश्वविद्यालयका उपप्राध्यापकसरहका शिक्षकहरु भएकाले तीन पिरियडभन्दा बढी लिन नपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

टिप्पणीहरू