बन्दुक समात्ने हातबाट गालीको बर्षा

बन्दुक समात्ने हातबाट गालीको बर्षा

रुक्माङ्गत कटवालबाट पनि निकै पेलिएका भण्डारीलाई पर्यावरण निर्देशनालय र कृष्णभीरमा नेपाली सेनामाथि हमला गर्ने माओवादी कमाण्डर तथा सेना समायोजनपछि नेपाली सेनाकै कर्नेल यमबहादुर अधिकारी ‘प्रतिक्षा’ को हाकिम भने बनाइएको थियो ।

पदमा छँदा त अनुशासन लाग्छ र जथाभावी बोल्न,चल्न मिल्दैन तर घर बसेपछि नि ! आफ्नो जिन्दगी,आफ्नै मर्जी !

तर राज्यको पेन्सन,उपदान,उपचार सुविधा आजीवन पाउने रास्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरुको हकमा अनुशासन लाग्नेचाहिँ कहिलेसम्म हो ?

यो प्रश्न चाहे भीम उपाध्याय होस् वा सन्जयसिंह भण्डारी-सबैको हकमा उठ्ने गरेको छ !

नेपाली सेनाबाट अचम्मको स्वभावका सहायक रथीको केही समयअगाडि  अवकाश भयो । सेनाको लौह अनुशासनभित्र हुर्केर पनि अवकाशप्राप्त एकतारे जर्नेल सञ्जयसिंह भण्डारी सँधै मनमौजीमा रमाउँथे । स्वतः दुई तारे जर्नेलको लाइनमा थिए । त्यसको लागि नेशनल डिफेन्स कोर्ष (एनडीसी)समेत गरिसकेका थिए । तर,सजिलो तरिकाले शैक्षिक प्रमाणपत्र हात पार्ने सोचसहित अनलाइन ग्राजुएशन गरे । अन्तमा,त्यहि पढाइ भावी सेनापति बन्ने सपना कर्कलोको पातमा अडिएको पानी झैं बनिदियो ।

सेनाभित्रको कसिँगर बढार्ने अभियानमा लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाले नै हो देव सुवेदीलगायतका पृतनापतिलाई सर्टिफिकेटमा कैफियत देखिएपछि बढुवा र म्याद थप रोकिदिएको । भण्डारीको पाँच महिनाअघि सहायक रथीको पाँच वर्षे म्याद सकिएपनि पुनःथप्न मिल्ने थियो । तर,थापाले शैक्षिक योग्यतामाथि शंका गर्दै म्याद नथपेपछि अन्ततः उनी घर बसेका हुन् ।

भण्डारी पूर्व सेनापति रुक्माङ्गत कटवालबाट पनि निकै पेलिएका थिए । यसर्थ लामो समयसम्म राष्ट्र संघमा अब्जर्भर जाने अवसर नै दिइएन । भण्डारीलाई सेनाको पर्यावरण निर्देशनालय र कृष्णभीरमा नेपाली सेनामाथि हमला गर्ने माओवादी कमाण्डर तथा सेना समायोजन पछि नेपाली सेनाकै कर्नेल यमबहादुर अधिकारी”प्रतिक्षा” को हाकिम भने बनाइएको थियो ।

सेनामा रहेर पनि उनी सुन,चाँदीका गहना टन्न भिरेर कार्यालयमा आउने अचम्मका हाकिम हुन् । कहिलेकाँही हिन्दी गायक,गीतकार,संगीतकार तथा कुनै समयका राजनीतिकर्मी बप्पी लहरी झैं शरीरभरी सुनको चेन,बाला,लकेट लगाउँथे । त्यसैले उनलाई आर्मीको सबैभन्दा बढी गहना भिरेर हिँड्ने जर्नेलको उपमासमेत मिलेको थियो ।

भण्डारी जर्नेल भएर पनि सामान्य आर्थिक अनियमिततामा नमुछिएका र सोचेजति आर्थिक उन्नतिसमेत नगर्ने थोरैमा पर्छन् । तर,ससुराली र पुख्र्यौली सम्पत्तिको भरपूर प्रयोगमा रमाउने थोरै अधिकृतमध्ये उनी सबैभन्दा अगाडि छन् । हक्की स्वभावका भण्डारीलाई दुई तारेमा बढुवा भएको भए प्रभुराम शर्मापछि चिफको लाइनमा समेत हेरिएको थियो । उनी २०५२/५३ सालतिर दुई वर्ष राजा वीरेन्द्रको अंगरक्षकसमेत थिए ।

न कसैको डर,न कुनै भर भने झैं आफूभन्दा वरिष्ठहरुलाई समेत सामाजिक सञ्जालमा ठोकठाक पार्दै दिन बितेको छ अचेल पूर्व सैनिक अधिकृत भण्डारीको । उनले विशेषगरी अवकाशको मुखमा पुगेका वा सेवा अवधी धेरै नभएका वरिष्ठहरुको उछित्तो काढ्दै सामाजिक सञ्जाल रङ्गाउँदै आएका छन् । तरपनि,उनीमाथि सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी कानुन हालसम्म आकर्षित भएको छैन ।

उनले आजभोलि नै अवकाश पाउन लागेका तीन तारे जर्नेल शरद गिरीलाई खुच्चिङ्ग गर्दै लेखेका छन् । सेनापतिपछि दोश्रो वरियताका गिरीलाई भित्तैमा पुर्याउने गरी फेसबुकमा उनी लेख्छन्–‘कहिल्यै अवकाश हुन्न भन्ने सोच राख्ने मानिस पनि तीन तारेमा अवकाश हुँदो रहेछ । आखिर पद र शक्ति क्षणिक हो,त्यसैले धेरै फुर्ती गरेर काम छैन ।’

हालै राजीनामा दिएर घर गएका सेनाको हवाई सेवा महानिर्देशनालयका प्रमुख सुधिर श्रेष्ठको बिरुद्ध पनि उनी यसैगरी पोखिएका छन्-“हेर्दा सोझो तर भ्रष्टाचारी । संस्थाको बेइज्जत नै गर्यो !”

उनले तीन तारे जर्नेललाई खुच्चिङ्ग गर्दै लेखेका छन् । ‘कहिल्यै अवकाश हुन्न भन्ने सोच राख्ने मानिस पनि तीन तारेमा अवकाश हुँदो रहेछ । आखिर पद र शक्ति क्षणिक हो, त्यसैले धेरै फुर्ती गरेर काम छैन ।’

टिप्पणीहरू