नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको निर्देशक समाजको आरोप

नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको निर्देशक समाजको आरोप

नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । पर्सिदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई आजसम्म पनि सिनेमा हलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको भन्दै समाजले कडा आपत्ति जनाएको हो ।

नेपाली चलचित्रमाथि विदेशी फिल्मको दबाब बढाउन यस्तो गरिएको समाजको आरोप छ । ‘सधैभरि नेपाली चलचित्रमाथि बिदेशी फिल्महरुले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौ’, समाजले आज जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिनेमाघरहरुको छाता संगठन नेपाल चलचित्र संघलाई पनि यस्तो किसिम कार्यहरू अबिलम्ब रोकी चलचित्रकर्मीहरुको एक आपसको एकता, विश्वास, आत्मीयता र नेपाली चलचित्रको श्रीबृद्धिको लागि हातेमालो गर्न अपिल गर्दछौ ।’

नेपाली चलचित्र क्षेत्रलाई हतोत्साहित पार्ने गैर जिम्मेवारीपूर्ण काम नगर्न चलचित्र विकास बोर्डसंग पनि जोडदार माग गरिएको छ ।

यता, चलचित्र निर्माताहरुको संस्था नेपाल चलचित्र निर्माता संघले प्रर्दशकहरुले नेपाली चलचित्रलाई पेल्न र हेप्न खोजेको आरोप लगाएका छन् । संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली चलचित्रलाई प्रदर्शनमा सहजता उपलब्ध गराइदिनुपर्नेमा व्यवसायिक मर्यादालाई समेत कुल्चेर भोलिदेखि प्रर्दशनमा आउने चलचित्रको अग्रिम बुकिङ्ग खुल्ला नगर्नले प्रर्दशकहरुले नेपाली चलचित्रप्रति हेर्ने नजर कस्तो रहेको भन्ने आम दर्शकहरुमा समेत प्रष्ट भएको छ ।’

संघले अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने वातावरण तत्काल मिलाइदिन माग गरेको छ । अन्यथा, नेपाली चलचित्रप्रति देखाइएको निन्दनीय व्यवहारको विरोधमा कडा संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू