सकियो न्वागी, संस्कृति लोप हुने चिन्तामा चेपाङ

सकियो न्वागी, संस्कृति लोप हुने चिन्तामा चेपाङ

सीमान्त समूहका चेपाङ अर्थात प्रजा समुदायले मनाउने राष्ट्रिय पर्व हो ‘न्वागी’ । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । न्वागीको दिन चेपाङ समुदायले रातभर झाँक्री बसेर पितृ बोलाउने र नयाँ अन्न चढाउने परम्परा छ । एउटा कुलका एक जना झाँक्रीले यो वर्ष फलेको नयाँ नन्नबाली चढाउने र माटो अर्थात भूमिको पूजा गर्दै न्वागी पर्वको समापन गरिन्छ ।

कुलका सबैजनाले झाँक्रीको घरमा अन्न फलफूल र कन्दमूल लगिदिन्छन् । झाँक्रीले रातभर लगाएर सबैको घर फलाकेर छेदभेद भगाउने र नयाँ फलेका अन्न तथा फलफूल शुद्ध बनाउने चलन रहि आएको छ ।

यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, पिँडालुलगायत कन्दमूल पितृलाई चढाउने र अन्न फलाउने भूमिको पूजा गर्ने चलन छ । ‘नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने र अनिष्ट हुने जनविश्वास छ । त्यही जनविश्वासमा झाँक्रीले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने परम्परा रहिआएको धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ का सन्तबहादुर चेपाङले बताए ।न्वागी चेपाङ समुदायले मनाउने प्रमुख चाडमध्येको एक हो । हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाइन्छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । पर्वमा चेपाङ झाँक्रीहरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने प्रचलन पनि छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, माथिल्लो ओरवाङका ८३ वर्षीय जीतबहादुर चेपाङ उनको कुलका झाँक्री हुन् । न्वागीको दिन रातभर मन्त्र फलाकेर बिताए । नयाँ बाली पाकेपछि पितृलाई नबुझाई र भूमि पूजा नगरी खाए पितृ र कुल रिसाउँने, अनिष्ट हुने जनविश्वास छ । ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खाएमा कुल रिसाउँछ, मानिस बिरामी हुन्छ, अनिष्ट भएरै छाड्छ’, उनले भने, ‘रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ ।’धर्म परिवर्तनका कारण हाम्रो संस्कृति धरापमा परेको बताइन्छ । पहिचान र संस्कृति अस्तित्वको लडाईंमा रहेको उनको भनाइ छ । अहिले धेरै किसिमका धर्म आउन थालेको उल्लेख गर्दै जीतबहादुरले, ‘आफू २२ वर्ष हुँदादेखि पूजा गर्दै आएको र चेपाङले आफ्नै संस्कृति चिन्न र जोगाउन मुश्किल भएको,’ चिन्ता व्यक्त गरे ।

ज्येष्ठ नागरिकले संस्कृति जगेर्नाको चासो गरिरहँदा ओरवाङको चेपाङ समुदायमा युवा झाँक्रीहरु पनि भेटिन्छन् । स्थानीय सोमबहादुर चेपाङ गत मध्यरातमा ढ्याङ्ग्रो बजाएर फलाकिरहेका थिए । २२ वर्षीय सोमबहादुर भन्छन्, ‘आफूलाई सानैमा सपनामा आएर मन्त्र दिइएको थियो, त्यतिखेर याद भएन । तर १२/१५ वर्ष हुदाँको समयमा याद आयो, म झाँक्री भएँ ।’ हजुरबा, बुबाहरुको पुस्ताबाट सिक्दै युवा पुस्ताले आफ्नो संस्कृति जोगाउनुपर्ने उनले बताए ।न्वागीमा बलि दिने चलन पनि छ । न्वागीमा झाँक्री बसेर रातभर सिमेभुमे फलाकेर रात बिताउने गर्छन् । भोलिपल्ट पितृ बुझाउने, कृषिजन्य उत्पादन हुने भूमिलाई धन्यवाद दिने र पितृलाई भोग (बलि) दिने गरिन्छ ।

धादिङको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन उनले बताए । ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो । यसैलाई मिलाएर धादिङ नाम राखिएको हो ।चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । जंगलका गिठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको छ । धादिङको दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा चेपाङ जातिको बाक्लो बस्ती छ । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार तीन सय ९९ रहेको छ ।

टिप्पणीहरू