आज इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाईंदै

आज इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाईंदै

आज काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा पर्व मनाईंदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आरधना गरी परम्परागतरुपमा उक्त पर्व मनाउन लागिएको हो ।

यसलाई शत्रु पराजयपछि विजयोत्सवको रुपमा मनाइने पर्वका रुपमा लिइन्छ । आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी कुमारीका साथै भैरव र गणेशको रथयात्रा नजर गर्ने कार्यक्रम छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि आजसम्म भक्कुनाच, महाकालीनाच, लाखेनाच र पुलुकिसी नाच नचाउने गरिन्छ । आज उपत्यकाको पश्चिममा रहेको दहचोकस्थित इन्द्रदहमा हिजो रातभर जाग्राम बसी स्नान गरेर मेला भर्नेहरुको घुइँचो लागेको छ ।

आजै अनन्तनाथ अर्थात भगवान् विष्णुको पूजा, आराधना समेत गर्ने परम्परा छ । आजको दिनलाई अनन्त चतुर्दशीसमेत भनिन्छ । गत जनै पूर्णिमाको दिन जनै लगाउन नपाएकाले आज नयाँ जनै लगाउन मिल्ने धार्मिक मान्यता छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व उपत्यकासँगै काभ्रेपलाञ्चोक र दोलखामा समेत मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ भएको जात्रा आठ दिनसम्म मनाउने प्रचलन छ ।

आज जात्राको अन्तिम दिन हो । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू