१० वर्षीय बालकले गरे आत्महत्या

१० वर्षीय बालकले गरे आत्महत्या

मर्नु नै पर्ने गरी मनमा कुनै चोट थिएन । न त मर्छु भनेरै पासो बाँधेका थिए ।

तर, प्राण गयो ।

देखासिकीले बालमनोविज्ञान कति विकृत भइसकेछ भन्ने ज्वलन्त उदाहरण हो यो ।

एउटा १० वर्षीय बालकले आत्महत्या गरेपछिमात्रै मानिसमा चेत खुलेको छ, कुनै भयावह वा हिंसात्मक दृश्यबाट कलिला बालबच्चालाई टाढा राख्नुपर्छ भन्ने ।

घटना शुरु हुन्छ, जेठको १५ गते ।

टोखाकी ३० वर्षीया सविना (नाम परिवर्तन) थापा ज्यामी काम गर्थिन् ।
पति पनि उहिँ काम गर्ने ।

कामकै सिलसिलामा भेट भएपछि दुबै आ–आफ्ना पति र पत्नी छाडेर सँगै बस्न थाले ।

तर, लकडाउनको बेला पति पुरानै पत्नी खोज्न हिँड्ने, पत्नी पनि रक्सी खुवाउने केटाको खोजीमा निस्कने ।

एक महिनादेखि झगडा बढ्दै गएको थियो ।

१५ गते साँझ सविनाले अलिक बढी नै रक्सी पिइन् ।

पतिले गाली गरे । तर, उनका लागि पतिको गाली सह्य भएन । झुण्डिएर मर्नका लागि घाँटीमा पासो लगाइन् ।

त्यति नै बेला पतिले देखे, अनि काँधमा उनको खुट्टा हालेर माथिबाट डोरी काटिदिए ।

सविनाको मुखबाट फिँज आउन थालेको थियो ।

पतिले प्रहरीलाई बोलाए । र, प्रहरीले पहिला गोंगबुस्थित बिनायक अस्पतालमा र पछि ट्रमा सेन्टर पुर्यायो ।

भोलिपल्ट विहान सविना खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भइन् ।

उनी अहिले जीवितै छिन् ।

१५ गते टोखामा यस्तो घटना भइरहँदा गाउँलेहरुको रमिता नै चल्यो । भएभरका गाउँले सविना झुण्डिएको र पतिले डोरी काटेको दृश्यका साक्षी थिए ।

त्यही भीडमा दुई घर परका १० वर्षीय बालक अनुज बराम पनि थिए ।
बुबा वैदेशिक रोजगारका सिलसिलामा खाडीमा, आमा–छोरा र एकजना मामा बुबाको कमाई खाएर त्यहाँ बस्थे ।

सविना झुण्डिएको र डोरी काटेको दृश्य १० वर्षे अनुजको आँखामा नाचिरह्यो ।

अनि, आमासँग घुर्की लगाउँथे, ‘मोबाइल किन्दिनु । नभए म पनि झुण्डिएर मर्छु !’

आमा भन्थिन्, ‘मोबाइल बोक्ने बेला भएको छैन । ठूलो भएपछि बोक्लास् ।’

छोरा भन्थे, ‘तिमी दिनभरि, रातभरि मोबाइल चलाउने, मचाहिँ हेरेर बस्ने ? मलाई चाहियो । नत्र, झुण्डिन्छु !’

आमाले ‘झुण्डिन्छस् भने झुण्डी न त, म पनि हेरौँला…!’ भनिन्

‘सँगैका साथीहरु मोटरसाइकल चलाउने, मोबाइल चलाउने, क्रन्च पाइन्ट लगाउने, मलाईचाहिँ केही पनि नदिने…’ भनेर दिनैपिच्छे अनुजले आमासँग कराएर हैरान पार्थे ।

उनीहरु बस्ने घर दुई कोठाको सानो टहरा थियो ।

२१ गते टोलका १०–१२ वर्ष उमेरका केटाकेटी बालुवामा खेल्दै थिए । केही केटाकेटी नजिकै बनिरहेको साढे २ तलाको घरमाथि चढ्ने, तल झर्ने, माथिबाट तल बालुवा थुपारेको ठाउँमा हाम्फाल्ने काम गर्दै थिए ।

लकडाउन शुरु भएपछि ती बालबच्चा सधैँजसो यसरी नै खेल्थे ।

अनुज पनि २१ गते त्यसरी नै खेल्दै थिए ।

एकछिनअघि आमालाई भनेका थिए, ‘आजचाहिँ मोबाइल किन्दिनु भएन भने म त झुण्डिन्छु, झुण्डिन्छु !’

आमाले वास्ता गरिनन् ।

नभन्दै त्यही बनिरहेको साढे २ तलाको घरको दोस्रो तलामा अनुज डोरीको पासो लगाउन थाले । साथीहरु भुइँ तलाबाट ‘नगर–नगर’ भन्दै थिए ।

‘पर्खि न पर्खि…’ भन्दै अनुजचाहिँ हतार–हतार डोरीले घाँटी कस्दै थिए ।
अनुजको उद्देश्य थियो, आमालाई धुक्र्याउनु । लागेको थियो, कसै न कसैले आएर सविनालाई बचाएजस्तो डोरी छिनालिदिन्छ ।

साथीहरु हस्याङ्फस्याङ गर्दै अनुज पासो लाग्न थालेको दोस्रो तलामा चढ्दै थिए । तर, उनीहरु पुग्दा अनुजले प्राण छाडिसकेका थिए ।

शरीर चिसो भइसकेको थियो । गाउँलेहरु भेला भए । मरेकै ठहर गरे ।

टिप्पणीहरू