को-को किन तानिए, किन छानिए ?

को-को किन तानिए, किन छानिए ?

विचार र व्यवहारले वामपन्थी भए पनि बोलिमा वामपन्थी हुन सकेनन्, न पैसाको लोभ,न निर्णय प्रक्रियामा ढिलाई । तर,मन नपरेको कुरा नलुकाई सफासफी गरिदिने र यस्तो हुँदा धेरैको चित्त दुख्ने ।

अहिले विश्वव्यापी महामारीको बेला नेपालको स्वास्थ्य मन्त्रालयले झिनामसिना कुरालाई प्रतिष्ठासँग गाँसेर कर्मचारी चलाउने काम गरेन, केही न केही जरुरी भएरै स्वास्थ्यका कर्मचारी तलमाथि पारिएका हुन् भन्ने आशा राखौँ ।

तर,स्थिति आमआशाभन्दा फरक छ।

स्वास्थ्य मन्त्रालयमा सचिव,स्वास्थ्य सेवा विभागका महानिर्देशक हुँदै कोरोना अपडेटका कारण निक्कै ख्याति कमाइसकेका प्रवक्तासम्मको यसवीच हेरफेर भयो ।

विचार र व्यवहारले वामपन्थी भए पनि बोलिमा वामपन्थी हुन सकेनन्, यसकारण सचिव यादव कोइराला प्रधानमन्त्री कार्यालयमा सरुवा गरिए ।

न पैसाको लोभ,न निर्णय प्रक्रियामा ढिलाई । तर,मन नपरेको कुरा नलुकाई सफासफी गरिदिने र यस्तो हुँदा धेरैको चित्त दुख्ने–यादव कोइराला स्वास्थ्य सचिवबाट सारिनुको मुख्य कारण हो यो ।

अनि,स्वास्थ्य मन्त्रालयभित्र स्वास्थ्य सेवाअन्तर्गतका तीन जना १२ औँ तहका हाकिम (सचिव स्तर) हुँदाहुँदै त्यहाँ प्रधानमन्त्री कार्यालयबाट लक्ष्मण अर्याललाई पठाइयो । भित्रकालाई पत्याइएन ।

फेरि लक्ष्मण स्वास्थ्य जान मरिहत्ते गरेर बसेका पनि थिएनन् । उनी अर्थका क्याडेट हुन् । चाँडै अर्थ वा राजस्व सचिवमध्ये जे खालि हुन्छ, त्यहाँ जान्छु भनेर प्रम कार्यालयमा बसेका मान्छे एकाएक स्वास्थ्य सचिव भएर जानुपरेको छ ।

मन्त्रालयमा उनी ब्रिफिङैपिच्छे भन्ने गर्छन्, ‘यो मेरो क्षेत्र होइन । मलाई यहाँ धेरै बस्नु पनि छैन । तर, हिसाब–किताब एक–एक मिलेको हुनुपर्छ । व्यवस्थापनमा थोरै पनि तलमाथि भएको मलाई मन पर्दैन ।’

अर्थात्,सर्ट सिलाउने दर्जीले नयाँ मान्छे देख्दा शुरुमा सर्ट नै हेर्छ,जुत्ता बनाउने सार्कीले शुरुमा नयाँ मान्छेको जुत्ता नै हेर्छ भनेजस्तो भएको छ ।
कर्मचारीहरु भन्छन्, ‘नयाँ सचिवका कुरा राम्रा छन् । तर, फरक सेवाको मान्छे हुँदा त्यहीअनुसारको कार्यशैली त देखिने नै भयो । उनी आर्थिक र व्यवस्थापकीय विषयमा काबिल, तर स्वास्थ्यसम्बन्धी प्राविधिक तथा विषयगत ज्ञानमा कमजोर छन् ।’

यसपछि फेरिए, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ ।

महेन्द्रको सबभन्दा ठूला गल्ती मानिएको छ, अपारदर्शी ढंगले अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद अनुमति दिइएको ओम्नी समूहको खराब नियतको खुलासा गरिदिनु ।

