कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, ६० जनाको सामूहिक राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, ६० जनाको सामूहिक राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर र कर्मचारीहरु आन्दोलित भएका छन् । प्रहरीको अनुरोधमा मंगलबार जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई पक्राउ पुर्जी जारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

आफूहरु असुरक्षित भएको बताउँदै डाक्टर र कर्मचारी ६० जनाले अस्ति बेलुकी उपकुलपति मङ्गल रावलसमक्ष सामूहिक राजीनामा समेत दिएका छन् । सामूहिक राजीनामा दिएका उनीहरुले इमरजेन्सी बाहेक सबै सेवा ठप्प पारेको अस्पतालले जनाएको छ ।

शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा सेवा दिन नसकिने बताउँदै आफूहरुले राजीनामा दिनुको मुख्य कारण आकस्मिक विभागमा कार्यरत डाक्टर करण साहमाथि हातपात भएको घटना प्रमुख रहेको चिकित्सकहरुको भनाइ छ ।

के हो घटना ?

भदौ २ गते आकस्मिक विभागमा कार्यरत डाक्टर करणमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेको आरोप लागेको छ । उनले कुटपिट गरेको भिडियो समेत बाहिर आएको बताइन्छ । तर, शाही पक्षले उक्त भिडियो एकपक्ष भएको दाबी गरेको छ ।

शाहीलाई उद्धृत गर्दै एक स्थानीय युवाले ६ वर्षीय छोरा पृथकविक्रम शाहीलाई उक्त दिन बिहान प्रतिष्ठानको इमरजेन्सी कक्षमा लगिएको बताए । तर, ती डाक्टरले उपचार गर्न नसक्ने भन्दै उल्टै धम्काउन थालेपछि विवाद शुरु भएको अर्को पक्षको भनाइ छ । केही समय दुवै पक्षबीच भनाभन भएको ती युवक बताउँछन् ।

‘उहाँहरु दुवैबीच झडप भएको हो । अहिले भिडियोको आधा भाग फालेर डाक्टर कुटिएको भिडियो बाहिरिएको छ । त्यहाँ बिरामी छोरो लिएर अस्पताल जाने बाबुलाई फसाउन खोजिएको छ’, उनले भने, ’उहाँमाथि पनि हातपात भएको भिडियो हामीसँग छ । आवश्यक परे बाहिर ल्याउँछौँ ।’

चन्दननाथ नगरपालिका २ का बिरामी बालक एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत छन् । उनको कानमा देखिएको समस्याका कारण अस्पताल लगिएको थियो । तत्काल कानको उपचार गर्न इमरजेन्सीमा लगिएका उनको डाक्टर शाहले बिदामा बसेकाले उपचार गर्न अस्वीकार गरेको उनीहरुको आरोप छ ।

दुवै पक्षको प्रहरीमा उजुरी

प्रतिष्ठानमा कार्यरत डाक्टर करणले आफू ड्युटीमा रहेको समयमा दुर्व्यवहार भएको भन्दै प्रहरीसमक्ष किटानी जाहेरी दिए । तर, मंगलबार जिल्ला अदालत जुम्लाले डा.साहलाई नै नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेपछि डाक्टर र कर्मचारीहरु एकाएक विरोधमा उत्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले डाक्टर साहविरुद्ध प्रतिष्ठानमा उपचारका लागि पुगेका बालकमाथि बाल हिंसा गराएको आरोपमा जाहेरी दर्ता भएको जानकारी दिँदै अनुसन्धानका लागि पक्राउ गर्न अनुरोध गरेअनुसार पक्राउ पुर्जी जारी गरिएको वैतनिक वकिल देवीबहादुर सेजुवालले जानकारी दिए । उनका अनुसार घटनाको प्रकृति हेरेर एक जना अधिवक्ताको सहयोगमा बालकको उपचारमा साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल शाहीले प्रहरीमा भदौ १३ गते जाहेरी दिएकी हुन् । सोही जाहेरीको विरोधमा प्रतिष्ठानका डाक्टर आन्दोलित भएको उनको बुझाइ छ ।

‘हामीसँग उहाँहरु दुवै जनाको सिसिटिभि फुटेज छ । सर्सर्ती हेर्दा डाक्टरको गल्ती देखिन्छ । उहाँको कर्तव्य बिरामीलाई उपचार गर्ने हो तर त्यो गरेको देखिएको छैन । बालकका बुबा पनि त्यही प्रतिष्ठानमा काम गर्ने कर्मचारी हुन्,’ उनले भने, ‘अहिलेसम्म गाउँमा उहाँको आनीबानी खराब देखिँदैन । डाक्टरले गल्ती गरेको देखिएकाले अनुसन्धानका लागि मात्र पक्राउ पुर्जी जारी गरेका हौँ । अन्थया अरु केही होइन ।’

बाल हिंसा सम्बन्धी मुद्दा चलाइएको बताउँदै वकिल सेजुवाले आरोपी साह हाल जिल्ला बाहिर रहेको खबर प्राप्त भएकाले तत्काल नियन्त्रणमा नलिइएको बताए ।

झुठो मुद्दा भन्दै विरोध

यता प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मचारीहरुले डा. साहविरुद्धको मुद्दा झुठो भएको ठहर गरेका छन् । सोही कारण सामूहिक राजीनामा दिइएको बताउँदै उनीहरुले डा. माथि कुटपिट गरेर उल्टै झुठो मुद्दा दर्ता गराएको आरोप लगाएका छन् ।

स्थानीय अराजक केही व्यक्तिले अबोध नाबालकलाई प्रयोग गरेर मुठभेडको अवस्था सिर्जना गरेको भन्दै आन्दोलनरत एक डाक्टरले भने, ‘अस्ति बालबालिका र केही महिलाले बालअधिकार हनन गर्ने डाक्टर चाहिँदैन भन्दै नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकातर्फ पीडित सहकर्मी डा. साहविरुद्ध मुद्दा चलाइएको छ । त्यसमा उहाँहरुको विरोधले हामीलाई काम गर्न असहज भएपछि सामूहिक राजीनामा दिएका हौँ ।’

उनले थपे, ‘साहविरुद्धको मुद्दा फिर्ता र दोषीमाथि कारबाही नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ । साथै, प्रतिष्ठानबाट दिइने सेवाहरु पनि ठप्प रहने छन् ।’

मंगलबारदेखि इमरजेन्सी बाहेकका सेवा बन्द गरेर विरोधमा उत्रिएका डाक्टर र अर्को पक्षसँग जिल्ला प्रशासन, उपकुलपतिसहित सरोकारवालाले छलफल गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् । दुबै पक्ष सहमति नजिक पुगेको उनको भनाइ छ ।

यस्तै, प्रतिष्ठानका उपकुलपति रावलले स्वास्थ्यकर्मीहरुले दिएको राजीनामा पत्र आफूले बुझेको भए पनि स्वीकृत नगरिएको बताएका छन् । उनले घटनाको छानबिन गरेर उनीहरुको माग पूरा गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारेका छन् । ६० जनालाई नै राजीनामा पत्र फिर्ता लिन आग्रह गरिएको बताउँदै उपकुलपति रावलले भने, ‘दुवै जना यहिँका कर्मचारी हुनुहुन्छ । उहाँहरुको समस्या के हो हामी मिलाउने पक्षमा छौँ । घटनाको छानबिन गरेर समस्याको समाधान गर्ने छौँ ।‘

टिप्पणीहरू