भारतीय सेनाध्यक्ष धोविघाटबाट एकान्तकुना हुँदै एअरपोर्टतर्फ

भारतीय सेनाध्यक्ष धोविघाटबाट एकान्तकुना हुँदै एअरपोर्टतर्फ

पाँचदिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे स्वदेश फर्किनुभएको छ । उहाँ नेतृत्वको भ्रमण टोलि आज साँझ स्वदेश फर्किएको हो ।

स्वदेश फिर्ताका लागि सेनाध्यक्ष पाण्डेसहितको टोली चक्रपथको बाटो हुँदै अपराह्न चार बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो ।

नेपाली सेनाको निमन्त्रणामा आइतबार काठमाडौँ आइपुग्नुभएका सेनाध्यक्ष पाण्डे मंगलबार हिमालको दृश्यावलोकनका लागि सगरमाथा आधार शिविर जानुभएको थियो । नेपालमा रहँदा उहाँ पोखरा र मुक्तिनाथ पनि पुग्नुभयो ।

त्यसअघि केही महत्वपूर्ण भेटघाटमा सरिक हुनुभएका उहाँले सोमबार सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेर सहयोग हस्तान्तरण गर्नुभएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।

सोमबार शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

टिप्पणीहरू