अर्को गल्ती हो,आवश्यक पर्ने स्वास्थ्य सामाग्री समयमा ल्याउन नसक्नु ।

विदेशबाट सामान ल्याउन खोज्यो,विभागभरि ‘अरिंगालको गोलो’ लाग्ने । जसै गोलो पन्छायो,काम अगाडि बढायो, तर ल्याउनुपर्ने सामान आउनै ढिला हुने ।

त्यसमाथि उनी नेकपाबृत्तमा मन नपराइने मुख्यसचिव लोकदर्शन रेग्मीका खास मान्छे ।

महेन्द्रमात्र हैन, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा सम्हालेका भोगेन्द्र डोटेल पनि उनीसँगै तानिए । कसुर एउटै हो ।

नेपालमा मात्र हैन,अहिले संसारकै समस्या हो, अत्यावश्यक स्वास्थ्य सामाग्री तथा स्वास्थ्य उपकरणको । कोभिड महामारीका कारण संसारका कुनै पनि मुलुकमा चाहिँदो सामान पुग्न सकेको छैन ।

त्यसमाथि सेनाले जिटुजी प्रणालीबाट सामान त ल्याएको छ । यो कुरालाई ठूलै हल्लीखल्लीको विषय पनि बनाइएको छ । तर, स्वास्थ्य मन्त्रालयलाई नै थाहा छैन , सामान कति आयो ? कुन–कुन सामान कहाँ–कहाँ पठाइने हो ?

यति भएपछि स्वास्थ्य सेवा विभाग सम्हालेको हाकिम चूप लागेर बस्दैन । कराउनै पर्छ । कराएबापत उनी हटाइए ।

त्यहाँ १२ औँ तहका दीपेन्द्ररमण सिंह महानिर्देशकका रुपमा पठाइएका छन् ।

दीपेन्द्ररमण विभाग सरुवा भएपछि उनी कार्यरत रहेको मन्त्रालयको गुणस्तर तथा नियन्त्रण महाशाखामा अहिले प्रवक्ता रहेका डा.विकास देवकोटा सरुवा भए ।

र, प्रवक्तामा प्रसुतिगृहको कार्यकारी निर्देशकका रुपमा कार्यरत जागेश्वर गौतम हाजिर भएका छन् ।

मन्त्रालयको वैदेशिक सहायता महाशाखा हेर्ने सहसचिवस्तरको अधिकृत प्रवक्ता हुने व्यवस्था छ । त्यहाँ यसअघि डा.विकास र अहिले डा.जागेश्वरको सरुवा भएको हो ।

प्रवक्ताबाट डा.विकास हटाइनुको भित्री कारण हो,कांग्रेसप्रति आस्थावान । ऐन–मौकामा कुनै कुरा उनले चिप्ल्याइदिए भने सरकार बद्नाम हुन्छ भन्ने डरले बेलैमा सरुवा गरिएको बताइन्छ ।

अब गुणस्तरमा गएर डा.विकासले अस्पतालहरुको अनुगमन गर्नेछन् ।

यसपछि टेकुमा रहेको एचआइभी एड्स तथा यौनरोग नियन्त्रण महाशाखा खालि भएको छ ।

त्यहाँ पठाइने व्यक्ति तयार पार्ने काममा मन्त्री र सचिवको सचिवालय अहिले व्यस्त छ ।

अहिलेसम्म नेपालमा ल्याब र टेष्टिङको सामान अस्पतालहरुमा पर्याप्त छन् । तर, कोभिड– १९ को परीक्षण बढाउनुपर्ने चुनौति बढेसँगै त्यसम्बन्धी उपकरण जुटाउने कुरा चुनौतिपूर्ण बन्ने सम्भावना छ ।

शायद, त्यही अभावलाई दृष्टिगत गर्दै मन्त्रालयमा हेरफेर बढाइएको हुनसक्ने कर्मचारीहरु बताउँछन् ।

टिप्पणीहरू